Comments Add Comment

प्रधानमन्त्री भन्छन्- हामीले तिर्ने कर हाम्रै सुविधाका लागि, द्विविधा मान्नै पर्दैन

१ मंसिर, काठमाडौं । सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना दिएका छन् । उनले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्न नपर्ने बताएका छन् । राज्यले उपलब्ध गराउने सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि भएकाले हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुनुपर्ने उनको जोड छ ।

‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन,’  प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

‘राजश्व संकलन उत्साहजनक’

प्रधानमन्त्रीका अनुसार आमजनताको दैनिक जीवनस्तर उकास्न वर्तमान सरकार प्रतिबद्ध छ । सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा पनि सफलता प्राप्त गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । उत्साहजनक रुपले राजश्व संकलन भइरहेको बताउँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।

‘चालू आर्थिक वर्षको असोज महिनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व संकलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा कर संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प अवश्य पूरा गरिनेछ,’ शुभकामना सन्देशमा लेखिएको छ ।

वर्षौंदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्गचित्र कोरिसकेका छौं । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’

प्रधानमन्त्रीका अनुसार आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगिएको छ । ‘तर सरकारले शुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्दछ,’ प्रधानमन्त्रीको सन्देशमा लेखिएको छ ।

ओलीले भनेका छन्, ‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेवापत तिर्नुपर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment