Comments Add Comment

ईपीएल क्रिकेटः दुई खेल अघि नै भैरहवा प्लेअफमा

२६ मंसिर, काठमाडौं । भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ ।

बुधबार साविक विजेता विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९२ रनको सामान्य चुनौती पछ्याएको भैरहवाले २० ओभरमा २ बल बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । भैरहवाका लागि रायन टेन डोइस्च्याटले २० रन बनाए । कप्तान शरद भेषावकरले १६, रविइन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाएका थिए ।

बलिङतर्फ विराटनगरका रोइलोफ भान डेर मर्वेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाएको थियो । विराटनगरका अग्रपंत्तिका कुनै पनि ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । तीन रन हुँदा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको विराटनगरले त्यसपछि लगातार विकेट गुमाएको थियो । विराटनगरका लागि रोइलोफ भान डेर मर्वेले २५, करण केसीले १८ र सुमित महर्जनले १५ रन बनाएपनि अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका मोहम्मद नाभिदले चार ओभरमा १४ रन खर्चिएर चार विकेट लिए । त्यस्तै कृष्ण कार्की र अभिनास बोहराले समान २-२ विकेट लिएका थिए ।

लगातार तीन खेलमा जित हात पारेको भैरहवाले ६ अंक बनाउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । पहिलो खेलमा पोखरा राइनोजलाई चार विकेटले हराएको पोखराले दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको थियो । विराटनगरको भने यो पहिलो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment