Comments Add Comment

घर बनाउन नसकेर ‘सुकुम्बासी’ले फिर्ता गरे सरकारको ५० हजार

३ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१, ठोकर्पाका भूकम्प पीडित प्रेमबहादुर कार्कीले सोमबार सदरमुकाम चौतारामा आएर पुनर्निर्माण प्राधिकरणबाट पाएको ५० हजार अनुदान फिर्ता गरे । घर बनाउन नसकेर अनुदान फिर्ता गर्ने जिल्लाका पहिलो लाभग्राही बनेका उनी करिब-करिब सुकुम्बासी हुन् ।

कार्कीले पुनर्निर्माण प्राधिकरणको खातामा अनुदानको ५० हजार जम्मा गरेर अनुदान व्यवस्थापन कार्यालयमा आई भौचर बुझाएको निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापाले जानकारी दिए । लामो समयदेखि व्यवसाय गरेर राजधानीमा बस्दै आएका कार्कीले २०७३ मा सिन्धु विकास बैंक सुकुटेबाट पहिलो किस्ताबापतको ५० हजार रुपियाँ लिएका थिए । समयसीमाभित्र घर बनाउन नसकेपछि रकम फिर्ता गरेको कार्कीले बताए ।

साविकको ठोकर्पा-४ मुलखर्क र हाल सुनकोशी गाउँपालिका-१ का स्थायी बासिन्दा कार्कीले ठोकर्पा छाडेको लामो समय भयो । गाउँमा सयौं रोपनी जग्गा थियो उनको नाममा । तर, ब्लड क्यान्सर भएको आमाको उपचारमा खर्च जुटाउने क्रममा उनले भएभरको जग्गा बिक्री गरे । अन्त्यमा न आमा रहिन् न जग्गा नै रह्यो ।

अनुदान रकम फिर्ता गर्न आएका कार्कीले भने, ‘मेरो नाममा अब जम्मा १ आना २ पैसा मात्रै जग्गा बाँकी छ, त्यो जग्गामा घर बन्दैन, त्यसैले अनुदान फिर्ता गरेँ ।’

कार्कीको ठोकर्पामा १ आन २ पैसाबाहेक कतै पनि जग्गा छैन । अन्यत्र घर-जग्गा भएका करोडपतिहरुले सरकारी अनुदान लिएर पचाए पनि कार्कीले भने फराकिलो छाती बनाएर रकम फिर्ता गरेका छन् ।

‘धनीमानी भनाउँदाहरुले अनुदान लिएर घर बनाएका छैनन्, न त अनुदान नै फिर्ता गरेेका छन् । तर १ आना २ पैसा मात्रै जग्गा हुनेले अनुदान फिर्ता गरे,’ कार्यालयका लेखापाल दिनविनोद घिमिरेले भावुक बन्दै भने ।

राजधानीमा सामान्य किरान पसल सञ्चालन गरेर भाडामा बस्दै आएका कार्कीका एक छोरा, दुई छोरी र श्रीमतीसहित पाँच जनाको परिवार छ । पसलको आम्दानीबाट परिवार पाल्न धौधौ हुन्छ ।

‘आफूलाई समस्या छ भन्दैमा सरकारको पैसा त्यसै खानु हुँदैन र खान पनि सकिँदैन,’ रकम बुझाएको भौचर हस्तान्तरणपछि कार्कीले भने, ‘साढे दुई वर्षदेखिको एउटा गहु्रगो भारी आज यहाँ आएर बिसाएको छु ।’

अनुदान रकम फिर्ता गर्नका लागि कार्कीले विगत १ महिनादेखि नै आफूहरुलाई फोन गरिरहेको आयोजना कार्यालयका निमित्त व्यवस्थापक भरतकुमार थापाले बताए ।

निजी आवास निर्माणका लागि लिएको अनुदान फिर्ता गरेपछि पुननिर्माण प्राधिकरणले कार्कीलाई सम्मानपत्र दिएर सम्मान गरेको छ । प्रधिकरणले तोकेको समयमा नै रकम फिर्ता गरेकोमा हार्दिक आभार व्यक्त गरेको छ ।

निजी आवासका लागि अनुदान लिएर घर नबनाउनेहरुलाई अनुदान फिर्ता गर्न पुननिर्माण प्राधिकरणले अनुरोध गरेको थियो । यससँगै भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा अनुदान फिर्ता सुरु भएको हो ।

५३ हजार ९ सयले बनाए घर

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक जिल्लामा हालसम्म ५३ हजार ९ सय लाभग्राहीले तेस्रो किस्ताको अनुदान लिएका छन् । उनीहरु सबैले घर निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले जानकारी दिएको छ ।

८७ हजार १ लाभग्राहीमध्ये ८४ हजार ९ सय २२ ले पहिलो किस्ताबापतको ५० हजार अनुदान लिएका छन् । त्यस्तै ७५ हजार ७१ जनाले दोस्रो र ५३ हजार ९ सयले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिएका छन् ।

१२ स्थानीय तहमध्ये बलेफी गाउँपालिका र चौतारा नगरपालिका पुननिर्माण कार्यमा अघि रहेका छन् भने भोटेकोशी र पाँचपोखरी थाङपाल गाउँपालिका पछि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment