+
+
Shares

चितवन पुगेर प्रचण्डले भने : सबै बाटो पिच हुन्छन्, टेन्सन लिनुपर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १६:१५

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको सबै बाटो कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार भरतपुर महानगरपालिका २१ को भानु माध्यमिक विद्यालयमा आयोजित महायज्ञमा पुगेका प्रचण्डले ढिलोछिटो चितवनका सबै बाटो पिच (कालोपत्रे) गर्ने बताएका हुन् ।

‘बाटोहरु सबै पिच हुन्छन्, दुई चार दिन ढिलो छिटो होला, चितवनको एउटा पनि बाटो पिच भन्दा बाहिर रहन दिने छैन’ उनले भने ‘त्यतिमात्र होइन रिङरोड पनि बन्छ, तटबन्धसहितको रिङरोड बनाउन डीपीआर बनाउन पैसा छुट्याउने प्रक्रिया अघि बढिसकेको छ । थुप्रै बाटोका लागि रकम राख्दै गएको तपाईहरुले पाइहाल्नुभएको छ । तपाईंहरुले टेन्सन लिनुपर्दैन ।’

प्रचण्डले विकास निर्माणका रकम सदुपयोग भएको वा नभएकोबारे अनुगमन गर्न भने चितवनबासीलाई आग्रह गरे । ‘तपाईंहरुले टेण्डर भएको रकमको सही सदुपयोग गर्न तलबाट बलचाहिँ गर्नुपर्छ । कतिपय कुरा तलबाट पनि बिग्रियो भन्ने सुनेको छु विगतमा, भविष्यमा त्यतातिर पनि हाम्रो ध्यान जान जरुरी छ ।’

निर्वाचित भएपछि आफू धेरै चितवन आइरहेको देखेर काठमाडौंमा चर्चा हुने गरेको पनि प्रचण्डले बताए । ‘ मैले हेर्दा त तपाईहरुसँग अन्तरसंवाद, छलफल, तपाईंहरुको दुखसुखमा धेरै साथ दिन त सकेको छैन’ उनले भने ‘काठमाडौंका अरु पार्टी र नेताले हेर्दा प्रचण्डले चितवनबाहेक अन्त हेर्दैन कि भन्नेजस्तो भइसकेको छ । तपाईंहरुले यो कुरा पनि बुझिदिनुहोला ।’

प्रचण्डले आफूले एक वर्षमा गरेको कामको रफ्तारले अर्को पटक चुनावमा आउँदा धुलामैलो खानु नपरोस् भन्ने आग्रह पनि गरे । ‘अर्को पटक निर्वाचनमा आउँदा धुलोमैलो खान नपारोस्, पोहोरको जस्तो तपाईहरुले बाटामा उभिएर दुख भोग्नुभयो । मैले समेत धुलोमैलो खाएँ’ उनले भने ‘अर्कोपटक त्यस्तो नहोस्, स्वस्थ ढंगले, रचनात्मक ढंगले प्रतिस्पर्धा गर्न पाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?