Comments Add Comment

नारायणी नदी किनारमा छठको रौनक

२८ कात्तिक, चितवन । तराई जिल्लामा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समयमा भित्री मधेशका जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।

चितवनको नारायणी नदी किनारमा हरेक वर्ष छठपर्वमा व्रत वस्ने र सूर्यको आरधाना गर्ने भत्तजनहरु बढ्दै गएका छन् । अझै पहाडी समुदायका व्यक्तिहरु पनि छठमा व्रत वस्ने क्रम बढ्दै गएको छ ।

२०४८ सालदेखि नारायणी नदी किनारमा छठ पर्व मनाइदै आएको छ । सुरु सुरुका बर्षमा ४० जना व्रतालु पनि नहुने छठमा अहिले ५ सय जनाभन्दा बढी व्रतालुहरु सहभागी हुने गरेका छन् । यसले छठप्रतिको आर्कषण बढाएको देखिन्छ ।

छठपर्व मनाउन नारायणी नदी किनार सिंगारिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले हरेक वर्ष छठपर्व यही नदी किनारमा मनाउँदै आएको छ ।

व्रतालुलाई टेण्टको व्यवस्था मिलाइएको छ । अर्घ दिने ठाउँमा नदी किनारमा कुनै पनि दुर्घटना नहोस् भनेर डोरीको बार बनाइएको छ । यहाँ २० देखि २५ हजार मानिसहरु छठपर्व हेर्नका लागि आउने गरेको तराई सामुदायिक सेवा समितिका अध्यक्ष गोपाल जी गुप्ताले बताए । उनले छठ पर्वको महत्व तराई हुँदै पहाडसम्म फैंलिदै गएकोमा खुसी लागेको बताए ।

समितिले निरन्तर व्यवस्थित रुपमा छठ मनाउन थालेपछि यहाँ व्रत वस्ने र हेर्न आउनेहरुको संख्या बढ्दै गएको छ । अध्यक्ष गुप्ता भन्छन्, ‘तराईवासीमात्रै होइन, पहाडी समुदायका पनि नदीमा स्नान गर्न आउँछन् ।’

समितिका सचिव नारदप्रसाद परिहस्त आस्था र विश्वासको धरोहरका रुपमा छठपर्व मनाउँदै आएको बताए । समितिले चार लाख रकम खर्चिएर नारायणी नदी किनारमा व्यवस्थित ब्रतका लागि व्यवस्था मिलाउँदै आएको छ ।

छठको सुरक्षा र व्यवस्थापनका लागि ट्राफिक प्रहरी एवम् जनपथ प्रहरीलाई खटाउन अनुरोध गरिएको अध्यक्ष गोपाल जी गुप्ताले बताए ।

स्वस्फूर्तरुपमा आर्थिक सहयोग संकलन गर्ने गरिएको छ । नपुगेको रकम समितिभित्रकै सदस्यले हाल्ने गरेका छन् । नदी किनारमा १५ वटा टेण्ट बनाइएको छ । टेण्टभित्र करिब ४ हजार ब्रतालु बसेर भजनकीर्तन गर्न मिल्छ । केही वर्षयता नदी किनार ठूलै मेलाजस्तो देखिने गरेको बताए ।

छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जानेहरुपनि पछिल्लो समयमा यही नदी किनारमा ब्रत वस्न थालेका छन् । सोही कारण हरेक बर्ष संख्या बढ्दै समितिका अध्यक्ष गुप्ताले बताए ।

नारायणी नदी किनारमा आज (मंगलबार) दिउँसोदेखि ब्रतालुको भीड लागेको छ । मूल विधि चतुर्थीदेखि सुरू भएपनि छठमा षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरिन्छ ।

उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगव्याधीबाट जोगाउने सूर्यनै भएकाले सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।

चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाइ, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । यस्तै बुधबार बर्तालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व समापन हुन्छ ।

पूर्वी चितवनको रत्ननगर क्षेत्रमा पनि छठपर्व धुमधामका साथ मनाउने गरिन्छ । रत्ननगरको गौमती गंगा किनार गौरीघाट, खैरहनीको वुढीराप्ती, पम्पाखोला, शान्तिबजारको ढुंग्रेखोलालगायत ठाउँ छठका लागि सिंगारिएका छन् ।

छठीमातालाई केरा, मुला, अदुवा, नरिवल, पान, सुपारी, नाङ्लो, ढकी, माटोको हात्ती किनमेलका लागि बजारमा भीड देखिन्छ ।

छठीमाई सेवा समिति रत्ननगरले प्रत्येक वर्ष रत्ननगर-२ स्थित महारुऽ शिवालय मन्दिर परिसर लौरीघोलमा रहेको गौरीघाट सिंगारिएको छ ।

सेवा समितिका सल्लाहकार महेशप्रसाद रौनियारले रत्ननगरबाट मनाउन सुरु गरिएको यो पर्व जिल्लाको अन्य ठाउँमा फैलदै गएको बताए ।

उनका अनुसार रत्ननगरको भोकाहामा करिब १५ जनाबाट यो पर्व मनाउन सुरु गरिएको थियो । अहिले रत्ननगरमा करिब २ सय घरधुरीले यो पर्व मनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment