Comments Add Comment

नियमित पुस्तक पढ्ने बानीले हुन्छ मन एकाग्र, मिठो निद्रा

सूचना र प्रविधिको विकाससँगै विभिन्न किसिमका ग्याजेटहरुको प्रयोग बढ्दै जाँदा हामी पुस्तकबाट टाढा हुँदै गइरहेका छौं । हाम्रो पुरानो साथीलाई आजकाल स्मार्टफोन, ट्याब्लेट, ल्यापटप, कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरणहरुले खोसेका छन् ।

त्यसमाथि अहिलेका विद्यार्थीहरु पनि पढ्न अल्छी हुँदै गइरहेका छन् र उनीहरु पुस्तकमा भन्दा ग्याजेटमै झुण्डिरहेका हुन्छन् । तर, पुस्तक पढ्नु र ग्याजेटमा रमाउनु अलग कुरा हुन् । वास्तविक पुस्तकप्रेमीहरु अरु कुरामा रमाउनै सक्दैनन् ।

नियमित पुस्तक पढ्ने बानी बसालेमा धेरै फाइदा हुन्छ । त्यसैले तपाईं पनि आजैदेखि पुस्तक पढ्ने बानी बसाल्नुहोस् । हरेक दिन एक पुस्तकको केही पाना पढ्न सुरु गर्नुहोस् । टिभीमा समाचार हेर्नुको सट्टा अखबारहरु पढ्नुहोस् । तपाईं बिस्तारै फाइदाहरु महसुस गर्न थाल्नुहुनेछ ।

पुस्तक पढ्ने बानीले हुन्छन् यस्ता फाइदाः

मस्तिस्कको कसरत

पढ्ने बानीले मानिसको दिमाग सँधै जिवन्त र विचारशिल रहन्छ । यसले व्यक्तिको सोच्ने–बुझ्ने दायरा फराकिलो हुन्छ । पुस्तक पढ्ने व्यक्तिले अक्सर कुनै गलत निर्णय लिँदैन किनभने हरेक महत्वपूर्ण कुराको राम्रो र नराम्रो पक्ष गहिराईमा पुगेर विचार गर्ने उसको आदत हुन्छ ।

रुसमा एक भनाई प्रचलित छ– सयप्रतिशत बुद्धि लाग्ने काम एक प्रतिशत ‘कमन सेन्स’ बाट बन्छ । पुस्तक पढ्नाले यस्तो कमन सेन्स प्राप्त हुन्छ । टिभी हेर्नमा धेरै समय खर्च हुन्छ र त्यसको बदलामा ज्ञानको नाममा केही खास प्राप्ति हुँदैन । जबकि पुस्तकका एक एक शब्दको महत्व हुन्छ ।

एकाग्रता बढ्छ

पुस्तक पढ्ने समयमा पाठक एक्लो हुन्छ र पढाईमा पुर्णरुपमा हराउँछ । यो क्रियाले एकाग्रतालाई बढाउँछ । कुनै पनि काममा सफलता प्राप्त गर्न उक्त कामप्रति अधिकतम एकाग्रता हुन अनिवार्य छ ।
यदि मन स्थिर छैन भने आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिँदैन । पुस्तक पढ्नाले मनको यस्तो चञ्चलतामा केही हदसम्म अंकुश लाग्छ ।

स्मरणशक्ति तेज हुन्छ

स्मरणशक्तिको हाम्रो जीवन निर्णायक महत्व हुन्छ । हामी यसैको बलमा परिक्षामा पास हुनेदेखि पुरै जीवनमा पनि पास हुन्छौं । स्मरणशक्ति बढाउने दाबी गरिएका कैयौं औषधिहरु पनि बजारमा उपलब्ध छन् तर, स्मरणशक्ति तेज बनाउने सबैभन्दा प्रभावकारी तरिका पुस्तक पढ्नु हो ।

जब हामी नियमित रुपले पढ्छौं हाम्रो दिमाग पनि पुर्णरुपमा सक्रिय हुन्छ जसले कुनै कुरा बिर्सने प्रवृत्ति कम हुन्छ । दिमाग जब हरदम सोच्छ भने उसलाई हरेक कुरा सजिलै सम्झना आउँछ ।
यदि पुस्तक नपढ्ने हो भने दिमाग सक्रिय हुन पाउँदैन र स्मरणशक्ति पनि गुम्दै जान्छ । परिणामस्वरुप हामी धेरै महत्वपूर्ण कुराहरु पनि भुल्न थाल्छौं ।

मष्तिस्कलाई जवान राख्छ

एक बेलायती विश्वविद्यालयले गरेको शोधका अनुसार जो मानिस पठन तथा रचनात्मक गतिविधिहरुसँग जोडिइरहन्छन्, उनीहरु सँधै केही नयाँ सोच्छन् । उनीहरुको मस्तिस्क यस्तो नगर्ने मानिसहरुको तुलनमा ३२ प्रतिशतसम्म जवान रहन्छ ।

लगातार पढ्ने बानीले उनीहरु सँधै अपडेटेड रहन्छन् । फेसन होस वा अन्य कुरामा उनीहरु सँधै अब्बल हुन्छन् । नयाँ–नयाँ प्रविधिको प्रयोगमा पनि उनीहरु उत्साहित हुन्छन् ।

तनाव दुर हुन्छ

बेलायतमा भएको एक शोधअनुसार पुस्तक पढ्नाले तनाव बढाउने हार्मोन अर्थात कार्टिसोल कम हुन्छ । तनावग्रस्त अवस्थामा विभिन्न खालका निरर्थक कुराहरु दिमागमा आउँछन् र मन शान्त रहन लगभग असम्भव हुन्छ । दिमागमा आउने निरर्थक कुराहरुमा लगाम कस्ने काम किताबले गर्छ ।

तनावग्रस्त व्यक्तिले जीवनमा धेरै गलत निर्णय लिने गर्छन् र पछि पछुताउँछन् । यस्ता व्यक्तिले पुस्तक पढ्ने बानी बसालेमा उनीहरुले सहि बाटो देख्न सक्छन् ।

हामी अहिले प्रतिस्पर्धाको युगमा छौं । करिअर बनाउने होडमा हाम्रा बच्चाहरुमा धेरै दिमागी उथलपुथल मच्चिइरहन्छ । यदि हामीले आफ्नो बच्चाहरुलाई उनीहरुको समस्याहरुसँग सम्बन्धित पुस्तक पढ्न सुझाव दिने हो भने उनीहरुको तनाव पनि कम हुन्छ ।

गहिरो निद्रा आउँछ

रातमा सुत्नुभन्दा पहिले यदि केही समय पढ्ने बानी बसाल्ने हो भने गहिरो निन्द्रा आउँछ । ढिलोसम्म टिभी हेर्ने वा मोबाइल चलाउने बानीले हाम्रो निन्द्रा हराउँछ वा सुतिसकेपछि पनि बीचबीचमा ब्यूँझने समस्या हुन सक्छ । हाम्रो स्वास्थ्यको लागि गहिरो निन्द्रा आवश्यक छ ।

यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ र जीवनको मजा उठाउन चाहनुहुन्छ भने गहिरो निद्रा लिने बानी बसाउनुहोस् । यदि तपाईंले राम्रो पुस्तक पढेर सुत्ने बानी बसाल्नुभयो भने भोलिपल्ट तपाईंको दिन पनि रमाइलोसँग बित्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment