News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको बिहारमा दोस्रो चरणको विधानसभाको मतदान २० जिल्लाका १२२ सिटका लागि भइरहेको छ।
- मंगलबार अपरान्ह ३ बजेसम्म ६० दशमलब ४० प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
- बिहार विधानसभा चुनावको मतगणना १४ नोभेम्बर हुने छ र एनडीए र महागठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ।
२५ कात्तिक, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहारमा दोस्रो चरणको मतदान चलिरहेको छ । दोस्रो चरण अन्तर्गत बिहारका २० जिल्लाका १२२ सिटका लागि मतदान भइरहेको हो ।
बिहार विधानसभाको दोस्रो चरणको मतदान अन्तर्गत मंगलबार अपरान्ह ३ बजेसम्म ६० दशमलब ४० प्रतिशत भोट खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारका मुख्य निर्वाचन अधिकारीको कार्यालयद्वारा जारी विवरणअनुसार सबभन्दा धेरै मतदान किशनगंजमा भएको छ । किशनगंजमा ६६ दशमलब १० प्रतिशत भोट खसेको छ । यस्तै सबभन्दा कम नवादामा ५३ दशमलब १७ प्रतिशत मतदान भएको छ ।
२० मध्ये १२ जिल्लामा अपरान्हसम्म ६० प्रतिशतभन्दा धेरै मतदान दर्ज भएको छ ।
बिहार विधानसभा चुनाव २०२५ अन्तर्गत पहिलो चरणको मतदान ६ नोभेम्बरमा भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि हालसम्मकै उच्च ६४ दशमलब ६६ प्रतिशत मतदान भएको थियो ।
मतगणना १४ नोभेम्बर हुने छ । यो निर्वाचनमा सत्तारूढ एनडीए र विपक्षी महागठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यस्तै प्रशान्त किशोरको जनसुराज पार्टीलाई ‘एक्स–फ्याक्टर’का रूपमा हेरिएको छ, जसले केही क्षेत्रमा परिणामलाई प्रभाव पार्न सक्छ ।
साथै, असदुद्दिन ओवैसीको एआईएमआईएम पनि सीमाञ्चल क्षेत्रमा सक्रिय छ, जहाँ मुस्लिम र दलित मतदाताको प्रभाव निर्णायक मानिन्छ ।
दिल्लीको ऐतिहासिक लालकिल्ला नजिकै भएको बम विस्फोटमा ८ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएपछि सुरक्षा कडा पारेर मतदान गराइएको छ ।
प्रतिक्रिया 4