News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको बिहारमा नितिशकुमारले १०औं पटक मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्।
- एनडीए गठबन्धनले बिहार विधानसभा निर्वाचनमा २४३ सिटमध्ये २०२ सिट जित्दै बहुमत हासिल गरेको छ।
- शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो।
४ मंसिर, काठमाडौं । भारतको बिहारको मुख्यमन्त्री नितिशकुमारले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहारमा नितिशकुमार १०औं पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
जनता दल युनाईटेड (जेडीयू) र भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार नितिश संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
हिजो नै राज्यपाल(प्रदेश प्रमुख) समक्ष सरकार गठनको दाबी पेश गरेका नितिशले बिहीबार दिउँसो पटनाको ऐतिहासिक गान्धी मैदानमा शपथ लिएका हुन् ।
मुख्यमन्त्री नितिशसँगै भाजपाका सम्राट चौधरीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् ।
शपथ समारोहमा प्रधनमन्त्री नरेद्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, एनडीए गठबन्धनका नेताहरू र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो ।
राज्यपाल आरिफ मोहम्मद खानले अर्का उपमुख्यमन्त्री विजय सिन्हासहित २४ जना मन्त्रीहरूलाई पनि शपथ गराएका छन् ।
बिहारमा हालै भएको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले २४३ सिटमध्ये २०२ सिट जित्दै बहुमत हासिल गरेको छ । गटठबन्धनको भाजपाले बिहार मन्त्रिमण्डलमा १४, जेडीयूले ८ र चिराग पासवानको लोकजनशक्तिले २ वटा मन्त्रालय पाएको छ ।
बिहारमा गत ६ नोभेम्बरमा पहिलो र ११ नोभेम्बरमा दोस्रो चरणको विधानसभा निर्वाचन भएको थियो । १४ नोभेम्बरमा घोषणा गरिएको मतपरिणाम एनडीए गठबन्धनको भाजपा ८९ सिट जित्दै राज्यको सबभन्दा ठूलो दल बनेको छ ।
एनडीए गठबन्धनमै रहेको नितिशकुमारको जेडीयूले ८५ सिट जित्यो । सोही गठबन्धको चिराग पासवानको लोक जनशक्ति (राम विलास)ले १९ सिट जित्दै चौंथो दल बनेको छ ।
जितन राम माझीको हिन्दुस्तानी अवम मोर्चाले पाँच सिट जित्दा उपेन्द्र कुशवाहाको आरएलएमले चार सिट जितेको छ ।
कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) लगायत सम्मिलित महागठबन्धनले भने ३५ सिटमा मात्रै जित हासिल गर्यो ।
प्रतिक्रिया 4