Comments Add Comment

एनजीओसँग ‘तालिम’ लिँदै गाउँको सिंहदरबार !

७ पुस, डोटी । नयाँ संविधानले स्थानीय तहका जनप्रतिनिधिलाई ‘सरकार’ का रुपमा स्थापित गरेको छ । तर, सरकारका प्रतिनिधिहरु नै गैरसरकारी संस्थाका कर्मचारीसँग ‘तालिम’ लिँदै र ‘केही जानिएन’ भन्ने गुनासो पोख्दै हिँड्न थालेका छन्  । जनताबाट निर्वाचित जनतिनिधिलाई एनजीओकर्मीहरुले सिकाउँदै हिँड्ने समस्या स्थानीय तहमा बढ्न थालेको छ ।

डोटीको शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलले एउटा एनजीओको कार्यक्रममा भनिन्- ‘म न्यायिक समितिकी संयोजक हुँ, तर मलाई न्यायिक समितिको कार्य प्रक्रियाबारे अहिले पनि थाहा छैन । उजुरी आउँछन्, अलमलमा पर्छु । एउटै उजुरी किनारा लगाउन धेरै समय लाग्छ ।’

कानुनी ज्ञानको अभाव र कार्य प्रक्रिया राम्रोसंग नबुझ्दा काम गर्न निकै समस्या भएको रावलले बताइन् । उनले थपिन् ‘जनताले प्रतिनिधि भनेर त पठाए, तर प्रतिनिधिले गर्नुपर्ने कामवारे कसैले जानकारी गराएन ।’

रावल वर्तमान राजनीतिक व्यवस्था र कानुनी प्रक्रियाबारे जनप्रतिनिधिहरुका साथसाथै स्थानीय समाजसेवी बुद्धिजीवीहरुलाई पनि तालिम दिनुपर्ने बताइन् ।

दिपायल सिलगढी नगर कार्यपालिका सदस्य हिरा मलासी भन्छिन्- ‘निर्वाचित भएको डेढ बर्ष भइसक्यो तर हामीले के-के काम गर्नुपर्छ भन्नेबारे अझै अन्योल छ ।’

मलासी स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई राखेर महिला जनप्रतिनिधिहरुको काम, कर्तव्य र जिम्मेवारीका विषयमा ज्ञान दिनुपर्ने बताउँछिन् ।

हिराको जस्तै विचार छ दिपायल सिलगढी नगर कार्यपालिका सदस्य दीपा श्रेष्ठको पनि । उनी भन्छिन् ‘हामीले वडा तहमा पनि आफ्नो उपस्थिति देखाउन सकेका छैनौं ।’

महिला जनप्रतिनिधिहरुले पुरुषजस्तै खुलेर काम गर्न नसकेको दीपाको भनाइ छ । उनी भन्छिन् ‘कतै जान थाल्यो घरबाट रोक्ने, साँझ अलि ढीलो भयो, कहाँ के भनेर खोजी गर्ने हाम्रो समाजमा महिलाहरु जनप्रतिनिधि भएर मात्रै केही हुँदोरहेनछ ।’

महिला जनप्रतिनिधिहरु अहिले पनि पुरुषको इसारामा हिँड्नुपर्ने बाध्यता रहेको दिपायल सिलगढी नगर प्रमुख मञ्जु मलासी बताउँछिन् । ‘अहिले जनप्रतिनिधि महिलाहरु नै हिंसामा पर्नुपर्ने अवस्था आएको छ’ नगर प्रमुख मलासीले भनिन् ‘चेतनाको कमीका कारण महिला जनप्रतिनिधिको परिवारबाट उनीहरुमाथि अनेक हिंसा हुने गरेको छ ।’

मलासीले परिवारका अन्य महिलाहरुबाट नै महिला जनप्रतिनिधिहरुमाथि दबाव आइरहेको गुनासो पोखिन् । आफू नगर प्रमुख भएको डेढ बर्षसम्म कुनै वडाबाट पनि महिला नेतृत्व विकासका लागि कार्यक्रम नआएको बताउँदै उनले भनिन् ‘महिलाहरुले आफ्नो उपस्थिति देखाउन सकिरहेका छैनन् ।

एनजीओ र आइएनजीओले आयोजना गरेको ‘महिला जनप्रतिनिधिहरुको नेतृत्व प्रवर्द्धन’ लागि ‘हाम्रो नेतृत्व’ कार्यक्रमको सुरुवाती बैठकमा उपस्थित अधिकांश महिला जनप्रतिनिधिहरुले यस्ता गुनासाहरु पोखेका हुन् ।

जिसस उपप्रमुख भन्छिन्- राजनीति नबुझेका जनप्रितिनिधिबाट समस्या

दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र बडीकेदार गाउँपालिकामा सञ्चालन हुन लागेको यो गैर सरकारी संस्थाको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सशी सोवले राजनीतिक दलहरुले टिकट दिँदा सक्रिय राजनीतिमा लागेका महिलाहरु भन्दा बाहिरबाट छोपेर उम्मेदवार बनाएका कारण पनि यस्तो समस्या आएको बताइन् ।

‘राजनीति गरेका महिलाहरुले केही प्रक्रिया बुझेका थिए’ उपप्रमुख सोवले भनिन् ‘तर दलहरुले चुनाव जित्नुपर्ने सोचका साथ भूगोल, जात, समुदाय हेरेर उम्मेद्वार बनाउनु पर्ने अवस्था आयो ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले महिलाहरुले तालिममा भत्ताका लागि मात्रै सहभागी नभई आफ्नो क्षमता बढाउनका लागि सक्रिय सहभागी हुनुपर्ने बताए ।

‘धेरै जनप्रतिनिधि दिदिबहिनीहरुले धेरै प्रकारका तालिम लिनुभएको छ’ प्रमुख ऐरले भने ‘तर ती तालिमहरुमा भत्ता बुझ्नका लागि मात्रै सहभागी भएको जस्तो भयो ।’

जनताले चुनेर पठाएका जनतिनिधिहरुलाई फाया नेपाल नामक एनजीओका कार्यक्रम निर्देशक धर्मराज पाठक र ‘हाम्रो नेतृत्व’ कार्यक्रमका संयोजक सच्चिदानन्द जोशीले एकै ठाउँमा भेला गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment