Comments Add Comment

विनोद चौधरीले रुवान्डामा खोलेको होटल लिलामीको तयारी

१८ मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो ।

बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ ।

समाचारमा लेखिएअनुसार होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ ।

नेपालका धनाड्य विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर उबुम्वे होटल खोलेका थिए । जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो । तर, त्यसअनुरुप काम हुन नसकेको स्रोतहरुलाई उद्धृत गर्दै द न्यू टाइम्सले लेखेको छ । त्यसपछि हिल्टन ग्रुपले उक्त होटल व्यवस्थाप गर्ने कुरा सार्वजनिक भएको थियो । त्यसपछि झन् शेयर सदस्यहरुबीच विवाद बढेको समाचारमा उल्लेख छ ।

‘यसअघि चौधरी ग्रुपले होटललाई जिंक ब्रान्डमा चलाउनका लागि दुबई इन्टरनेशनल फाइनान्सीयल सेन्टरको मध्यस्थता खोजेको थियो । सेन्टरले पनि यसरी अगाडि बढेमा होटल फाइदामा जाने बताएको थियो तर त्यो कार्यान्वयन हुन सकेन,’ समाचारमा लेखिएको छ ।

‘जिंक एन्ड फर्न’ चौधरी समूहको आफ्नै होटल ब्रान्ड हो ।

पछिल्लो समय केसीबी बैंक र चौधरी ग्रुपबीच समस्या समाधानको प्रयासमा बैठकसमेत बसेको थियो । तर, बैठकको निष्कर्ष सार्वजनिक भइसकेको छैन । अन्य शेयर सदस्यहरुले चौधरी ग्रुपको शेयर किन्ने कि नकिन्ने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

रुवान्डा विकास बोर्डले पनि केसीबी बैंकले होटल लिलामी गर्ने जानकारी आफूलाई गराएको जनाएको छ ।

यो पनि पढ्नुहोस रुवान्डामा विनोद चौधरीको पाँचतारे होटल, पहिलो ग्राहक अफ्रिकी मुलुकका राष्ट्र प्रमुख

अब यस्तो अवस्थामा दुई विकल्प छन् । पहिलो विकल्प होटल लिलामी गर्ने हो । दोस्रो विकल्प भनेको नयाँ म्यानेजर नियुक्त गर्ने र त्यसलाई चलाउन दिएर ऋण तिरिसकेपछि शेयर सदस्यहरुलाई फिर्ता दिने हो । तर, यी सबै अधिकार बैंकमा निहीत रहेको समाचारमा उल्लेख छ ।

चौधरी ग्रुपले बिभिन्न देशहरुमा लक्जरी होटलहरु सञ्चालनमा ल्याइसकेको छ । चौधरी ग्रुपले विश्वकै चर्चित बहुराष्ट्रिय होटल ब्रान्ड ताज प्यालेस, अलिला, जेट विङ, द फर्म लगायतसँग सहकार्य गरी विभिन्न मुलुकमा होटल सञ्चालन गरिरहेको छ ।

नेपालको चितवनमा ७० करोड रुपैयाँ लगानी गरी मेघौली सराई जंगल रिसोर्ट पनि सञ्चालन ल्याइएको छ । यस होलटको व्यवस्थापन ताज सफारीले सम्हालेको छ । चौधरी ग्रुपले ललितपुरमा सञ्चालित होटल समिटको स्वामित्वसमेत खरिद गरेको छ ।

विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् । उनी कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment