Comments Add Comment

एकनाथ ढकालको धर्मशास्त्रः महिला जोडले हाँस्नुहुँदैन !

१७ मंसिर, काठमाडौं । चरम विवादित बनेको एसिया प्यासिफिक सम्मेलन सकिए पनि यसको चर्चा सकिएको छैन । कार्यक्रम आयोजक यूनिफिकेसन पिस फेडरेसन (यूपीएफ) र यसका नेपाली अगुवा एकनाथ ढकालमाथि अनेकन प्रश्नहरु वषिर्रहेका छन् । संस्थाको एकपछि अर्को कर्तुत बाहिर आइरहेका छन् ।

यहाँचाहिँ हामी यूपीएफका संस्थापक ‘ट्रु फादर’ भनिने सन् म्योङ मुनका केही धार्मिक, सामाजिक र लैंगिक अवधारणाहरु प्रस्तुत गर्दैछौं, जसमा महिलामाथि चरम अपमान गरिएको छ ।

मुनका विभिन्न प्रवचनहरुमा आधारित रहेर ‘छन् सङ ग्यङ’ नामक पुस्तक प्रकाशित भएको छ, जसलाई यो सम्प्रदायमा लागेकाहरु ‘बाइबल’ बराबर मान्छन् ।

‘छन् सङ् ग्यङ’को नेपाली संस्करण करिब १० वर्ष अगाडि नै प्रकाशित भएको हो । यो किताब विश्वका ५० भन्दा बढी भाषाहरुमा अनुवाद भएको छ ।

कुल २८८८ पेजको यो भीमकाय किताबमा फादर मुनका थुप्रै वाहियात र आपत्तिजनक कथनहरु समावेश छन् । खासगरी महिलामाथि उनको दृष्टिकोण कति दुषित छ भन्ने किताबका पानाहरु सरसर्ती पल्टाउँदा नै थाहा हुन्छ ।

हामीले सोही पुस्तकबाट सापट लिएर दृष्टान्तहरु प्रस्तुत गरेका छौं, जसले कथित ‘सच्चा पिता’ लाई चिन्न र यस संस्थाको मूल्य-मान्यता बुझ्न पाठकहरुलाई सहयोग गर्नेछ ।

पुस्तकमा मुनले क्रिस्चियानिटीमा प्रथम मानव दम्पत्ति मानिने एडम र इभ श्रीमान-श्रीमती हुनुभन्दा अगाडि दाजुबहिनी भएको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस विवादै विवादमा मुछिएको यूपीएफ, जसका कारण सरकारले बदनामी कमायो

मुनले आफू र आफ्नी दोस्री पत्नीलाई ‘सच्चा पितामाता’ को संज्ञा दिँदै यसको लामो व्याख्यान प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘सच्चा मातापितालाई ईश्वरले नियुक्त गर्नुभएको हो ।’

मुनले जिसस क्राइस्टसँग महिला नभएकाले उनी आफ्नो मिसनमा असफल भएको तर्क गरेका छन् ।

‘महिलाबिनाको पुरुष हुनुहुँदैन । जिससले यो उद्देश्य पूरा गर्न नसकेको हुनाले उनले आफ्नो जीवनको अन्त्यतिर उनी दुलाहा र उनका अनुयायीहरु दुलही हुन् भनेका थिए । यसैकारणले ईसाई धर्ममा ईसाईहरु दुई हजार वर्षदेखि दुलाहा जिससलाई पर्खँदै दुलही हुन संघर्ष गरिरहेका छन्,’ पुस्तकमा लेखिएको छ । -पेज नं.२१०)
‘बिहेअघि नांगै हुनुपर्छ’

श्रीमान र श्रीमतीको दाम्पत्य जीवन र यौन जीवनका बारेमा पुस्तकमा धेरै शब्द खर्चिइएको छ ।

पेज नं. ४१८ मा लेखिएको छ, ‘श्रीमान र श्रीमतीले एक अर्कालाई चुम्बन गर्नुअघि दाँत माझ्छन् भने त्यो प्राकृतिक प्रेम हुँदैन । दन्तमञ्जनको गन्धले तिनीहरुलाई मानव शरीरको अद्वितीय सुवासको मजा उठाउन दिँदैन । चुम्बन गर्नुअघि दाँत माझ्ने जोडीलाई देख्दा म बुझ्न सक्दिनँ कि तिनीहरु प्रेमको स्वाद लिन खोज्दैछन् या दन्तमञ्जनको ।’

पेज नं. ४१५ मा मुनको अर्को रोचक सुझाव छ, ‘श्रीमानका बुबाआमा अर्कोपट्टी सुतिरहेका छन् भने पनि, श्रीमान र श्रीमतीले प्रेम गर्दा उनीहरु चरमोत्कर्षमा पुगेका बेला चिच्याउनु राम्रो हुन्छ । तिनीहरुले स्थानीय गाउँमा सबैले थाहा पाउने गरी प्रेम गर्नुपर्छ ता कि गाउँलेले भनुन्, त्यो जोडीको कति गहिरो प्रेम ! तिनीहरुले राति विचित्रको आवाज निकाल्दा गाउँका मुसाहरु चकित हुन्छन् र कुखुराका भालेहरु पनि कराउन छाड्छन् ।’

अर्को एक सन्दर्भमा मुन भन्छन्, ‘एडेनको बगैंचामा एडम र इभले नाङ्गै नाचेको कसैले देखेको थियो ? त्यसैले एक्लै भएको अवस्थामा तपाईं पनि यस्तो गर्न सक्नुहुन्छ । पति-पत्नी कोठामा नाङ्गै नाच्छन् भने किन टाउको दुखाउनु ? त्यसैले आशिष -ब्लेसिङ) ग्रहण गर्ने दम्पत्तीहरु, तपाईं पनि नाङ्गै नाच्ने दिशामा कदम बढाउनुस् ।’

मुन लेख्छन्- ‘विवाह गर्नुअघि तपाईंहरु दुबै निर्वस्त्र हुनुपर्छ र नाइटो, छाती र अरु सबै अंगहरु सिधा छन् कि छैनन् भनेर जाँच्नुपर्छ । अनि मात्र त्यो आदर्श जोडी हुन्छ ।’

महिलामाथि चरम विभेद

फादर मुनले आफ्नो श्रीमानको फोहोरी मोजाबाट निस्कने दुर्गन्धलाई सुवासको रुपमा ग्रहण गर्न महिलाहरुलाई सुझाव दिएका छन् ।

पेज नं. ४२० मा लेखिएको छः ‘उहिलेका मानिसहरु महिनौंसम्म अगाडि प्वाल परेर औंला बाहिर ननिस्कँदासम्म मोजा लगाउँथे । त्यस बेलासम्म मोजाबाट अनेकन् किसिमका गन्ध आउँथे । तर, एउटी मायालु श्रीमतीको नाकका लागि त्यस्तो दुर्गन्ध पनि कुनै मीठो सुवासभन्दा पनि उत्तम लाग्थ्यो । तपाईं प्रेममा परेका बेला त्यस्ता गन्हाउने खुट्टाका औंलाहरु पनि गएर चाट्न चाहनुहुन्छ । त्यसको स्वाद तीखो, मीठो, अमिलो र कुटिल लाग्छ । जब तपाईं यसलाई प्रेमको स्पर्शेन्द्रीयले नाप्नुहुन्छ भने तपाईंले यसलाई मन पराउने मात्रा मन नपराउने मात्राभन्दा निकै धेरै हुन्छ ।’

मुनले अझै अघि बढेर भनेका छन्, ‘तपाईंलाई श्रीमानको थुक फोहोर लाग्छ कि लाग्दैन ? यदि आफ्नो श्रीमानको थुक तपाईंको हत्केलामा परेको छ भने के तपाईं त्यसलाई चाट्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न ? साँचो प्रेम छ भने तपाईंले भन्नुपर्छ, ‘म चाट्न र निल्न चाहन्छु ।’ प्रेममा केही पनि फोहोर हुँदैन ।’

एक ठाउँमा उनले महिलालाई ईश्वरको सृष्टिमध्ये सबैभन्दा उत्कृष्ट नमूना बताएका छन् । तथापि उनी लेख्छन्- ‘तर उनीहरु केका लागि हुन् ? तिनीहरु पुरुषका लागि बनेका उत्कृष्ट कलाकृति हुन् ।’

मुनले महिलाका यौनाङ्गलाई ‘राजमहलका खजाना’ को संज्ञा दिएका छन् । मुनले स्त्रीहरु श्रृंगार गरेर र अत्तर लगाएर भए पनि सधैं राम्री देखिनुपर्नेमा जोड दिएका छन् ।

पेज ४२२ मा लेखिएको छ, ‘तिनीहरु स्वर्गीय राज्यको राजदरबारका खजाना हुन् । पादरीले मात्र यसको ताल्चा खोल्न सक्छ । तर, एउटी स्त्रीले दुई पादरीको सामुन्ने लुगा खोल्नुहुँदैन ।’

मुनले महिलाको शीरभन्दा यौनाङ्ग महत्वपूर्ण रहेको पनि बताएका छन् । अर्को ठाउँमा उनी भन्छन्, ‘सत्यवती स्त्री कस्ती हुनुपर्छ ? सत्यवान पुरुषले जे भन्छ, उनले त्यही गर्नुपर्छ । यदि उनको परिवारको र वंशको सेवा गरिन् भने उनका सबै छिमेकीले उनलाई करतल ध्वनीका साथ स्वागत गर्नेछन् ।’

यो पनि पढ्नुहोस विवादित एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्वाेधन

मुन अगाडि थप्छन्, ‘उनले सधैं आफ्नो पतिको शरीर र लुगाहरुको ख्याल गर्नुपर्छ । जब पति थाकेको मुद्रामा घर फर्किन्छ, पत्नीले उसको मुख धुन पानी र दाँत माझ्ने सामान तयार पार्नुपर्छ र उसको खुट्टा धोइदिन र कपाल कोरिदिन सक्नुपर्छ ।

किताबमा लेखिएको छ- ‘नारीले कम्तिमा तीन दिनमा एकपटक लुगा फेर्नुपर्छ । उनले धेरैजसो कपाल पनि धुनुपर्छ । उनी सधैं मुस्काउनुपर्छ । एउटी नारीले आफ्नो कपालको ढाँचा र श्रृंगारप्रति पतिको प्रतिक्रिया जाँच्नुपर्छ । यदि तपाईंले पतिलाई आफ्नो रुप तथा बाह्य प्रस्तुतिबाट खुशी पार्न सक्नुहुन्न भने तपाईंले आफ्नो रुचीका विषयहरु प्रयोग गरेर प्रयास गर्नुपर्छ । यसका लागि तपाईंले संगीतजस्तो आफ्नो सम्पूर्ण कलाहरु प्रयोग गर्नुपर्ने हुन्छ । तपाईंको फरियामा लपेटिएको पतिलाई बच्चा जस्तै गरी बाँच्ने बनाउनुस् । -पेज १२४९ )

मुनले दराजमा लुगा राख्दा पुरुषको भन्दा स्त्रीको माथि राख्न नहुने बताएका छन् । उनी भन्छन्, ‘सामान्यतया स्त्रीले पुरुषलाई बस्नका लागि ठाउँ तयार पार्नुपर्छ । लुगाको दराज तयार गर्दा पुरुषले दायाँ र स्त्रीले बायाँको गर्नुपर्छ । पुरुषले माथिपट्टकिो प्रयोग गर्छ भने स्त्रीले तलपट्टीको । स्त्रीले आफ्नो  फ्रक वा भित्री कट्टु पुरुषको लगाउने लुगामाथि राख्नुहुँदैन । स्त्रीको लुगा पुरुषको भन्दा माथि राखिनुहुँदैन । यदि तपाईं सानो घरमा बस्नुहुन्छ, जहाँ जुत्ता राख्ने दुईवटा खण्ड भएको एउटा मात्र तख्ता छ भने पुरुषको जुत्ता माथ्लो र स्त्रीको तल्लो खण्डमा राख्नुपर्छ ।’
उनले यतिसम्म पनि भनेका छन्, ‘यदि तपाईंलाई पतिले बेस्सरी पिटे पनि तपाईंले कृतज्ञताको प्रार्थना अर्पण गर्दै ‘मेरो पतिले मलाई कहिल्यै गाली नगर्ने अपेक्षा म कसरी गर्न सक्छु, धन्यवाद,’ भन्नुपर्छ ।’

उनले महिलालाई यस्तो सुझाव पनि दिएका छन्, ‘महिलाले ठूलो स्वरले हाँस्नुहुँदैन । पुरुषहरु जोडले हाँस्न सक्छन्, तर महिलाले हुँदैन । उनीहरु भद्दा देखिन्छन् । यो आकर्षक हुँदैन । यदि स्त्रीका दाँत भित्रतिर पसेका छन् भने त झन् त्यो सर्पको दाँतजस्तो देखिन्छ । त्यसैले सकेसम्म यस्ता स्त्रीले मुख खोल्नै हुन्न ।’

मुनले महिलाको शारीरिक बनावटबारे यस्तो भनेका छन्, ‘महिलाको ढाड कुपि्रएको हुनुहुँदैन । खाटमा सुत्ने बेला महिलाहरुको छाती टेडो हुन्छ । तर, उनीहरुले त्यस्तो देखिनु हुँदैन । उनीहरुको बनावट शीरदेखि पाऊसम्म मिलेको हुनुपर्छ । त्यसैले तपाईंले सीधा भएर बस्ने अभ्यास गर्नुपर्छ । पुरुषहरुको हकमा पनि त्यही हो । बस्दा महिलाहरुले ढाडलाई सन्तुलितरुपमा खुम्च्याउनुपर्छ ।

‘एशियाली समाजमा जब एक महिला कतै गएर बस्छिन्, उनलाई कुनै पनि कुराको अगाडि निहुरिने अनुमति हुँदैन । यद्यपि, पुरुषलाई यस्तो छुट छ । यसको कारण के हो भने महिलाको नितम्ब ठूलो हुन्छ । उनीहरु स्वाभाविक किसिमले बस्दा सहज अनुभव गर्छन् । यद्यपि, पुरुषहरुको नितम्ब सानो र माथिको भाग ठूलो हुन्छ । -पेज १२६१)

‘महिलाले नसुनिने गरी घुर्नुपर्छ । अन्यथा समस्या आउँछ । पति सुतिरहेको अवस्थामा पत्नीले पतिलाई कुल्चेर होइन, कि घुमेर ओछ्यानमा जानुपर्छ र होसियारीपूर्वक पल्टिनुपर्छ । यदि पति निदाइसकेको रहेछ भने उनले कुनै आवाज निकाल्नु हुँदैन । उनी चुपचाप ओछ्यानमा जानुपर्छ ।’

पुस्तकमा रहेका महिलासम्बन्धी केही टिप्पणीहरु

पूर्वमा एउटा भनाइ छ कि जब एउटी महिलाको आवाज पर्खालबाट बाहिर जान्छ, त्यो घर विनाश हुन्छ । पुरुषको आवाज सामान्यतया ठूलो हुन्छ र पर्खाल नाघ्छ । तर, महिलाहरु सुस्तरी कुरा गर्नुपर्छ । यदि महिलाको स्वर पर्खाल नाघेर बाहिर गयो भने यो सिद्धान्त विपरीत हुन्छ । त्यसैले यस्ती महिलासँग बस्नुभयो भने तपाईं समाप्त हुनुहुनेछ । -पेज १२६२)

तपाईंले किशोरावस्थाका युवतीहरुलाई हेर्नुभयो भने उनीहरु आँखाका परेला झिम्क्याउँदै रंगीचंगी लुगा लगाएर र नितम्ब टपक्क बनाएर डुलेको देख्नुहुन्छ’ मुन लेख्छन्, ‘उनीहरुको नितम्ब ठूलो देखियो भने त आपतै पर्छ । त्यसरी लज्जित हुनबाट जोगिन केटीहरु आफ्नो नितम्ब सानो देखिने बनाएर हिँड्ने गर्छन् । -पेज १२६३)

स्त्रीको शरीरको केन्द्रभन्दा मुनि रहेको यौनाङ्ग उनको होइन । योनाङ्ग उनीहरुका निम्ति होइनन् । तिनीहरुको पतिका निम्ति हुन् । अनि पतिको शरीरमा तुर्लुङ्ग झुण्डिएको वस्तु के हो ? यो कसको हो ? यो अनन्ततासम्मका लागि स्त्रीको हो । स्त्रीका यति ठूला स्तनहरुका कसका निम्ति बनेका हुन्छन् ? के उनको आफ्नै लागि हो ? उनी स्वयम्का लागि होइन, छोराछोरीका लागि हो । कसका लागि उनको नितम्ब ठूलो हुन्छ ? यो पनि उनकै छोराछोरीका लागि हो । स्त्रीको मुहार उनी स्वयम्का लागि होइन । यो मुहारमा त उनको पतिले आनन्द लिन सक्छ । स्त्रीको आफ्नो केही छैन । पुरुषको कुरामा उनले मनपरी गर्न सक्दिनन् । -पेज २००१)

मुनले यतिसम्म भनेका छन् कि ‘स्त्रीको हकमा यदि उनको स्तन एकातिर ढल्केको छ भने उनी विधवा भएर एक्लै मर्नुपर्ने हुन्छ ।’

केही उटपट्याङ

किताबमा मुनका उटपट्याङ दर्शनहरु प्रशस्तै छन् । उनले कसरी हिँड्नेदेखि कसरी कपाल कोर्ने भन्नेसम्मका लागि नियम दिएका छन् ।
‘हिँड्दा पुरुषले पहिला दायाँ खुट्टा अगाडि सार्नुपर्छ भने महिलाले बायाँ खुट्टा पहिला सार्नुपर्छ । बस्दाखेरि जहिले पनि पनि पुरुष पूर्वपट्टी र स्त्री पश्चिमपट्टी बस्नुपर्ने नियम छ ।’

‘तपाईंले लुगा खोल्दा पहिले सुरुवाल खोल्नुपर्छ र सुरुवालमाथि जर्सी राख्नुपर्छ । तपाईंले पहिला जर्सी खोल्नु हुँदैन । स्त्रीले लुगा लगाउँदा पहिला के लगाउनुपर्छ ? पहिले कम्मरमाथिका लुगा लगाउनुपर्छ कि कम्मरमुनिका ? स्त्रीहरुले सुरुमा तलका लुगा लगाउँदा सिद्धान्तबिमोजिम हुन्छ । यद्यपि पुरुषले कहिलेकाहीँ पहिला माथिका लुगा लगाए पनि त्यो नीतिअनुरुप नै हुन्छ । -पेज नं. १२५९)

 

यो पनि पढ्नुहोस ‘जिससकी छोरी’ घोषणा कार्यक्रममा सरकार नै सहआयोजक

‘हाँस्दाखेरि तपाईंको आँखा एउटा पाराले र नाक अर्को पाराले हाँस्छ कि एकैसाथ हाँस्छन् ? यदि मानिसहरुको आँखा र नाक हाँसिरहेको बेलामा ओठ कस्सिएर च्याप्प हुन्छ भने यसको अर्थ उनीहरु गरीब छन् भन्ने हुन्छ । यदि हाँस्दा तपाईंको नाक चल्दैन भने तपाईंका छोराछोरी र सन्तती थोरै छन् भन्ने बुझिन्छ । यदि तपाईं हाँस्दा आँखा हाँस्दैन भने तपाईंसँग हृदयको अभाव छ ।’

‘प्रेम सम्वन्ध गाँस्ने बाटो कहाँ हुन्छ ? के यो औंलाका टुप्पामा हुन्छ ? यो कहाँ छ ? पुरुषमा यो के हो ? यो स्त्री र पुरुषका अंगहरु हुन् जहाँ अत्यन्त घीनलाग्दा पदार्थहरु पनि पाइन्छन् । पिसाब कहाँबाट आउँछ ? यौनांगबाट । यदि यसरी त्याग गरिएको मुत्र प्रेमसँग मिसिएको भए यो दूषित हुन्छ कि शुद्ध हुन्छ ? बरफ राखेको चिया जस्तै साँचो प्रेम भरिएको पिसाब पिउनु कति गजब हुने थियो होला ? -पेज २००३)

‘स्त्रीले सफासुग्घर हुनु ठिकै हो । तर, पुरुष केही हदसम्म गन्धमय हुनुपर्छ । बाहिरबाट घर फर्किँदा उसका खुट्टा अलिअलि गन्हाए भने उ यसमा हाँस्नुपर्छ । यदि उ एकदम सफा भयो भने झिंगा पनि उतिर आउँदैन ।’ -पेज २००४)

ब्लेसिङ र होली वाइनबारे

एसिया प्यासिफिक सम्मेलनका क्रममा ब्लेसिङ सेरिमोनीको पनि आयोजना गरिएको थियो । उक्त समारोहमा प्रधानमन्त्री दम्पत्तीसहित उच्च पदस्थहरुलाई निम्त्याइएको भए पनि उनीहरुले भाग लिएनन् । तर, सयौं जोडीहरुलाई ब्लेसिङ भन्दै होली वाइन पिउन लगाइएको थियो ।

ब्लेसिङको विषयमा मुनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘हाम्रो एकीकरण अभियानमा विवाहलाई आशिष प्राप्त गर्ने (ब्लेसिङ) भनिन्छ । यसको मतलब सच्चा पितामाता र सच्चा सन्तानहरु सृष्टिको उद्देश्य साकार पार्न आपसमा भेट्नु हो । यसबाट तपाईं सच्चा पितामातासँग पूर्ण सम्वन्ध बनाउन सक्षम हुनुहुन्छ । म ती आशिषप्राप्त गर्नेहरुको अनन्त जिम्मेवारी आत्मिक संसारमा पनि लिनेछु ।’ -पेज नं. १२६०)
किताबको १४८५ पेजमा जीवनामृत समारोह (होली वाइन सेरेमोनी) बारे उल्लेख छ ।

होली वाइन पिउने विधी पनि मुनले वर्णन गरेका छन् । जुन यसप्रकार छः

‘सुरुमा स्त्रीले जीवनामृत लिन्छिन् । उनले पहिला पितालाई ढोग्छिन् , जीवनामृत लिन्छिन् र गिलासबाट आधा पिउँछिन् । त्यसपछि पतिले ढोग्छन् । स्त्रीले आफ्नो आधा पिइरहेको बेलामा पुरुषले आफ्नो टाउको आधा झुकाएको हुनुपर्छ । त्यस समयमा स्त्री आमाको स्थानमा हुन्छिन् । उनले आमाको प्रतिनिधित्व गर्छिन् । स्त्रीले आधा पिइसकेपछि आधा पुरुषलाई पिउनका निम्ति दिन्छिन् । जब पुरुषले बाँकी रहेको आधा पिउँछ, तब दुईबीच सम्वन्ध निर्माण हुन्छ । -पेज नं. १४८७)

उनले जीवनामृतभित्र २१ वटा तत्व हुने बताएका छन् । यो सामान्य मदिरा मात्रै नभएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment