Comments Add Comment

हिउँदे अधिवेशनको पहिलो दिन : कर्मचारी समायोजन अध्यादेशमा कांग्रेसको विरोध

११ पुस, काठमाडौं । संघीय संसद हिउँदे अधिवेशनको पहिलो दिन बुधबार प्रतिनिधिसभा बैठकमा केही रोचक दृश्य देखिए । राष्ट्रपतिबाट हिउँदे अधिवेशन आह्वानको पत्र पढेपछि सभामुख कृष्णबहादुर महराले शहीदहरुको श्रद्धाञ्जलीका लागि १ मिनेट मौन धारणको समय दिए ।

तर उनले समय सकिएको जानकारी नगराई आफै बसेपछि सांसदहरु गलल हाँसे ।  बुधबार राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची थियो । कार्यसूची अनुसार सभामुख अगाडि जान खोज्दै थिए, हृदयश त्रिपाठीले ‘जरुरी’ भन्दै केही राख्न खोजे तर, सभामुखले समय दिएनन् । उनले भने ‘अर्को वैठकमा समय दिन्छु ।’

पूर्वप्रधानमन्त्रीहरुको रोलक्रम !

सुरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो धारणा राखे । त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोले । दलीय आधारमा तेस्रो नम्बरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पालो हुनुपर्ने हो ।

तर पालो नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पाए । भट्टराईको दल नयाँ शक्ति राष्ट्रिय मान्यता प्राप्त दल पनि होइन । यद्यपी उनले संसदमा यसअघि पनि दलीय आधारमा नभई पूर्वप्रधानमन्त्रीकै हैसियतमा धारणा राख्दै आएका छन् ।

राजेन्द्र महतोको नेपालीमा सम्बोधन

संसदमा प्राय हिन्दीमा संवोधन गर्ने राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बुधबार भने नेपालीमा धारणा राखे । सभामुख महराले महतोअघिका वक्तालाई समय नतोके पनि महतोलाई भने १० मिनेट समय दिएका थिए । महतोले आफ्नो पालामा मात्र समय तोकिएको भन्दै संवोधनको सुरुमै विभेद भएको गुनासो गरे ।

नियमापत्ति गर्दा माइक अफ !

महतोको सम्बोधन सकिएपछि नेकपाका सांसद खजराज अधिकारीले संसदमा ब्यक्तिको नाम लिने अभ्यास नरहेको भन्दै नियमापत्ति गरे । तर, सभामुखले माइक नै अन गरिदिएनन् र सांसद अधिकारीको नियमापत्ति नै रेकर्ड हुन पाएन ।

राजपा अध्यक्ष महतोले बैठकमा नेकपाका अध्यक्ष प्रचण्डलाई प्रचण्डजी संवोधन गरेकोमा अधिकारीको आपत्ति थियो । संसदमा सांसदहरुलाई माननीयज्यू भन्ने चलन छ ।

अध्यादेशमा कांग्रेसको विरोध !

सरकारले कर्मचारी समायोजन अध्यादेश पेश गर्न लाग्दा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गर्न खोज्यो । कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख महराले भने, ‘यसको विरोध गर्नुभयो भने सरकारलाई समर्थन हुन्छ ।’ तर, कांग्रेस सांसदहरु बसेनन् र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले हात उठाएर आफ्नो धारणा राख्न चाहेको बताइरहे । हाँस्दै सभामुख महराले थपे, ‘माननीय सदस्यहरु, माननीय सदस्यहरुले अध्यादेश पेस गर्न नदिने विरोध हो भने सरकारलाई समर्थन गरेको जनाउँछ ।’

त्यसपछि सभामुखले कांग्रेस सांसद बडुलाई समय दिए । सांसद बडुले सारमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २ बजे पत्रकार सम्मेलन गरेर अध्यादेश लागू भइसकेको बताएको उल्लेख गर्दै ४ बजे पछि बसेको संसद बैठकमा पेस गर्नु उचित नभएको भन्दै आपत्ति प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment