२५ कात्तिक, सिड्नी । पछिल्लो समय नेपाली युवा युवतीहरुको आकर्षक र भरपर्दो गन्तव्यस्थल बन्दै गइरहेको अस्ट्रेलिया संसारको सबैभन्दा धेरै धनी युवाहरु भएको देशहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।
क्रेडिट सुइसको भर्खरै प्रकाशित एक रिपोर्ट अनुसार अस्ट्रेलियाका मध्यम वर्गीय युवाहरु संसारको सबैभन्दा धनीको सूचीमा परेका हुन् ।
यही अक्टोबरमा प्रकाशित उक्त रिपोर्टअनुसार अस्ट्रेलियाको एक मध्यम वर्गीय युवासँग १ लाख ९१ हजार ४ सय ५३ अमेरिकी डलर (२ करोड २४ लाख रुपैयाँ) सम्पत्ति छ, जुन संसारको अन्य देशका युवासँग भएको सम्पत्तिभन्दा सबैभन्दा धेरै हो ।
यसैगरी उक्त सूचीमा स्वीट्जरल्याण्ड १ लाख ८३ हजार ३ सय ३९ अमेरिकी डलर (करिब २ करोड १४ लाख रुपैयाँ)का साथ संसारको सबैभन्दा धेरै धनी युवाहरुको देशको सूचीमा दोश्रो नम्बरमा परेको छ ।
बिजनेस इन्साइडरमा यही शुक्रबार प्रकाशित उक्त रिपोर्ट अनुसार विश्वका सबैभन्दा धनाढ्यहरु रहेको देश अमेरिका भने प्रतियुवा ६१ हजार ६ सय ६७ अमेरिकी डलर (करिब ७२ लाख १५ हजार रुपैयाँ)का साथ १८औं नम्बरमा परेको छ ।
त्यसैगरी उक्त सूचीमा बेल्जियम तेश्रो र नेदरल्याण्ड्स चौथो नम्बरमा छन् । त्यस्तै जापान, फ्रान्स, क्यानडा, न्युजिल्याण्ड, बेलायत र सिंगापुर पनि संसारका सबैभन्दा धेरै धनी युवाहरु रहेको देशको सूचीमा ‘टप टेन’भित्र पर्न सफल भएका छन् ।
अस्ट्रेलियाका मध्यम वर्गीय युवाहरुको विश्व अर्थतन्त्रमा बलियो पकड बन्दै गइरहेको स्थितिमा नेपालीहरुको भरपर्दो गन्तव्य बन्दै गइरहेको अस्ट्रेलियामा रहेका नेपालीहरुले के सिक्ने त ?
अस्ट्रेलियाका युवा व्यवसायी तथा निजी सम्पत्ति व्यवस्थापन विज्ञ डा. किरण थापाले नेपालीहरुले आफूलाई समय अनुसार स्तरोन्नति गर्दै जानु पर्ने सुझाव दिन्छन् । ‘तलब बढ्दै जाने लोभले वर्षौंसम्म एउटै काममा अल्झिएर बस्नुभन्दा विभिन्न अवसरहरु खोज्दै जाने र आफुलाई समयअनुसार विषयमा विज्ञता हासिल गर्दै गइयो भने सफलता हासिल गर्न सकिन्छ,’ निजी सम्पत्ति व्यवस्थापनमा सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नी (यूटिएस)का पूर्व प्राध्यापक समेत रहेका थापाले भने ।
अनलाइनखबरसँग कुरा गर्दै उनले अगाडि भने, ‘पैसा सबैले कमाउँछन्, तर पैसा बनाउनु भनेको अर्कैै कुरा हो जुन थोरैले मात्र जान्दछन् । नजान्नेले सिक्नुपर्दछ, तर त्यो भन्दा पहिला बैराग, अहम र तर्क त्याग्नु पर्दछ ।’
हेर्नुहोस् विश्वका धनाढ्य युवा रहेका देशहरुको सूची