Comments Add Comment

सिस्नुपानी देउसी : अरिङ्गालले चिलेर बस्नै दिएन !

१९ कात्तिक, काठमाडौं । हरेक वर्ष दशैं सकिनासाथ सिस्नुपानी नेपालका अभियन्ताहरुलाई चटारो सुरु हुन्छ । तिहारमा खेल्ने व्यंग्यात्मक तथा सन्देशमूलक देउसी भैलोको तयारीमा उनीहरु जुट्छन् ।

सिस्नुपानी नेपालले तिहारमा व्यंग्यात्मक देउसी खेल्न थालेको २० वर्ष भइसक्यो । तर, पछिल्ला केही वर्षदेखि यो अत्यधिक लोकप्रिय बनिरहेको छ । सुरुमा घर-घर डुलेर देउसी खेल्ने गर्थे सिस्नुपानीका सदस्यहरु । उनीहरु ठूला मिडिया हाउसहरुमा पनि ‘देउसी रे’ भन्दै पुग्थे । ५ वर्षदेखि भने प्रज्ञा भवनमा देउसी कार्यक्रम आयोजना गर्न थालिएको छ ।

प्रधानमन्त्रीदेखि शिर्ष नेताहरुलाई सामुन्नेमा राखेर प्रज्ञा भवनमा देउसी खेल्न सुरु गरेदेखि यसको चर्चा र लोकपि्रयता ह्वात्तै बढ्यो । त्यसमाथि मनोज गजुरेल र सिताराम कट्टेल धुर्मुसको प्रहसनले सुनमा सुगन्ध थप्ने गरेको छ ।

यसपालीको देउसीको लगभग तयारी पूरा भएको सिस्नुपानीको अध्यक्ष लक्ष्मण गाम्नाङेले बताए । उनका अनुसार विगतमा जस्तै देशको राजनीतिक र सामाजिक घटनाक्रमहरुलाई देउसीको विषयवस्तु बनाइएको छ ।

‘राजनीतिक विषय बाहेक निर्मला हत्याकान्ड र सुन कान्ड यसपाली प्रमुख प्राथमिकतामा रहेका छन्,’ उनले भने ।

राजनीतिक विषयको कुरा गर्दा दुई तिहाईको सरकारलाई प्रमुख तारो बनाइने छ । यसैगरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि निशानामा पर्दैछन् । प्रधानन्यायाधीशको जन्ममितिसम्वन्धी विवादलाई पनि समावेश गरिएको छ ।

यो वर्ष धुर्मुस र गजुरेलसँग हास्यकलाकार दमन रुपाखेति पनि मिसिँदैछन् । धुर्मुसले केपी ओली, गजुरेलले प्रचण्ड र रुपाखेतीले शेरबहादुर देउवाको भूमिकामा अभिनय गर्नेछन् ।

यसपालीको कार्यक्रममा प्रसिद्ध हाँस्यव्यंग्य कवि शैलेन्द्र सिंखडाको प्रस्तुति भने रहने छैन ।

अघिल्लो तिहारमा व्यंग्य कविता सुनाएका थिए । सिंखडाको प्रस्तुतिमा ठाडो गाली हुने भनेर विवाद आएकाले यसपाली समावेश नगरेको गाम्नाङेको भनाइ छ । साथै यसपाली एउटा गैरहास्यव्यंग्य नृत्य प्रस्तुति रहने छ ।

देउसीको स्क्रिप्ट लेखन भने सामूहिक रुपमा गर्ने गरिएको छ, यसमा गाम्नाङेसहित धिरेन्द्र प्रेमषर्ी, मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य, चक्र दवाडी, सरोज घिमिरे लगायत खटिन्छन् । वर्षभरीका मुख्य घटनालाई केलाउँछन् । सर्ट लिस्टिङ गर्छन् ।

प्रत्येक घटनामा केन्दि्रत भएर स्त्रिmप्ट लेख्छन् । त्यसो त आफूहरुले वर्षभरी घटेका घटनाहरुलाई पहिल्यैदेखि दिमागमा सजाएर राखिरहने गाम्नाङे बताउँछन् ।

कुनै पनि घटनालाई हेर्ने दृष्टिकोणमा कहिलेकाहीँ आपसमा मतभेद पनि उत्पन्न हुन्छ । तर, यसलाई सौहार्दपूर्णरुपमा समझदारीका साथ निस्कर्षमा पुगिने गाम्नाङेले बताए । देउसीको प्रस्तुति ३० मिनेटको हुन्छ । ३० मिनेटभित्र सबै विषयलाई छोएर काब्यात्मकरुपमा व्यंग्य गर्नुपर्ने भएकाले काम सजिलो पक्कै छैन ।

तिहारमा चर्चामा आउने सिस्नुपानी वर्षभरी चाहिँ के गरेर बस्छ त ? गाम्नाङे भन्छन्, ‘तिहारको कार्यक्रमलाई सञ्चारमाध्यमले अत्यधिक प्राथमिकता दिने भएकाले यो बढि चर्चित छ, तर यसको अर्थ हामीले अरु केही गर्दैनौं भन्ने होइन ।’

उनका अनुसार खासमा यो हाँस्यव्यंग्य साहित्यलाई प्रबर्द्धन गर्न खोलिएको संस्था हो ।

वर्षभरी नै यसले विभिन्न गतिविधिहरु गरिरहेको हुन्छ । केही समयअघि मात्रै सिस्नुपानीले देशका विभिन्न कारागारहरुमा पुगेर कैदीहरुमाझ हास्यव्यंग्य प्रस्तुति दिएको थियो । यसैगरी अन्य देशहरुमा पुगेर पनि नेपालीहरुमाझ हास्यव्यंग्य कार्यक्रम गर्ने गरेको छ ।

यसपाली प्रस्तुत हुने सिस्नुपानी देउसीका केही पंक्ति

हामी त्यसै आएनौं, सिस्नुपानीले पठायो
दुई तिहाईलाई खबरदारी गर्न पठायो,

०००

यसपालीले देउसी खेल्न हामलाई मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन

०००

हेर्दाहेर्दै सिंहदरबार आयो हाम्रो ठाउँमा
दरबारसँगै राजारानी आए गाउँमा

०००

अख्तियारले पप्पुलाई एक झप्पु हानेको
राष्ट्रबैंकले उही पप्पुलाई ठेकेदार छानेको

०००

जति धेरै जन्ममिति उति योग्य न्यायाधीश
नेपालको न्यायालय टाँय टाँय फिस

०००

पहिलो निशान सरकारले सिण्डिकेटलाई ताकेको
एकदुई पाइला चाल्दैमा किन थाकेको ?

०००

सूनकाण्डको छानबिन टोली फास्सफुस्स सेलायो
आफ्नै मान्छे फस्ने डरले सरकार लोलायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment