Comments Add Comment

अस्ट्रेलियामा ठगहरुबाट कसरी बच्ने ?  

डा. समशेरसिंह थापा अस्ट्रेलियाका पहिलो नेपाली कानूनब्यबसायी हुन्  । अस्ट्रेलियामा आप्रवासीहरुलाइ स्थायी बसोबासको लागि भिसा मिलाइदिन्छु भनि केही ठगहरुबाट ठगिएर समस्यामा पर्नेहरु अन्तमा उनीसंग सहयोग र परामर्श लिन पुगेपछि उनले धेरैलाइ कानुनी सहायता गरेर ठगहरुबाट मुक्त गरेका पनि छन्  ।

गैरआवासीय नेपाली अभिन्तसमेत रहेका उनी आफूलाई गैरआवासीय नेपाली नेता बताउने केहीलेसमेत सर्बसाधारण नेपाली विद्यार्थी तथा बसाइसराइ गर्न इच्छुकलार्इ ठगेको देख्दा निकै चिन्तित पनि छन् । उनले यो कुरा सार्बजनिकरुपमा निर्भिकताका साथ् राख्ने गरेका पनि छन् । कहिलेकाही  उनी सर्बसाधारणको जानकारीका लागि आफ्नो सामाजिक संजालमा पनि परामर्शहरु प्रकाशित गर्ने गर्छन ।

अनलाइनखबर अस्ट्रेलिया संस्करणले उनको पछिल्लो सामाजिक संजालमा राखिएको सुझावलाई आधार मानेर थप कुराकानीसमेत गरी यो सामग्री तयार गरेको छ ।  थापाले गराउने सतर्कताबाट धेरै नेपाली विद्यार्थी तथा आप्रबासीहरुलार्इ सहयोग पुग्ने ठानेर यो सामग्री प्रकाशित गरिएको छ ।

चाडपर्वको प्रसंगबाटै कुरा सुरू गराैं । हाम्रा यो वर्षका महान चाडपर्व दशैँ ,विदेश तिहार, छठ , नेवा नया वर्ष सबै सम्पन्न भएका छन् । सबैलाई  शुभकामना आदानप्रदान गर्दै हामीले प्रवासमा पनि आआफ्नै हिसाबले मनाइ सकेका छौ । तरपनि विदेशी भूमिमा चाडपर्ब मातृभूमिमा जस्तो बास्तबिक ‘चाड पर्ब’ हुँदैनन् भन्ने मेरो अनुभूति छ ।

चाड पर्वको मैजारोसंगै अस्ट्रेलियामा अध्ययन गरिरहेका विद्यार्थी तथा स्थायी बसोबासको बनाइ रहेकाहरुलार्इ  केही  जानकारी दिन उपयुक्त ठान्दछु  । मेरो अनुभव,  सूचना र यहाँ बस्ने नेपालीहरुले दुःख नपाउँन भनेर म यी जानकारी नेपाली भाषामा सार्बजनिक गर्न चाहन्छु । चित्त बुझे अनुसरण गर्नु होला । तर यो  जो-जससंग सम्बन्धित छ उनीहरुका लागि हो ।

सजिलै पीआर पाइदैन

अस्ट्रेलियामा सजिलैसंग स्थाई बसोबास गर्न पाउने प्रवेशाज्ञा अर्थात् ‘पर्मानेन्ट रेसिडेन्ट भिसा’ छोटकरीमा (पी. आर.) दिलाइदिन्छु भन्नेहरुको चंगुलमा फस्नुहोला एक पटक बिचार  पुर्‍याउनु होला ।

मुख्यतया आर. एस. एम. एस. (Regional Sponsored Migration Scheme ) जस्ता भिसा लगाइदिञ्छु भनेर निःशुल्क बिज्ञापन आउने सामाजिक संजाल तथा वेबसाइट वा अन्य कुनै पनि माध्यममार्फत बिज्ञापन आएको छ, वा कुनै साथीभाइले भनेर परामर्शदाता कहा जाँदै हुनुहुन्छ भने कृपया निम्न कुरामा ध्यान दिनु होला:

१. शहरको मुटुमा ठूलो कार्यालय वा  धेरै कर्मचारी आदि छन भन्दैमा  बिश्वाश नगर्नुहोस  । सम्बन्धित परामर्श दाता व्यक्तिको प्रमाण पत्र /लाइसन्स वा कम्पनी /बिजनेस नेम आदि चेक गर्नुहोस  । ASIC /Department of Fair Trading / Law Society आदि जस्ता सरकारी तथा आधिकारिक सूचना भएका निकायको वेबसाइटमा गएर उसको प्रमाणपत्र वा रेकर्ड छ छैन  हेर्नु बुद्दिमानी हुन्छ ।

२. परामर्श दाताको वरिपरि एक दुइ जना बसेर, ‘मेरो त  उहाँले गरेको हो’ भनेर ‘ह’ मा ‘ह’ मिलाउने भएमा बुझ्नुहोस्, त्यहाँ केही गडबडी छ, किनकि तपार्इँलाई सल्लाह दिदा ‘गोपनियता ‘ राख्नु पर्छ, तपार्इको पूर्वसहमति बिना कुनै तेस्रो पक्षसंगैरहेको हुनुहुदैन  ।

३. नगत  पैसा मागेमा, अरुको खाता नम्बर दिएमा वा कुनै निबेदन दर्ता गर्दा अधिकार प्राप्त प्रतिनिधिको नाम सम्पर्क व्यक्तिको रुपमा राख्नु पर्नेमा निवेदक तपाई आफ्नै नाम राखेमा ठान्नुहोस त्यो अधिकार प्राप्त व्यक्ति होइन । वा, कुराकानी  गर्ने ठाउमा तपार्इको आफ्नै ‘कन्ट्याक्ट डिटेल’ मागेमा नदिनुहोस र बुझ्नुस उ त्यो कामको अधिकार प्राप्त व्यक्ति होइन ।

४. मैले यसको काम गरेको, उसको काम गरेको , ‘मन्त्रस्  चिनेको छु’ ,’अफिसर साथी हो’ ‘फोटो हेर’ आदि भनेर आफूलाई ठूलो बनाएमा त्यहाँ फसिन्छ भन्नेमा सतर्क हुनुहोस, अस्ट्रेलियामा चिनजान वा ठुला बडाको संगतको कुनै अर्थ छैन र भनसुन चल्दैन ।

५. शैशिक परामर्श दाताले अध्यागमन सम्बन्धि परामर्श गर्न पाउँदैन, र अध्यागमन परामर्शदाताले शैशिक परामर्श गर्न पाउदैन  तर यहाँ कोही कोही शैशिक परामर्शदाता वा अध्यागमन एजेन्टले अदालतमा निवेदककै नाममा मुद्दा दर्ता गर्दिने र  पारपाचुके सम्बन्धि मुद्दासमेत हालिदिएर धेरैलाइ अप्ठेरोमा पारिसकेका छन् । त्यसमा सतर्क हुनु पर्छ । तपाईले शुल्क तिरेर काम गराउँदा  सम्बन्धित व्यक्तिसंग उ त्यो काम को अधिकार प्राप्त  व्यक्ति हो कि होइन सोध्ने  अधिकार तपाईमा सुरक्षित छ ।

६. हाल बिस्थापित भएको पहिलेको ४५७ भिषाका लागि आफै रोजगार दाता कम्पनी खोल्दिने वा खोजिदिने नाममा पहिलेनै पर्याप्त रकम लिने, तर बाहिरनै गैरकानूनी काम गरेर जीउन बाध्य पार्ने र संचय कोष तथा सरकारी कर आफै तिर्न लगाउने र आफै अध्यावधिक गरिदिने नाममा फेरि रकम असुल्ने, स्थायी भिसाको आबेदन दिन दुइ बर्ष पुग्नै  लाग्दा फेरि समस्यामा पारिदिने र समस्यामा परेका संग फेरी रकम असुल गरी दुःख दिएका धेरै उदाहरण छन् । समय क्रममा तिनको भण्डाफोर हुनेनै छ । अहिले पनि ति भिन्न नाममा सक्रिय छन् तिनबाट होसियार रहनुस ।

यी र यस्ता नामबाट टाढा बसौ

यसबाहेक बिगतमा धेरै नेपाली एडी कांग वा टेड कांग (Eddie Kang AKA Ted Kang) जस्ताको चंगुलमा फसिसकेका र फेरी फस्ने  बाहेक अहिले अस्ट्रेलियामा श्रम अनुमति (“Australia Workpermit”) भन्ने टगी (scam) पनि  चलेको छ, तसर्थ तल नाम दिएको कोहि व्यक्ति -जो वास्तवमा अरु नै हुन सक्छ- बाट कुनै कारोबार नगर्नु होला । यिनीहरुले बिना अनुमति श्री बैभव पटेल (Mr Vaibhav Patel) भन्ने माइग्रेसन एजेन्टको नाम पनि प्रयोग गरेका छन् र बैभवले पनि अस्ट्रेलियन प्रहरीमा  गएर रिपोर्ट गरिसकेका छन् । अहिले अस्ट्रेलियामा आदित्य देसाई (Aditya Desai), देव गान्धी (Dev Gandhi) समिर समिर (Sameer Sameer) जस्ता ठगहरु सक्रिय छन् ।

यी ठगको पर्दाफास गर्न उपरोक्त व्यक्ति र संलग्न कम्पनीको बिरुद अदालतमा  मुद्दा दर्ता गरेपछि, अदालतको आदेश (Subpoena) गराएर सम्बन्धित बैंक र अफिस (जसले उनीहरुलाई ठाउँ उपलब्ध गरायो)बाट उनीहरुको वास्तविक परिचय (True Identity) खुलेपछि कानुनी कारबाही हुने निश्चित छ । तर, दुर्भाग्य उनीहरु अस्ट्रेलिया छाडेर भागी सकेका वा यही  भएपनि उनीहरु टाट पल्टेका छन्  भने उनीहरुसँग फसेको पैसा उठ्न गार्हो हुन्छ । तरपनि, अरु ठगिनबाट जोगिन सक्छन भनेर यो कुरा सबैलाई जानकारी दिनु आवश्यक छ ।

कर कार्यालयले फोन गर्दैन

साथै कृपया यदि कसैले अस्ट्रेलियन कर कार्यालयबाट टेलिफोन गरेको हु भनेर रकम वा व्यक्तिगत सूचना माग्यो भने नदिनुहोला । अस्ट्रेलियन कर कार्यालयले टेलिफोनबाट व्यक्तिगत सूचना वा रकम माग्दैन । तपाइलाई केहि सरोकार भएमा आफ्नो ट्याक्स एजेन्टलाइ वा लेखापाललाइ सम्पर्क गर्नु बुद्दिमानी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment