Comments Add Comment

मितेरी गाँस्दै गण्डकी र हाइनानः प्राविधिक शिक्षा, पर्यटन र ऊर्जामा सहयोग

३० कात्तिक, पोखरा । गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच आज पोखरामा मितेरी सम्बन्ध जोडिने भएको छ । चीनको हाइनान प्रान्तका डेपुटी गभर्नर छु जून र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले आज दिउँसो ४ बजे मितेरी सम्बन्ध जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् ।

हाइनान प्रान्तका डेपुटी गर्भनर छु जूनको नेतृत्वमा ६ सदस्यीय सरकारी टोली नै पोखरा आइसकेका छन् । सरकारी टोलीसँगै त्यहाँका प्राविधिक इन्ष्टिच्युटका प्रमुख, सोलार ऊर्जासँग सम्बन्धित व्यक्तिलगायत सामाजिक तथा व्यावसायिक प्रतिनिधिसहित १५ सदस्यीय टोली पोखरामा छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गएको असोज असोज ९ गतेदेखि १५ गतेसम्मको हाइनान प्रान्तको विशेष भ्रमण गरी त्यहाँका गभर्नरलगायत सरकारी टोलीलाई पोखरा आउन निम्तो दिएका थिए । हाइनान प्रान्तको नेसनल डेको विशेष कार्यक्रममा प्रमुख अतिथि भएर गएका मुख्यमन्त्री गुरुङले दुई देशबीचको मितेरी सम्बन्ध गाँस्न पोखरामै सम्झौता गर्ने गरी निम्तो दिएर फर्केको बताएका थिए ।

दुई प्रदेशबीचको मितेरी सम्बन्ध कायम गर्न गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले यसअघि नै नेपाल सरकारसँग स्वीकृति मागेको थियो । नेपाल सरकारले स्वीकृति दिएसँगै बिहीबार गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले समझदारीपत्र पत्र स्वीकृत गरेको छ । २ देशबीच भगिनी सम्बन्ध कायम गर्ने र त्यसमा लागि सामाजिक विकास मन्त्री पुनले हस्ताक्षर गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

‘हाइनान प्रान्तका डिपुटी गभर्नरको नेतृत्वमा चिनिया टोली पोखरा आइसकेको छ,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘शुक्रबार दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर हुने छ ।’ तीन भाषामा समझदारी पत्र तयार गरिएको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।

‘चिनिया, अंग्रेजी र नेपाली ३ भाषामा समझदारी पत्र तयार गरिएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘प्राविधिक शिक्षा, पर्यटनको विकास, व्यापार र व्यणिज्यको विकास तथा बिस्तार, सांस्कृतिक प्रवद्र्धन गर्ने लगायतका विषयमा समझदारी गर्ने तयारी छ ।’

दुई प्रान्त एक अर्काको सहयोगी बन्ने र विशेष सहयोग तथा प्रचार गर्ने समझदारी हुने छ । पर्यटन, औषधालय, प्राविधिक शिक्षालय सम्बन्धी विषयमा पनि समझदारी गर्ने तयारी गरिएको सरकारका प्रवक्ता बस्नेतले बताए ।

हाइनान प्रान्तबाट सोलार ऊर्जा र हाइनान कलेज अफ भेकेसनल टेक्निक समूहसँग सोलार र प्राविधिक शिक्षालय स्थापना गर्नेबारे पनि समझदारी हुने छ । गण्डकी प्रदेशबाट वर्षको ४ जनाका दरले ५ वर्षसम्म हाइनानमा डिप्लोमा स्तरको प्राविधिक शिक्षा छात्रवृद्धिमा पढाउने विषयमा पनि समझदारी हुने अर्थ तथा योजना आयोगका गिरिधारी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment