Comments Add Comment

रानीमहलमा इकोपार्क बन्दै

६ मंसिर, बुटवल । नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन इकोपार्क निर्माण गरिने भएको छ ।

पुरातात्विक महत्त्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो । यसका लागि प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

यसै वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लीला गिरीले बताए । रानीमहललाई प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल बनाइने लक्ष्यअनुसार पहिलो चरणमा इको पार्क बनाउन लागिएको उनले जानकारी दिए । आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिई लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य रानीमहललाई बनाउने मन्त्री गिरीको भनाइ छ ।

रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपानेलगायतको टोलीले स्थलगत अवलोकन गरेको छ । सडक अभावले पर्यटकको आकर्षण हुँदा–हुँदै कमी आएकाले यसको अनुगमन गरिएको मन्त्री चौधरीले बताए ।

पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटर दूरीको सडकमध्ये ५ किलोमिटर पीच हुन बाँकी छ भने कालीगण्डकी कोरिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ । यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । चट्टानलाई फुटाएर बाटो खुलेपछि र पुल निर्माण सकेपछि रानीमहलमा पर्यटक आगमनले फड्को मार्ने दाबी मन्त्री चौधरीले गरे ।

जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा रानीमहल बनाएको इतिहासमा छ । दरबारको एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा आदि रहेका छन् । ५६ फिट चौडाई, ११२ फिट उचाइ भएको चारतले भवन १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । महल जीर्ण भएपछि ०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुननिर्माण गरेको थियो । पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ । साविकको बौघागुम्बा गाविस वडा नं २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि उभिएको छ ।

रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करिब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । १९६०मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको भनाइ छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment