१५ पुस, काठमाडौं । सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएको छ ।
निजामती सेवा २०४९ को दफा १५.२ र निजामती सेवा निर्देशिका २०५० को नियक ३४ को (ख) तथा गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं २६ बमोजिम कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी दिने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएके छ ।
त्यसै अनुसार आइतबार गृहसचिव प्रेमकुमार राईले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
बाँकी जिल्ला प्रमुख जिल्ला अधिकारीहरुसँग १५ दिनभित्र सम्झौता गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । कार्यसम्पादन सम्झौता भएपछि सोहस्ी आधारमा प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ ।