Comments Add Comment

एनजीओलाई जग्गा दिने निर्णयबाट पछि हट्यो बर्दिबास नगरपालिका

२५ कात्तिक, बर्दिबास । बर्दिवास नगरपालिकाले सार्वजनिक जग्गा एनजीओलाई दिने निर्णय हाललाई स्थगित गरेको छ । कात्तिक १९ गते बसेको बैठकले यसअघि गरेको निर्णय कार्यान्वयन नगर्ने गरी हाललाई स्थगित गर्ने निर्णय गरेको नगर प्रमुख बिदुर कार्कीले जानकारी दिए ।

सार्वजनिक जग्गा एनजीओलाई दिने विषयमा त्रुटी भएकाले त्यसमाथि गम्भीर छलफल गरेर निर्णय स्थगित गरेको बताए ।

बर्दिवास नगर कार्यपालिकाका सदस्यहरुले नै कार्यपालिकाको निर्णय बदर गर्न भन्दै नगरपालिकामा पत्र बुझाएपछि सार्वजनिक जग्गा एनजीओलाई दिएको घटना बाहिर आएको हो । नगरपालिकाले वडा नं ३ स्थित सार्वजनिक ऐलानी जमिन सामुदायिक विकास तथा पैरवी मञ्चलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

सार्वजनिक जमिन निजी स्वार्थमा कुनै एक एनजीओलाई उपलब्ध गराउने निर्णय गरेको भन्दै आफूहरुले बदर गर्न पत्र बुझाएको बर्दिवास नगरपालिका वडा नम्बर १ का सदस्य निरज अधिकारीले बताए ।

एनजीओलाई जग्गा दिने निर्णयको स्थानीय स्तरमा चर्को विरोध भएको थियो भने नेकपा पार्टीभित्र पनि विवाद बढेको थियो । नगरपालिकाको वडा नम्बर ३ को वडा समितिको २०७५ साउन १४ गतेको निर्णय अनुसार नगरपालिकामा सिफारिस हुन आएको भन्दै नगरपालिकाले ४ कठ्ठा जमिन दिएको थियो ।

उक्त जमिनमा भौतिक संरचना निर्माण गर्न समेत दिने निर्णय भएको थियो । नगर कार्यपालिकाको निर्णय भन्दै संस्थाले हाल संरचना निर्माण गरिरहेको छ । संस्थाले हाल जग्गाको घेरावेरा गर्ने काम गरिरहेको छ । नगरपालिकाले गरेको निर्णय फिर्ता नलिए आफूहरु आन्दोलित हुने वडा नम्बर १ का सदस्य अधिकारीले बताए ।

सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले स्थानीयको आग्रहमै वडा कार्यालयले रातु खोलाको डिलमा रहेको उक्त जमिन संरक्षणको लागि नगरपालिकाको बोर्ड बैठकले आफूहरुलाई उपलब्ध गराएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment