Comments Add Comment

ए डिभिजन लिगको एकै खेलमा १० गोल

१६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार एउटै खेलमा १० गोल भएको छ । ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा न्युरोड टिम र मछिन्द्र क्लबबीचको खेलमा दुबै टिमले ५–५ गोलको बराबरी खेल्दै अंक बाँडे ।

जारी लिगमा अहिलेसम्म एकै खेलमा यति धेरै गोल भएको थिएन ।

मछिन्द्रका लागि विशाल राईले दुई गोल गरे । त्यस्तै, भासडिया डाइमन्डे, खामिर ग्लिसान र अनिल गुरुङले समान १–१ गोल गरे । यता, एनआरटीको लागि अशोक थापाले दुई गोल गरे । त्यस्तै, सुशील लामा र कौशी जियानले समान एक–एक गोल गर्दा एक गोल भने उपहार स्वरुप पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै भासडियाले गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए । तर आठौं मिनेटमा नै मछिन्द्रले आत्मघाति गोल गर्न पुग्यो । मछिन्द्रले आत्मघाती गोल गरेसँगै एनआरटीले १–१ गोलको बराबरी बनाएको थियो । तर नवौं मिनेटमा नै विशाल राईले गोल गर्दै मछिन्द्र क्लबलाई २–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, २७ औं मिनेटमा खामिर र खेलको २९ औं मिनेटमा अनिलले गोल गरेपछि मछिन्द्र क्लब ४–१ गोलअन्तरले अघि रहेको थियो ।

तर त्यसपछि भने एनआरटी क्लबले लगातार तीन गोल गर्न सफल भयो । खेलको ३२ औं मिनेटमा अशोकले गोल गर्दै एनआरटीलाई ४–२ को स्थितिमा पुर्‍याएका थिए । त्यस्तै, खेलको ३४ औं मिनेटमा अशोकले नै गोल गर्दै खेल ४–३ गोलको अवस्थामा पुर्‍याए । पहिलो हाफको अतिरिक्त समयमा सुशील लामाले पेनाल्टीबाट गोल गर्दै एनआरटी क्लबलाई ४–४ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा दुबै टिमले ४–४ गोलको बराबरी खेल्दा दोस्रो हाफमा पनि दुबै टिमले समान १–१ गोल गर्न सफल भए । खेलको ६३औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई ५–४ गोलको अग्रता दिलाएका थिए । तर खेल सकिन करिब पाँच मिनेट अघि अर्थात खेलको ८५औं मिनेटमा कौसीले गोल गर्दै एनआरटीलाई ५–५ गोलको बराबरी दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment