Comments Add Comment

च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल समीकरण पूरा, यी हुन् नकआउट खेल्ने १६ क्लब

२७ मंसिर, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बिहीबार विहान समूह चरणको खेल सकिएसँगै अन्तिम १६ को छिनोफानो भएको हो ।

अन्तिम १६ को ड्र यही १७ डिसेम्बरमा हुदैछ । प्रिक्वाटरफाइनलका खेलहरु २०१९ को फेब्रुअरीदेखि मार्चसम्म हुने छन् । समुह चरणको खेल सकिँदासम्म थुप्रै अप्रत्याशित नतिजाहरु निस्किए । कुनै खेलमा बलियो प्रतिद्वन्द्वी भारी गोलअन्तरले पराजित भए भने कुनै टिमले नसोचेको जित हात पारे ।

क्लबहरुको प्रतिष्ठाको लडाईको रुपमा समेत हेरिने च्याम्पियन्स लिगको नकआउट चरणमा कुन–कुन समूहबाट कुन–कुन टिम पुगे त ?

समूह ‘ए’

विजेता– बोरुसिया डर्टमन्ड

समूह ‘ए’ बाट विजेता बन्दै जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भयो । यो अवधिमा डर्टमन्डले ६ खेलमध्ये चार खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार व्यहोर्दै १३ अंकसहित समूह विजेता बनेको हो ।

उपविजेता –एट्लेटिको मड्रिड

यसै समूहबाट उपविजेता बन्दै स्पेनिस क्लब एट्लेटिको मड्रिड पनि नकआउट चरणमा पुगेको छ । एट्लेटिको मड्रिडले ६ खेलमध्ये चार खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै १३ अंक नै हासिल गरेको थियो । एट्लेटिको र डर्टमन्डको अंक बराबरी भए पनि हेड टु हेडको आधारमा डर्टमन्ड अघि रहेको हो ।

समूह ‘बी’

विजेता–बार्सिलोना

च्याम्पियन्स लिगको उपाधि दाबेदार स्पेनिस क्लब बार्सिलोना आफ्नो अपराजित यात्रालाई कायमै राख्दै नकआउट चरणमा प्रवेश गर्‍यो । यसले एक खेल खेल्नुअघि नै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको थियो । ६ खेलमध्ये चारमा जित र दुईमा बराबरी खेल्दै १४ अंक बनाएर बार्सिलोना समूह विजेता बनेको छ ।

उपविजेता–टोटनह्याम

इंग्लिस क्लब टोटनह्यामले आफ्नो अन्तिम खेल बलियो प्रतिद्वन्द्वी बार्सिलोनासँग खेल्नु पर्ने थियो । उसलाई जित चाहिएको थियो । तर बार्सिलोनालाई बराबरी रोकेको खण्डमा र अर्को खेलमा इन्टर मिलानले पीएसभी इन्धोभेनसँग बराबरी मात्रै खेलेमा पनि टोटनह्यामको भाग्य चम्किने अवस्था थियो । तर बार्सिलोनासँग पहिलो लेगको खेलमा नै ४–२ गोलअन्तरले पराजित भएको टोटनह्यामलाई सजिलो थिएन ।

नभन्दै बार्सिलोनासँग उसैको मैदानमा टोटनह्यामले १–१ गोलको बराबरी खेल्यो । त्यस्तै, अर्को खेलमा उसलाई चाहिएजस्तै नतिजा आयो । हेड टु हेडमा इन्टर मिलानलाई पछि पार्दै उपविजेताको रुपमा टोटनह्याम नकआउट चरणमा प्रवेश गर्‍यो ।

टोटनह्यामले ६ खेलमध्ये दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै आठ अंक बनायो । यता, ६ खेलबाट २ खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै समान आठ अंक नै बनाएको इटालियन क्लब इन्टर मिलान भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह ‘सी’

विजेता– पेरिस सेन्ट जर्मेन (पीएसजी)

च्याम्पियन्स लिगको समूह ‘सी’ मा पनि अन्तिम खेल हुँदासम्म निकै प्रतिस्पर्धात्मक अवस्था देखियो । यो समूहबाट विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गर्ने टिमको टुंगो अन्तिम खेलले मात्रै छिनोफानो गरेको थियो ।

समूह चरणको अन्तिम खेलमा रेड स्टार बेल्ग्रेडलाई ४–१ गोलअन्तरले पराजित गरेसँगै फ्रान्सेली क्लब पीएसजी समूह ‘सी’ को विजेता बन्न पुग्यो । पीएसजीले खेलका ६ खेलमध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै ११ अंक बनाएर समूह अन्तिम १६ मा स्थान सुरक्षित बनाएको हो ।

उपविजेता– लिभरपुल

यो समूहबाट इंग्लिस क्लब लिभरपुललाई नकआउट चरणमा प्रवेश गर्न निकै संघर्ष गर्नु पर्‍यो । अन्तिम खेलमा तीन अंकले अग्रता बनाएको इटालियन क्लब नेपोलीलाई पराजित गर्नै पर्ने अवस्था थियो । यदि बराबरी तथा पराजित भएको खण्डमा लिभरपुल समूह चरणबाटै बाहिरिने निश्चित थियो ।

अन्तिम खेलमा नेपोलीलाई १–० गोलअन्तरले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ को ढोका खोल्न सक्योे ।

समूह ‘डी’

विजेता– एफसी पोर्टो

तुलनात्मक यो समूह निकै सजिलो समूहको रुपमा हेरिएको थियो । नतिजा पनि त्यही अनुसारको आयो । पोर्चुगाली क्लब एफसी पोर्टोले ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा बराबरी खेल्दै १६ अंक बनाएर नकआउट चरणमा सहज रुपमा प्रवेश गर्‍यो ।

उपविजेता– साल्के

यो समूहबाट उपविजेताको रुपमा साल्के नकआउट चरणमा पुग्यो । साल्केले समूह चरणमा खेलेका ६ खेलमध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै ११ अंक बनाउन सफल भयो ।

समूह ‘ई’

विजेता– बायर्न म्युनिख

समूह ‘ई’ बाट जर्मन क्लब बायर्न म्युनिख विजेता बन्दा नेदरल्यान्ड्सको अजाक्स उपविजेताका रुपमा च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

६ खेलबाट म्युनिखले चार खेलमा जित र दुई खेलमा बराबरी खेल्दै १४ अंक बनाएर समूह विजेता बनेको हो ।

उपविजेता–अजाक्स

त्यस्तै, अजाक्सले भने ६ खेलमध्ये तीन खेलमा जित र तीन खेलमा बराबरी खेल्दै १२ अंक बनाएर नकआउट चरणमा पुगेको हो ।

समूह ‘एफ’

विजेता– म्यान्चेस्टर सिटी

समूह ‘एफ’ को विजेताको रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई यो पटकको उपाधिको दाबेदारका रुपमा समेत लिइएको छ । समूह चरणका ६ खेलमा चार खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको सिटीले १३ अंक बनाउँदै समूह विजेता बनेको हो ।

उपविजेता– लियोन

फ्रान्सेली क्लब लियोन समूह चरणको अन्तिम खेलमा शख्तर डोनेटस्कसँग १–१ गोलको बराबरी खेल्दै नकआउट चरणमा पुग्यो । लियोनले ६ खेलमध्ये एकमा मात्रै जित र पाँच खेलमा बराबरी खेल्दै आठ अंक बनाएको थियो ।

जारी च्याम्पियन्स लिगको समूह चरणको खेलमा एक मात्रै जित हात पारे पनि अघिल्लो चरणमा पुग्ने लियोन मात्रै एक त्यस्तो टिम हो, जसले समूह चरणको कुनै खेल हारेन ।

समूह ‘जी’

विजेता– रियल मड्रिड

समूह ‘एफ’ बाट स्पेनिस क्लब रियल मड्रिड विजेता बन्दा उपविजेता भने इटालियन क्लब रोमा बन्यो ।

समूह चरणको अन्तिम खेलमा मस्कोसँग ३–० गोलअन्तरले पराजित भएको साविक विजेता रियल मड्रिडले १२ अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको हो । रियलले ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा हार ब्यहोरेको थियो ।

उपविजेता– रोमा

त्यस्तै, रोमाले समूह चरणका ६ खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै प्रिक्वाटरफाइनलसम्मको यात्रा पार गर्न सफल भएको छ ।

समूह ‘एच’

विजेता– युभेन्टस

समूह ‘एच’ बाट इटालियन क्लब युभेन्टस विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

यद्यपि रोचक पक्ष के रह्यो भने यी दुबै टिम समूह चरणका अन्तिम खेलमा पराजित भए । विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टस योङ ब्वाइजसँग २–१ गोलअन्तरले पराजित हुँदा म्यान्चेस्टर युनाइटेड पनि भ्यालेन्सियासँग २–१ गोलअन्तरले नै पराजित भएको थियो ।

युभेन्टसले ६ खेलबाट चार खेलमा जित र दुई खेलमा पराजय ब्यहोर्दै १२ अंक बनाएर समूह विजेता बनेको हो ।

उपविजेता– म्यान्चेस्टर युनाइटेड

यता, म्यानचेस्टर युनाइटेडले ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएर नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment