Comments Add Comment

यसरी गर्नुहोस् धनकी देवी लक्ष्मीको पूजाआराधना

२१ कात्तिक, काठमाडौं । आज तिहार पर्वको तेस्रो दिन अर्थात कात्तिक कृष्ण औँसी । आजको दिन हिन्दू धर्मावलम्बीहरुले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको विशेष पूजा आराधना गर्छन् ।

लक्ष्मी पूजाको दिन बिहानै गोठमा रहेको गाइको पूजा गरिन्छ । गाईलाई पूजा गरि माला लगाइदिएर मिठा परिकार खान दिने चलन रहेको छ ।

यस दिन गाईको गोबरले घर लिपपोत गरि सरसफाइ गरी सिङ्गारेर बेलुका दिपावली झिलिमिली बनाई लक्ष्मीपूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

लक्ष्मीपूजा कसरी गरिन्छ ?

लक्ष्मीपूजाको लागि सबैभन्दा पहिले आफ्नो घरको सरसफाइ गरेर गाईको गोबरले लिपपोत गरिन्छ । आफ्नो घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकमा रङ्गोली बनाइ त्यँहाबाट पूजाकोठा वा ढुकुटीसम्म लक्ष्मीको पाइला बनाईन्छ ।

बत्ति नबलेको घरमा लक्ष्मी प्रवेश गर्दिनन् भन्ने विश्वास अनुसार बेलुकी साँझपरेपछि घर आँगन, झ्यालढोका सबैतिर दियो वा मैनबत्ति बालेर घर झिलिमिली बनाईन्छ । त्यस्तै लक्ष्मीलाई मनपर्ने कमल फूल चढाउँदा उनी प्रसन्न हुन्छिन भन्ने विश्वास रहेको छ ।

साँझ दिपावली गरिसकेपछि पूजाकोठामा वा ढुकुटीमा लक्ष्मीको मुर्ति वा तस्वीर स्थापना गरेर धान, चामल, फलफूल, पैसा, सुनचाँदी र फूलमाला राखी पूजा गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने गरिन्छ ।

लक्ष्मीको पूजाआराधना गरेमा धनसम्पत्ति बढ्ने, ऐश्वर्य प्राप्ती हुने, व्यापार बढ्ने र जागिर राम्रो हुने विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment