Comments Add Comment

मणिग्राम मेला मंसिर ६ देखि, २० करोड कारोबार गर्ने आयोजककाे लक्ष्य

१९ कात्तिक, बुटवल । रुपन्देहीको मणिग्राममा सञ्चालन हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा २० करोड कारोबार गर्ने लक्ष्य आयोजकले राखेका छन् ।

उद्योग व्यापार संगठन तिलोत्तमाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा आउँदो मंसिर ६ देखि १८ सम्म व्यापार मेला सञ्चालन हुन लागेको हो ।

मेलामा औद्योगिक उत्पादन, कृषि, पर्यटन, अटोमोबाइल्स र रेष्टुरेन्ट आदिका चार सय स्टल रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । सहभागी हुने स्टलतर्फ उद्योगका एक सय २५, विभिन्न व्यवसायका एक सय ८०, कृषिका ४०, पर्यटनका ३५ र अटोमोबाइल्सका २० रहने मुख्य आयोजक संस्थाका अध्यक्ष सत्यव्रत ज्ञवालीले जानकारी दिए ।

मेलामा तीन लाख दर्शकलाई अवलोकन गराउने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । मेलामा स्थानीय उत्पादन, कृषि, विभिन्न जनजातिका मौलिक संस्कृतिको प्रवद्र्धन र संरक्षणलाई प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताए । मेलामा नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहल र गुल्मीको रुरु रिडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ती स्थानको क्ले मोडलसहित सेल्फी जोन, अन्तराष्टिय कँराते, भलिबल, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, थारु होमस्टे, विज्ञान प्रदर्शनी, विद्यालयस्तरीय लोक नृत्य आदि मुख्य आकर्षणको रुपमा रहने मेलाका सचिवालय संयोजक अनिल ज्ञवालीले बताए ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल र तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले तिलोत्तमा नगरपालिकाभित्रका उद्योग, व्यवसाय, पर्यटनको प्रवद्र्धनमा नगरभित्रका निजी क्षेत्रका तीनवटै संस्थाहरु मिलेर मेला आयोजना गर्नु सबैका लागि उदाहरण बनेको धारणा राखे ।

मेलाका लागि अस्थायी संरचना निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले नगरपालिकाले स्थायी मेला स्थल निर्माणमा छिटो ध्यान दिनुपर्ने आयोजकको माग छ । मेला अवलोकनका लागि अपांग र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलाबाट वचत हुने रकमको केही हिस्सा सामाजिक काममा खर्च गर्न पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यले सुझाव दिए । मेला सम्पन्न गर्न मूल आयोजक, सचिवालय, निर्देशक, उपसमितिलगायत विभिन्न ४४ वटा समिति बनाई तयारीका कामहरु तीव्र पारिएको र हालसम्म दुई सय स्टल दर्ता भइसकेको आयोजकले जनाएका छन् ।

२०७२ सालमा नगरपालिका भएसँगै तिलोत्तमामा ०७३ सालदेखि हरेक वर्ष औद्योगिक व्यापार मेला आयोजना हुँदै आएको छ । तिलोत्तमा रुपन्देहीमा सबैभन्दा धेरै उद्योग भएको नगरपालिका हो । नगरपालिकामा नयाँ औद्योगिक ग्राम स्थापनाको पहलसमेत नगरपालिकाले अघि बढाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment