Comments Add Comment

आजदेखि मध्य भोटेकोशीको सेयर बिक्री खुला

२८ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि सेयर बिक्री खुला गरेको छ ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि अंकित मूल्य एक सय दरको १ करोड ४४ लाख कित्ता सेयर बिक्री खुला गरिएको हो ।

जसमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर निष्कासन गर्न लागिएको छ । तर, बुधबारदेखि जारी गरिएको सेयर सर्वसाधारणले भने किन्न पाउने छैनन् ।

साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरिसकेको छ । कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम् एक हजार २०० कित्तासम्मको शेयरमा आवेदन दिन सक्नेछन् ।

२२ मंसिर ०६८ मा बहाल रहेका र २९ असोज ०७५ सम्म थपिएका सञ्चयकर्ताले सेयर आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । सञ्चयकर्ताले २८ कात्तिक देखि मंसिर १४ सम्म आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १९ देखि २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजनाको लागत बढ्न जाने देखिएको आयोजनाले जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड र जारी पूँजी ६ अर्ब रहेको छ ।

निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपू्रजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइनेछ । सो आयोजनाको ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चयकोषस्रग ऋण सम्झौता भइसकेको छ ।  संस्थापक समूहबाट कबोल भएको तीन अर्ब ६ करोडको सेयर रकम चुक्ता भइसकेको छ ।

कम्पनीको जारी पू्रजीको ५१ प्रतिशत सेेयरअन्तर्गत नेपाल विद्युत् प्राधिकरण १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३७, सिन्धुपाल्चोक हाइड्रोपावर एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी एक, सिन्धु इन्भेष्टमेण्ट कम्पनी एक र सिन्धु भोटेकोशी हाइड्रोपावरको एक प्रतिशत रहेको छ ।

सर्वसाधारण सेयरधनी समूहको ४९ प्रतिशत सेयरअन्तर्गत कर्मचारी सञ्चय कोषका कर्मचारी १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारी ३.५, ऋणदाता संस्थाका कर्मचारी एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशतका सेयर छुट्याइएको छ ।

सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमइ क्यापिल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड, एनआइबिएलएस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल तथा सिबिआएल क्यापिटल लिमिटेड सह-निष्काशन एवं बिक्री प्रबन्धक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment