Comments Add Comment

अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा नेपाल साझेदार बन्न लागेको होइन : परराष्ट्रमन्त्री

८ पुस, काठमाडौं । सरकारले ‘इण्डो प्यासिफिक’ क्षेत्रको समृद्धि र स्वतन्त्रताको सन्दर्भमा नेपालको भूमिका रणनीतिक साझेदारका रुपमा नभएको प्रष्ट पारेको छ ।

हालै नेपाल र अमेरिकाका विदेशमन्त्रीस्तरको वार्तामा भएको कुराकानीलाई चीन घेर्ने अमेरिकी नीतिको साझेदार नेपाल बन्न लागेको ढंगले प्रचार हुन खोजेको भन्दै सरकारले आफ्नो दृष्टिकोण प्रष्ट्याएको हो ।

अमेरिकाको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ‘इण्डो प्यासिफिक क्षेत्रको सन्दर्भमा नेपालको भूमिकाका बारेमा छलफल भएको हो । त्यो रणनीतिक साझेदारीको हिसाबले भन्दा पनि नेपाल सार्कको अध्यक्ष र विमस्टेकको पनि निवर्तमान अध्यक्षको हिसाबले आएको हो ।’

मन्त्री ज्ञवालीले यही वार्ताको सन्दर्भलाई लिएर अमेरिकाको इण्डो प्यासिफिक सुरक्षा रणनीतिमा नेपाल सहमत भएको भनी प्रचार भएकोमा असन्तुष्टि व्यक्त गरे । एकजना पत्रकारले आफूलाई फोनमै ‘अब इण्डो प्यासिफिक समिट’ कहिले हुन्छ भन्ने हाँस्यास्पद प्रश्न गरेको समेत उनले सुनाए ।

ज्ञवालीले भने ‘दुई पक्षीय वार्ताका क्रममा कोरिया प्रायद्धीपको शान्ति प्रक्रियाका पनि कुरा भए । इण्डो प्यासिफिक क्षेत्रको विषयमा पनि कुरा उहाँहरुले राख्नुभयो । नेपालको छिमेक नीतिका बारेमा पनि छलफल भए । तर यी कुरा रणनीतिक हिसाबले भन्दा पनि वृहत हिसाबले आएका हुन् ।’

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालसँग उत्तर कोरियाको बारेमा पनि छलफल भएको जनाएको थियो । मन्त्री ज्ञवालीले उत्तर केरियामात्र भन्दा पनि कोरिया प्रायद्धीपको शान्ति प्रक्रियाबारे छलफल भएको बताए । उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोले उत्तर कोरियाका नेता पनि शान्ति प्रक्रिया टुंग्याउने पक्षमा रहेको बताएका थिए ।

अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोवर्ट पाल्लानिडोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुई नेताबीच उत्तर कोरिया सहित इण्डो प्यासिफिक क्षेत्रको समृद्धि तथा स्वतन्त्रताको सन्दर्भमा नेपालको केन्द्रीय भूमिकाका बारेमा छलफल भयो ।’

राजापछि किन भएन औपचारिक भ्रमण ?

नेपाल र अमेरिकाबीच ३५ वर्षयता सरकार प्रमुख र राष्ट्रप्रमुखस्तरीय औपचारिक भ्रमण नभएको सन्दर्भमा अब उच्चस्तरीय भ्रमण गराउनेबारे वार्तामा छलफल भएको ज्ञवालीले बताए । सन् १९८३ मा तत्कालिन राजा वीरेन्द्रले अमेरिकाको औपचारिक भ्रमण गरेयता दुई देशका राष्ट्रप्रमुख स्तरीय भ्रमण भएको छैन ।

सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएपछि यसपाली नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई अमेरिकी समकक्षीले निम्ता गरे । मन्त्री ज्ञवालीले उच्चस्तरका भ्रमण आदान प्रदान गराउने सन्दर्भमा आफूले अमेरिकी समकक्षीसँग कुरा राख्दा उपयुक्त समय मिलाएर गर्ने समझदारी भएको बताए ।

अहिलेसम्म अमेरिकाको औपचारिक भ्रमण नेपालका राजाहरु महेन्द्र र वीरेन्द्रले मात्र गरेका छन् । पछिल्लो १७ वर्षयता पहिलो पटक अमेरिकाले नेपालका परराष्ट्रमन्त्रीलाई औपचारिक निम्ता दिएको हो । नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकार गठनपछि अमेरिकाले औपचारिक भ्रमणको आवश्यकता महसुस गरेको टिप्पणी भइरहेको छ ।

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाली सेनाको पाँचखालस्थित शान्ति कार्य तालिम केन्द्रलवाई सेन्टर फर एक्सक्लुसिभ बनाउने बारेमा अमेरिकासँग कुरा भएको बताएका छन् । त्यस्तै नेपाली सेनाको शान्ति मिसनको सन्दर्भमा पनि अमेरिकी सहयोगको बारेमा छलफल भएको उनले जानकारी दिए ।

विपद व्यवस्थापनमा सेनाका अधिकृहरुको क्षमता अभिवृद्धिमा अमेरिकी सहयोग बढाउनेबारे पनि सम्बन्धित अधिकारीहरुसँग छलफल भएको ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment