Comments Add Comment

नियात्राः गाढा अँध्यारोमा मौन आतङ्क

आँगनमा ओर्लनै पाएकी थिइनन् मिर्मिरे । हेर्दाहेर्दै पुरै हिउँका श्वेत वस्त्रले ढाकियो तिम्रो बक्ष । सिमकोटमा म उभिएको थिएँ । चारैतिरबाट क्वारक्वारती हेर्नथाले मलाई चाँदीका पर्खालहरुले । एकरातमै तिम्रो सर्बाङ्ग हिममय हुनु मेरो लागि चमत्कार थियो । तिम्रो हिमज्योतिको अँगालोमा बेरिंदा मैले जिन्दगीलाई अझ जिम्मेदार र अझ उज्यालो देख्न थालिरहेछु ।

रातसँगै च्यातिएछन् आलस्य र निद्रा । आँखाको पहिलो स्पर्शमा फरक समय उदायो बिहानी रङ्गमा । चाँदीका बस्त्रहरु चाँदीका पटुकी र चाँदीले टमक्क टालिएको तिम्रो स्वरुप भित्र धेरै बुनें मैले जिन्दगीका जमराहरु ।

जित्नेहरुका लागि हो जिन्दगी । हार्नेहरु लखेटिन्छन् जिन्दगीबाट ।

मेरो साथमै पुगेका महेश भाइले तिम्रो हरक थेग्न सकेनन् । पुगेको पाँच दिन सम्म हल्का महसूस गर्न सकेनन् उनले । म तिम्रो, महकमा मात्तिएको छु, भाइ तिम्रो हरकमा आत्तिएका छन् । तिम्रो सुगन्ध र सप्तरङ्गमा मात लागेको छ मलाई, तिम्रो सुगन्ध नै गन्ध सावित भइरहेछ कसैलाई । तिम्रा उचाईहरु कसैको लागि पीडा र कसैको लागि बरदान हुने रै’छन् । पाँचदिनमा बिचरा भाइको दुईपटक नाथ्री फुट्यो । टाउको दुख्ने र वाकवाक लाग्ने त भइरहयो निरन्तर ।

अघिल्लो साँझ भाइ र म पाउबाडाको उकालो चढ्दै थियौं । ‘सर मेरो सबै शरीर नीलो भयो’- एउटा कम्पन निस्कियो महेश भाइबाट । हेर्छु, सबबै शरीर सर्पले डसेझैं नीलो छ । बोलीमा हडबडाहट छ । तुरुन्तै भाइलाई अस्पताल लगें । डा. सर्बेस शर्माले भन्नुभयो- ‘अल्टिच्युडको शिकारमा पर्नुभयो भाइ । तुरुन्त हुम्लाबाट फर्काउनुपर्छ, अन्यथा गाह्रो पर्न सक्छ ।’

अक्सिजन दिइयो । भाइ अलि ठीक त बने तर कुनै पनि बेला फेरि लेक लाग्न सक्ने डाक्टरको भनाइले तर्साइरह्यो । प्रमुख जिल्ला अधिकारीलाई विषयको गम्भिरता जानकारी गराएँ । उहाँले सबैेरै मगाइदिनुभयो हेलिकप्टर । नेपालगन्ज ओर्लने बित्तिकै शरीर पुरै शान्त, खुशी र हल्का महसूस गरें । ‘मृत्युको मुखबाट बाहिरिएँ सर’, एउटा उत्साह र जीवनोदयको उज्यालो पोखे भाइले नेपालगंजबाट फोनमा । उचाईमाथि उभिएर सारा शिखरहरुलाई जित्नु पर्छ भनिरहेछु म ।

हार नखाएसम्म फैलिरहन्छ पारिलो घाम जीवनमा ।

‘हजुर म रणशुर गुल्म, रानीवनको मेजर दिनेश रजौरे । हामी खार्पुनाथ जाँदैछौं । हजुरको पनि फुर्सद छ भने सँगै जाउँ ?’ एउटा विनम्र निम्ता आएको थियो अघिल्लो दिनमै । यात्रा, खरिद र भेटघाट गर्ने मौका छुटायो भने पछुताउ पर्छ अन्तत्वगत्वा । त्यसैले छुटाउनु हुँदैन यो मौका । स्वीकृतिको सङ्केत सम्पे्रषण गरें मैले दिनेशजीलाई । बिहानको कलिलो उज्यालोमै टुप्लुक्किनु भयो मेजर मेरो अघिल्तिर ।

‘एउटा बन्दोबस्ती टोली खार्पुनाथ पठाईसकेको छु, विस्तारै जाउँ हजुर, हतारले थकाउँन सक्छ शरीरलाई’, सैनिक अनुशासनलाई अदवपूर्वक प्रस्तुत गर्नुभयो मेजरले ।

हुम्ला पुगेदेखिनै धेरैको मुखबाट सुन्दैथिएँ म खार्पुनाथ ।

राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत उत्तम खनाल, सुवेदार जनक के.सी. र हुम्लाका पत्रकार जयबहादुर रोकाया पनि पर्खिरहनुभएको रहेछ ।

खार्पुनाथ हुम्लाको एउटा चल्तिको तीर्थस्थल । कर्णा ली नदी किनारमा प्रतिष्ठापित हिन्दुहरुको एउटा आस्थाबिम्ब । समुद्र सतहबाट सिमकोटको उचाई नौ हजार पाँचसय फिट । खार्पुनाथ त्यस्तै चार हजार फिटको उचाईमा । सधैं शिखरमा बसिरहँदा कहिले काहिं रहर हुँदोरहेछ । फेदीका मान्छेहरु चुचुुरालाई शाहससँग साँध्न चाहन्छन् । शिखरका बिजेताहरु फैलिन चाहन्छन् समथरमा पनि । समथरको स्वप्निल सौन्दर्यलाई शिखरको सोलोडोलोसम्म मिलाउन हामी ओरालो झरिरहेछौं । ओरालो झरेपछि मात्र अवगत हुँदोरहेछ उचाईको उज्जरता ।

रेखाहरु बाटो बनेका देखिन्छन् पहाडका पटुकी जस्तै । हामी रेखामाथि हिंडिरहेका लेडिवर्ड बनिरहेछौं । सिमकोटको पूर्वतिर छ शिवमन्दिर । शिवमन्दिरको पूर्वतिर भीरमा टुक्रुक्क बसेको छ बुराउँसे गाउँ । अलि तल भीरमै माहुरीको गोलाझैं गुटुमुटु परेको छ हेल्दुङ्ग गाउँ । नजिकै बगिरहेछ हेल्दुङ्ग नदी । नदीभन्दा पारिपट्ट िहरियो पाखो छ, बाँदर लड्ला जस्तो भिरालो तर, हरियो गलैंचा बिछ्याएजस्तो सुन्दर । त्यही पाखोको माझतिर पटुकी बाँधेजस्ता दुईवटा रेखा । ठेहे गाउँ समात्दा रहेछन् ती रेखाहरुले । तल हुम्ला कणर्ाली कुलुलु बगिरहेको । भर्खर फक्रन लागेका कमलफूलका कोपिला जस्ता पाँच चुचुरा बोकिरहेका पञ्चमुखी हिमालहरु ।

हिंडाईमा तन्मयता उब्जिरहेछ । पर परसम्म फैलिरहेछन् मनका स्वप्निल बिरुवाहरु ।

एकघण्टा झरेपछि पूर्वपट्टी पहाडको फेदीमा सात आठ घर भएको सुन्दर गाउँ देखियो- स्याम्ने । हेल्दुङ्ग खोलाको गीत र गतिको स्पर्शमा मख्ख छ स्याम्ने । टाढाबाट देख्दा फुस्रा खण्डहर जस्तो लाग्ने हुम्ली शैलीका घरहरु जागिरहेछन् खोंचमा । तलतिरबाट आउने र सिमकोटबाट र्फकनेहरुको बिसौनीपनि रहेछ स्याम्ने । हातमा कुखुरा, पिठ्यौमा भारी र साना बच्चा र अर्को हातमा बोको डोर्‍याएर सिमकोट हिंडेका एकहुल भेटिए त्यहीं ।

बिसौनी त रोकावट होइन यात्राको, थकाई छोड्ने र उर्जा उमार्ने स्यानो सङ्गम रहेछ । स्याम्नेमा सुस्ताउँदा त्यही सोचें मैले ।

हेल्दुङ्ग खोलामा हात चोबें । हिउँको लेदो बग्दै आएझैं चिसो थियो । खोलाले थाम्नै नसक्ने बल ब्युँतिरहेथ्यो पानीमा । रगत जम्ला जस्तो भयो हातको । अलितल ओर्लेको त्यही पानीमा एउटी बहिनी मज्जासँग जिउ माडेर नुहाइरहेकी थिइन् ।

‘पानीले टोक्ला नि’ मैले भनें ।

‘किन टोक्नु पानीले ?’ बहिनी ।

‘चिसो भएर’ मेरो जवाफ ।

‘चिसोमा नुहाए पो तातो हुन्छ, अनि पो चढ्न सकिन्छ डाँडाकाँडा । तपाईंहरु तातोपानीमा नुहाउँनु हुन्छ अनि डाँडा चढ्दा गर्न थाल्नुहुन्छ स्याँ स्याँ’, पारी भीरबाट ओर्लदा हाम्रा तिघ्रा लगलग कामेको देखिसकेकी रहिछिन् बहिनीले ।

हिउँबाट अग्नी निकाल्ने सूत्र छ गाउँलेहरुसँग । पानी भित्रबाट पाहार निकाल्ने तागत छ गाउँलेहरुसँग ।

हेल्दुङ्गको समानान्तरमा बगिरह्यौं हामी पनि । ओरालो ओर्लन सजिलो त हो तर भकुण्डोझैं गुडेको शरीर भेट्नै मुस्किल पर्ला कि भन्ने डर बढिरहेथ्यो । बढी उचाईबाट कम उचाईतिर ओर्लंदा बढिरहेथ्यो तापको मात्रा । पाइलाहरु भन्दा छिटो कुदिरह्यो उत्सुकता भीर र खोंचहरु नाघ्दै ।

पुरुषहरुले दौरा सुरुवाल लगाएका थिए । कालो दौरा सुरुवालमा सयभन्दा बढी टाला थिए । सिलाएदेखि नधोएझैं तिनका कपडाहरुमा काति जमेझैं च्यापच्याप्ती थिए । पुरुषहरुले भारी बोकेका थिए र एक एक ओटा बोका डोर्‍याएका थिए । महिलाहरुको पहिरन अझ विशेष खालको थियो । चोलो, फरिया र स्पोर्टसुज लगाएका थिए । तर तिनीहरुको परिधान कतै पनि सग्लो थिएन । टम्म मिल्नेगरी बुनेको पोतेमाला, पहेंलो, रातो र नीलो रङ्गका पोतेका ठूला ठूला झुत्ता, घाँटीमा खगालो त्यसमाथि रुपैयाँको सिक्का लहरै उनिएको ठूली कम्पनी माला र चवन्नी उनिएको सुकीमालाले बक्षस्थल पुरै ढाकिएको थियो । त्यतिमात्र हो र कानमा चक्री, नाकमा घुणी दुवै खुट्टाको गोलिगाँठामा बढेमाका सेलजत्रा चाँदीका कल्ली, चुल्ठोमाथि तीनवटा चाँदीका सिक्का जोडेर बनाइएको काँटाले झकिझकाउ ।

‘हुम्लीहरु लाहुरबाट र्फकंदा गहना बाहेक केही ल्याउँदैनन् । घरमा खाने गेडा नभएपनि गहनाले छापिन मख्ख पर्छन् महिलाहरु’, गहनाको रहस्य अथ्र्याउनु हुन्छ जयबहादुरजी ।

भारी बोकेका छन्, साना नानीहरु भारीमाथि बोकेका छन्, त्यसमाथि त्यतिविघ्न गहनाहरु । गहना त छ, न त्यसको सफाई, न नुहाई धुवाई, जन्मेदेखि सिँगान नपुछेका जस्ता बच्चाहरु, आँखामा चिप्रै चिप्रा सबैैका । एउटा बच्चा पाँचदिनदेखी पखलाले लखतरान परेको रहेछ । तिनीहरु घरको अन्न र बोका सिमकोटमा बेचेर नून किन्ने सुरमा हिंडेका रहेछन् । ‘नून पाईंदैन, एक महिना भैसक्यो अलिनु खाएको’, ती मध्ये सिखटे दाइले आˆ्नो पीडा ओकले । साँच्चै कस्ती छ्यौ हगि हुम्ला तिमी ।

एक ढिका नून नपाएर तड्पिरहिछ्यौ तिमी । उता राजधानीका होटलहरुमा दिनहुँ सभा सम्मेलनको बहानामा लञ्च, डिनर र पार्टी मनाउनमै ब्यस्त छ राज्य । राज्य विदेशीले प्रायोजन गरेको रोडम्यापका शब्दहरु घोक्नमै व्यस्त छ । तिम्रातिर नून र औषधि नपुगेको के थाहा छ र उसलाई ।

यात्रामा भेटिएकाहरुसँग धेरैकुरा सोधखोज गर्ने पक्षमा हुन्छु म सधैं । सोधखोजले नजिक भइन्छ स्थानीयताको । उनीहरुसँग पनि मैले धेरै कुरा सोधें । बताउन त्यति चाहेनन् । जयबहादुरजीले हुम्ली भाषामै कुरा गरेपछि अलि खुले उनीहरु ।

‘यिनीहरुलेनै हुन हाम्रो पुल भत्काएका ?’

‘यिनीहरुले होइन, यी त सरकारी मान्छे हुन् ।’

‘ए हामीले त माओवादी ठानेको यिनीहरुलाई । बोल्यो भने हामीलाई पनि युद्धमा जाउँ भन्लान् भनेर तर्किएको हामी’ ।

जयबहादुर र उनीहरुबीच भएको कुराकानी नेपाली भाषामा बुझेपछि पो उनीहरु हामीसँग टाढिन खोजेको रहस्य खुल्यो । खार्पुनाथबाट छिप्रा जाने कणर्ाली पुल द्वन्दको क्रममा भत्काइएको रहेछ । त्यसले बेस्सरी रिसाएका रहेछन् गाउँलेहरु माओवादीसँग । ‘जे भएपनि पुल त भत्काउन हुन्थेन नि । काँडो समेत नउम्रने कणर्ालीमा त्यत्रो मेहनतले बल्ल बनेको पुल भत्काइदिनेको पनि भलो नहोस् । अचेल यी यस्ता केटाकेटी र भारी बोकेर तारमा झुण्डेर तर्नु परेको छ कणर्ाली । कति गाउँले कणर्ालीमा हेलिएरै मरिसके । पुल भत्काउनेले सोच्नु पर्दैन त्यो । राजनीति गर्नेले त जनतालाई दुःख दिने होइन नि । झन् तिनीहरुलाईनै वास दिनु पर्छ हामी गाउँलेहरुले । घरमा भएको खोलेपानी पनि खोसेर खाइदिन्छन् । फेरि  सिपाही आउँछ । माओवादीलाई बास दिएको भनेर हामीलाईनै भकुर्छ । यस्तो पखेरामापनि चरा जसरी बाँच्न पाइएन’, हामी सरकारी मान्छे भन्ने थाहा पाएपछि मनका बह पोखे दाइले ।

‘म पनि सिपाही हुँ, अब त्यस्तो हुन दिंदैनौ है त’, मेजर दिनेशले आश्वासन दिनुभयो ।

‘लौ है सिपाही बाबु हामीलाई सन्तोषको श्वास फेरेर बाँच्न मिल्ने बनाइदेऊ’, उनीहरुले एकै स्वरमा भने ।

गाउँलेहरु माथितिर लागे । ओरालो लाग्ने क्रम जारी थियो हाम्रो । उत्तिस ढपक्कै उभिएका थिए त्यतातिर । भाँगोघारी फाँड्दै हिंडिरह्यौं हामी बाटोमा । पाखाभरी राता नीला फूलहरुले ढाकेका थिए । भाँगोको चोप हातमा च्याटच्याटी लगाउँदै, चरेस संकलन गर्नेहरु प्रशस्तै देखिए । हामीलाई देखेपछि समात्लान् भन्ने डरले रुखमा छेको लाग्थे । चरेसलाई स्थानीय भाषामा अत्तर भनिदो रहेछ । हुम्लाको अत्तर छिमेकी मुलुकहरुमा बेचेर मालामाल बन्ने गिरोह पनि बाक्लै छ भन्ने बुझियो रोकायाजीबाट ।

‘कता गएर आया हुन् ?’ हाम्रो अघिपछि आएका सत्तरी बहत्तर वर्षे एक बूढालाई सोधें मैले ।

बूढा दाइको पिठ्यौमा हल्का भारी थियो । दाह्री जुँगाले अनुहार सुकेको खरले ढाकेको तारेभीर बनेको थियो । हातमा एउटा लठ्ठी थियो । खुट्टामा औंलाजति पुरै देखिने चाइनिज जुत्ता ।

‘सिमकोट’, छोटो जवाफ दिए दाइले । उनले हुम्ली खस भाषामा बोलेकाले बुझ्न गाह्रो भइरहेको थियो मलाई । दाइ  लत्ता कपडा खरिद गर्न सिमकोट गएका रहेछन् । अघिल्लो साँझ त्यतै बसेका रहेछन् । सिमकोटमा स्वास्थ्य शिविर चलेकोले आँखा पनि जँचाएछन् । ‘गाउँ बाहेक कता पुग्नु भएको छ ?’ मैले सोधें ।

‘सिमकोट बाहेक अन्त छैन ।’ दाइले जवाफ दिए ।

के देख्यौ त सिमकोटमा ? रोकायाजीको प्रश्न ।

“टि.भि. देख्यौं नि”, बूढादाइमा असाध्यै उमङ्ग रहेछ टेलिभिजन देख्न पाएकोमा । सिमकोटमा दुई महिना अघि बिजुली बत्ति बलेको र एकमहिना अघि मोवाइल सेवा सुरु भएकोले धेरै हुम्लीको लागि टेलिभिजन र सेलफोन अचम्मको वस्तु भइरहेथ्यो । सिमकोटबाट दुईदिन पैदल हिंडेपछि पुगिने राया गाउँका दलगिरी रावल रहेछन् उनी ।

सत्तरी वर्षे उमेरमा दाइको जिन्दगीमा अघिल्लोदिन अचम्मको घटना घटेको थियो । ‘हैन टि.भि. भनेको त अचम्मै र’ैछ’- दाइले हुम्ली भाषामा बोले । रोकायाजीले त्यसलाई अथ्र्याउनु भयो । ‘के के देख्नुभयो त टि.भि. मा ?’ मैले सोधें । ‘देखे’नि प्रचण्ड देखें, सीता देखें, रामलक्ष्मण देखें, रावण देखें’- बूढाले भन्दै गए । ‘जिन्दगीमा राम लक्ष्मण, रावण भन्ने सुनेको थिएँ, त्यस्ता भगवानको दर्शन पाउँला भन्ने लागेको थिएन । हैन कति राम्रा रहेछन् राम र सीता ! भगवान भनेको भगवाननै हो रहेछन्, मैले त पाती चढाएर पूजा गरें तिनीहरुलाई । मैले हेरुञ्जेल बिचरी सीता रोइरहिन् , रावण बेसरी कराइरह्यो । कसरी अटाउन सकेका होलान् त्यति धेरै भगवानहरु त्यति सानो टि.भि.मा’, बूढा दङ्गदास परे ।

अनि प्रचण्ड कस्तो लाग्यो त ? रोकायाजीले बूढालाई खोतल्न खोज्नुभयो । रोकायाजी पत्रकार भएकाले कसरी अरुको मनको कुरा खोतल्ने राम्ररी थाहा थियो ।

‘प्रचण्ड त भ्यालै रहेछन्’, बूढा थोते दाँत देखाएर हाँसे ।

‘प्रचण्ड त प्रधानमन्त्री छन् । नयाँ सरकार आएको छ । कस्तो लाग्या छ त तपाईलाई ?’ रोकायाजीले पत्रकार शैलीमा प्रश्न तेस्र्याउनुभयो ।

‘जो भया पनि क्या हुन्छ र ? आˆ्नो दुःख आफैंलाई छन् । यी यस्तो तुइनमा त पैसा खान्छन् । ‘पुरालेकी दश ओरालेकी दश छ । अनि सरकार भएर के, दुःखीलाई झन् दुःख । दलगिरि दाइको गाउँमाझ जान कणर्ाली नदी तर्नुपर्ने रहेछ । नदी माथि तारमा रहेको एउटा कोक्रोलाई वारि तान्ने भए वारिकाले पारि जाने भए पारिकाले तान्नु पर्ने रहेछ र मान्छेलाई वारपार गराउनुपर्ने रहेछ । नेता र राजनीतिसँग भने असाध्यै रिस उठेको रहेछ दाइलाई । ‘हामी जस्ताको तस्तै छौं, सरकार जहाँको तहिं छ, अनि के मतलव हामीलाई सरकारको’, दाइले मनका कुरा खोले, ‘तर, प्रचण्ड हेर्दा त राम्रो मान्छे लाग्छ, किन मार्न लगाएको होला मान्छे ?’, बूढाले प्रश्न पनि गरे हामीसँग । “हाम्रोतिर जाने हो ? खुर्सानी ढिंडा जो मिल्छ सो लडकाउँला’, दाइको पवित्र आत्मा बोल्यो ।

‘हैन, पछि आउँला ।’ हामी बोल्यौं ।

दाइ तुइन चढ्न थाले । हामी अघि बढ्यौं ।

आफन्त ठानेपछि गाउँलेहरु हृवात्तै खुलिहाल्छन् । उनीहरुको सुधोपन सामु कुनै पर्दा र पर्खाललेकाम गर्दैन ।

हाम्रा पाइला खार्पुनाथ अघि रोकिंदा घाम हामै्र टाउको मास्तिर थियो ।

खार्पुनाथ मन्दिर अगाडिको स्यानो बगरमा बन्दोबस्ती टोलीका पाँच जना सैनिक भाइहरु खानेकुरा पकाइरहेका थिए ।

‘ए भाइ हो खाना तयार भो ?’ मेजर रजौरेले सोध्नुभयो ।

‘हुँदैछ सा’ब’, तनक्क तन्केर जमदारले जवाफ दिए ।

कणर्ाली किनारमा खानपानको बन्दोबस्त गरिरहेछ बन्दोबस्त टोलीले । हामी पुगेपछि जन्ती भित्रिएको दूलहीको घर जस्तो हतारो छ सैनिक भाइहरुलाई । कणर्ाली किनारको चौरमा कार्पेट र राडी ओछ्याइएको छ । कुर्सीहरु छन् । खाने, पिउने सामान र भाँडाकुँडाको अभाव छैन । भाइहरु छिनमा काँक्रो, छिनमा अण्डा टोस्ट, छिनमा रोटी र मह, छिनमा चिया खुवाइरहन्छन् हामीलाई । उनीहरुमा अदव छ, अनुशासन छ । उनीहरुले प्रस्तुत गरेको अतिथ्यले मेटिन्छ सबै थकाई हाम्रो । मलाई त दरी छोडेर चौरमै पल्टिन र प्राकृतिक सौन्दर्य पिएर रमरमी बन्न मन लाग्यो । त्यसै गरें मैले ।

‘फूर्सदै छ, केहीबेर घुमु कि ?’ मेरो आग्रह ।

‘हुन्छ जाऊ न त’, सबैको सहमति ।

हामी दोज्याम खोलालाई दायाँ पारेर पाँच मिनेट अघि बढ्यौं । एउटा नाम मात्रको वस्ती रहेछ त्यहाँ – खार्पुनाथ । जम्मा चार टहरा थिए । आँगनमा एक अधबैंसे कपडा सिलाउँदै थिए । बेला बेलामा एउटी अधबैंसे उनको अघिल्तिर मासु र जाँड राखिदिंदैथिन् । दुवैले खान्थे । कपडा सिलाउँथे र मरिमरि हाँस्थे । तिनीहरुको जिन्दगी दोज्याम खोलाझैं सफा र आनन्दी लाग्दै थियो- आफ्नै गतिमा बढिरहेको । सँगै अर्को एउटा होटल थियो । त्यो रोकायाजीको मितभाइको रहेछ । ‘दाइ खाना यही खाई जान्या हो ?’ भेट्ने वित्तिकै ती अधबैंसे हौसिए ।

‘हुन्छ नि, हामी धेरै छौं’, रोकायाजीको ठट्यौलीपन देखियो ।

‘बरु हिमाली जूस छ भने खान्या हो सर, हिमाली जुस खाने ? साह्रै शीतल पो गर्छ ?’ रोकायाजीले एकैपटक भाइ र मलाई पकड्नुभयो ।

‘के जडिबूटीको हो र ?’ मैले सोधें ।

‘हो, हो, हिमाली जडिबूटीको रस’, रोकायाजी, उत्तमजी र पसलमा रहेका सबैैबाट हाँसो फैलियो ।

‘हुन्छ खाउँन त’, मैले सहमति दर्शाएँ ।

ती भाइले गिलास भरि भरि खैरो लेदी ल्याए । हेरें । बिग्रेको दहीमा उसिनेको गहुँ मिसाएझैं देखियो । मलाई घिन लाग्यो ।

‘के हो यो यस्तो पनि जूस हुन्छ, म त खान्न’, मेरो जवाफले हाँसो नाघ्यो दोज्यामको पल्लो किनार ।

‘यो त उवाको जाँड पो हो, सरलाई थाहा होला भनेर हिमाली जूस भनेको’, तन्काउनु भयो मित्रहरुले ।

मैले र मेजरले मात्र लिएनौ ।

हामी बसेकै अघिल्तिर नौ केटाहरु तास खेलिरहेका थिए । तास त के खेल्थे, सबैै हिमाली जूसमा माछा चिप्लेझैं तास तानातान गर्दै थिए ।

रोकायाजी र खनालजी हिमाली जूसमा मस्त बन्नुभएको थियो । मेजर दिनेश र म ती चर्तिकला देख्दैमा मुग्ध बनिरहेथ्यौं ।

दुईतिर आकाशै ढाक्ने पहाडहरुका बीचमा दोज्यामको किनारमा त्यसरीनै बाँच्दोरहेछ खार्पुनाथ बजार । आकाश छेक्ने अग्लो पहाडमाथि एकातिर ठेहे गाउँ र अर्कोतिर याङ्चु गाउँहरु पर्दारहेछन् । तर, ती दुवै गाउँ देखिदैनन् खार्पुनाथ बजारबाट । देखिन्छन् त केबल दुवैतिर बाँदर लड्ने अग्ला चट्टाने पहाड । पहाडको भिरालो भागमा चरिरहेछन् घोडा, खच्चर र गधाहरु । बाटोनै नदेखिने पहराबाट उकालो ओरालो गरिरहेका मान्छेहरु । जस्तोसुकै अप्ठ्यारोमा पनि मान्छेहरु आनन्द लिइरहेछन्, रमाईरहेछन्, तर जिन्दगी कहाँसम्म पुग्ने हो उनीहरु, कुनै लक्ष्य छैन जस्तो लाग्छ ।

बजारको अलि अगाडि दोज्याम खोलामाथि एउटा तुइन तारमा झोलुङ्गो ओहोरदोहोर गरिरहेथ्यो । दिनेशजी र म तुइनको नजिक गयौं र तस्विरमा कैद भयौं । दुईवटी अधवैंसे पिठ्यौमा भारी बोकेर बच्चा हिंडाउँदै आइपुगे ।

भोकले बेस्सरी हुँडलियो पेट । हामी फक्र्यौं खार्पुनाथ मन्दिर । सैनिक भाइहरुले साह्रै मीठोसँग खाना खुवाए । रणशुर गुल्म रानीवनमै फलेको फर्सी, साग र त्यहीं तयार गरेको गुन्द्रुकको परिकार बिर्सिनसक्नु थियो । भोकको बेलामा तातो गुन्द्रुकको झोल र भात । पेट भरिसक्ता पनि मनले मागिरहेथ्यो । भोको जुकाले भैंसी भेटेजस्तो गर्‍यौं हामीले । मेरोलागि दही, दूध समेत जुटाउन लगाउनु भएछ मेजर दिनेशले । भान्छे भाइहरु फूर्तिला, लायकी र आज्ञाकारी थिए ।

सेना वास्तवमा अनुशासनमा चलेको हुन्छ । सेनाबाट अनुशासन झिकिदिने हो भने त्यो विनाशको जग बन्छ । मेजर दिनेश पनि असाध्यै पुखला, मिलनसार र आफूभन्दा तलकाको असाध्यै हेरबिचार पुर्‍याउने खालको हुनुहुँदोरहेछ । ती भाइहरु मेजरलाई अभिभावक मानिरहेथे ।

नीलो आकाश सेता हिमालहरु र हरिया पहाडहरु हुँदै ओर्लिएको छ खार्पुनाथमा । जताततै हरियाली फैलिरहेछ । पर पर डाँडाहरुमा गाई वस्तुहरु चरिरहेछन् । धेरै समय आँखा घुमाएपछि मात्र कतै कतै छायाँ जस्तै देखिन्छन् मान्छेहरु । अनवरत मूच्र्छना निकालिरहेछन् कणर्ाली र दोज्यामहरुले । चराहरु खेेलिरहेछन् खोलाहरुसँग जुहारी । अर्धमूदित रुपमा हेर्ने र चिम्लने गर्दैछन् बादल छेेडेर घामका आँखाहरुले । निर्वाङ्ग प्रकृतिको अन्वितिमा भित्रदेखि फक्रिएको छु  म । उद्याम आनन्द बर्सिरहेछ हावासँगै । खार्पुनाथ प्राकृतिक बगैंचा बनेर ब्युँझिरहेछ । मसिना फूलहरुको रङ्गीबिरङ्गीले महक छरिरहेछन् अनन्तसम्म । फगत त्यो स्वाद लिनेे मान्छेहरुको कमी छ त्यहाँ । त्यहाँका जल, जमिन, आकाश र जीव-जन्तुले कविता लेखाइरहे मलाई ।

खाना खाँदै थियौं । सिमसिम वषिर्यो पानी । पानीमा भिज्दै भोक मेटाउँनुमा मजा फैलिरह्यो कणर्ालीको कञ्चन फैलावटझैैं । दोज्याम र कणर्ालीको मिलनले सुसाई अझ सुरिलो बनिरहेथ्यो । पानी र स्याँठको सङ्ग्रालोबाट बच्न घामसँगै उकालोतिर लाग्यौं हामी ।

उकालो चढ्दछौं । पानीले मुसालाई भै+m चुट्दैछ । सैनिक भाइहरुले ओडाएको छाताले थेग्न सकेन । डाँडाबाट बगेको भेलले बगाउला जस्तो छ । न बाटो, न घाटो स्याम्नेमा । केहीबेर ओत लागेपछि बल्ल बढ्यो बाँच्ने शाहस । स्याम्नेदेखि त नाक ठोकिने उकालो चढ्नु पर्छ । पहाड उचाई, थकाई, पीडा, अप्ठेरो, भय सबै पहाड बनेर उभिइहेछ । । जति माथि चढ्यो त्यति अक्सिजन कम, त्यति श्वास प्रश्वासमा अवरोध । छाति पड्केला जस्तो हुन थाल्यो । ‘लेक लाग्यो कि क्या हा’े- मनमनै डराएँ । ‘अलि विस्तारै हिंडुँ है’- अघिल्लो पङ्ितमा हिंडिरहनुभएको मेजरलाई अनुरोध गरें । उहाँको हिंडाई एकनासको । नथाक्ने किसिमको । तैपनि त्यो पहाडमा म नौलो थिएँ । त्यहाँको उचाई त्यति मसँग भिजिसकेको थिएन । उभिने बाहेक टुसुक्क बस्ने ठाउँ छैन उकालोमा । धेरै माथि पुगेपछि बल्ल एउटा थाप्लो भेटियो । एकक्षण सुस्ताउँदा सबै थकाई मेटियो । पहाडमा हिंड्नुको मजानै त्यसैमा हुन्छ ।  त्यहाँबाट कणर्ाली र हेल्दुङ्ग दुवै देखिन्थ्यो । कणर्ालीतिरबाट कुहिरो आइरहेथ्यो । हेल्दुङ्गमा इन्द्रेणी फैलिरहेथ्यो । सिमसिम पानी र पसिनाले लुछुप्प थिए कपडा । हामीले तातोपानीसँग ग्लुकोज खायौं । शरीर झन् ताजा भयो । यात्रा त सैनिकसँग गर्नुपर्ने रहेछ, सबैैकुरा व्यवस्थित, सबैैकुरा सहज’, मनमनै सोचें ।

बिसौनीमा सुस्ताइरहेको बेला माथितिरबाट झरे एक गाउँले । ‘एकक्षण बसौं न’, मैले आग्रह गरें । बस्न अनकनाए उनी । मैले बढी जोड गरेपछि बल्ल अलि पर बसे, छोइएलाझैं गरेर । पहिले त कुरा गर्नै मानेनन् । बल्लतल्ल कुरा गरे । बुराउँसेका रहेछन् तिनी ।

‘आज दिउसो मसानमा खाना खान्या तिमीहरुनै हऊ ?’

‘कुन मसान ?’

‘ऊ क्या खार्पुनाथ मन्दिर अगाडि ।’

‘त्यो मसान हो र ?

‘हो त मान्छे पोल्ने ठाउँ मसान नभए के त ? मसानमा त भूतले मात्र खान्छ । मान्छे पोल्ने ठाउँमा चुल्हो बालेर खानेसँग बोल्नु पनि हुँदैन, छुनुपनि हुँदैन ।’

हामीले खाना खाएको ठाउँ त मूर्दा पोल्ने ठाउँ पो रहेछ । आपसमा हेराहेर गर्‍यौं हामीले । थाहा नपाएपछि रछ्यान र ओछ्यानको भेद हुँदोरहेनछ केही पनि । दिनभर मसानमा बसेर खाएछौं भन्ने थाहा पाएपछि एकाएक खरानी बन्न थाले खुशीहरु । मृत्युका लहरहरुले गिज्याए जस्तो लाग्यो हामीलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment