+

पुलिस क्लब: युवा खेलाडीमा निर्भर ‘बूढो बाघ’

२०७५ मंसिर  ७ गते १०:२८ २०७५ मंसिर ७ गते १०:२८
पुलिस क्लब: युवा खेलाडीमा निर्भर ‘बूढो बाघ’

७ मंसिर, काठमाडौं । विगतमा नेपाल पुलिस क्लबको नेपाली फुटबलमा निकै दबदबा रह्यो । तर, पछिल्लो समयमा यो अलि सुस्ताएको छ ।

राष्ट्रिय खेलाडी उत्पादनमा निरन्तर टेवा पुर्‍याएको पुलिस क्लबसँग अहिले भने स्टार खेलाडीको खडेरी छ । ०६८ सालपछि उसले गतिलो नतिजा निकाल्न सकेको छैन । ठूला प्रतियोगितासँगै मोफसलको गोल्डकपमा पुलिस चुकेको छ ।

यसका बाबजुद जारी शहिद स्मारक ए डिभिजन लिगमा पुलिस क्लबलाई कमजोर आँक्ने मुर्खता सायदै अरु टिमले गर्लान् । किनकी हिङ नभए पनि हिङ बाँधेको टालो हो यो । नेपाली फुटबलको ‘बुढो बाघ’ का रुपमा यस क्लबलाई लिन सकिन्छ ।

यसपाली आफ्नो क्लबले उपाधिकै लागि खेल्ने बताउँछन् प्रशिक्षक अनन्त थापा । उनी भन्छन्, ‘हामीले उपाधिलाई नै लक्ष्य बनाएर तयारी गरेका छौं । प्रत्येक खेल हाम्रो लागि उत्तिकै महत्वपूर्ण हुनेछन् । जस्तो टिम छ त्यही अनुसारको रणनीति बनाएर हामी खेल्छौं ।’

उपाधि मात्रै जित्ने नभएर दर्शकको मन पनि जित्ने उद्देश्य रहेको उनी बताउँछन् ।

टिम कप्तान भोला सिलवालले पनि उपाधि जित्ने साहस टिमसँग भएको बताए । ‘हामी मोफसलका ८–९ वटा प्रतियोगिताको फाइनलमा पुगेका थियौं । लिग च्याम्पियन बन्ने उद्देश्यका साथ साढे दुई महिनदेखि अभ्यास गरिरहेका छौं । यो लिगका लागि मात्रै हैन पछिसम्मको लागि बलियो टिम बनाउने हाम्रो लक्ष्य हो’ सिलवालले भने ।

उनी अगाडि भन्छन्, ‘यो लिगमा सबै टिम राम्रा छन् । कमजोर मानिएका टिमहरुले रक्षात्मक खेल्छन् र राम्रो टिमलाई गोल गर्न गाह्रो हुन्छ ।’

गर्विलो इतिहास

तीन विभागीय टिममध्ये सबैभन्दा सफल मानिन्छ पुलिस क्लब । अहिलेसम्म पुलिसले शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि ३ पटक जितिसकेको छ ।

२०६३ सालमा पहिलो पटक ए डिभिजन लिगको उपाधि उचालेको पुलिसको स्वर्णिम युग पनि ६० को दशकलाई नै मान्न सकिन्छ । यही ५ वर्षको अन्तरालमा क्लबले ए डिभिजन लिगको उपाधि ३ पटक जित्न सफल भएको थियो । दोस्रो पटक पुलिसले २०६६–०६७ सालमा भएको ए डिभिजन लिगको उपाधि उचाल्यो । त्यसपछि २०६८ सालमा भएको लिग जित्यो ।

तर, त्यसपछि भने पुलिस चिसिएको छ । एकपछि अर्को गर्दै खेल खस्किदै गएको प्रशिक्षक तथा खेलाडी पनि स्वीकार्छन् । यद्यपि, यो वर्षदेखि मोफसलका प्रतियोगिताहरुमा पुलिसले राम्रो गरिरहेको छ । प्रशिक्षक थापा भन्छन्, ‘तयारी अनुसार हामीले त्यही अनुसारले विजयी सुरुवात पनि गरेका छौं ।’

युवा टिम, आक्रमक शैली

नेपाल पुलिस क्लब अहिले युवा खेलाडीले भरिएको छ । पहिलेको तुलनामा अधिकांश नयाँ अनुहार यो क्लबमा छन् । पुराना भनेको भोला सिलवाल मात्रै हुन् ।

आफ्नो पहिलो खेलमा नै जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको पुलिसको टिम सेट राम्रोे छ । पुलिसको डिफेन्स लाइनमा राष्ट्रिय टिमका नियमित सदस्य दिनेश राजवंशी, अजित भण्डारी, विक्रम धिमाल, बुद्ध तामाङ, मानबहादुर परियार जस्ता खेलाडी छन् ।

मिड्फिल्ड लाइन पनि उतिकै सशक्त छ । मिडफिल्डमा अनुभवी खेलाडी तथा कप्तान भोला सिलवाल, तेज तामाङ, अभिषेक रिजाल, रवि पासवान छन् । यस्तै, सुमन लामा, भरत शाह, निरकुमार राई, रेजिन सुब्बा, हरि कठायत जस्ता खेलाडीले पुलिसको एट्याकिङ लाइन सम्हाल्ने छन् ।

पुलिस टिम सन्तुलित हुनुका साथै स्पिरिट पनि राम्रो छ । प्रशिक्षक थापा आफ्नो टिममा युवा खेलाडीले राम्रो गरिरहेको बताउछन् । ‘मेरो ध्यान नै युवा खेलाडीमा छ । अहिले उनीहरुको तालमेल पनि राम्रो भएको छ । मैले दिएको योजना र रणनीति युवा टिमले राम्रोसँग आत्मसात गरेको छ ।’

उनी आफ्नो टिमको एट्याकिङ पावर मजबुत रहेको बताउँछन् ।

नेपाल पुलिस क्लब

गोलकिपरः अर्पण कार्की, रोशन खड्का, शत्रु चौधरी

डिफेन्डरः अजित भण्डारी, दिनेश राजवंशी, विक्रम धिमाल, बुद्ध तामाङ, सुरज घिमिरे, अर्विन चहल, मान बहादुर परियार, सन्तोष हेमरुङ

मिड्फिल्डः भोला सिलवाल, हेम तामाङ, तेज तामाङ, अभिषेक रिजाल, दिनेश गुरुङ, रवि पासवान

फरवार्डः सुमन लामा, रेजिन सुब्बा, भरत शाह, हरि कठायत, निरकुमार राई, तिर्थबहादुर राना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय