Comments Add Comment

खेल जगत राज्यको उपेक्षामा पर्‍यो : मन्त्री सोनल

२४ पुस, वीरगञ्ज । प्रदेश २ का भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले खेल क्षेत्र राज्यको सँधै उपेक्षामा परेको बताएका छन् । उनले खेलकुदको संरक्षणका निमित्त राज्यले उचित लगानी गर्न नसकेको बताए ।

जिल्ला तेक्वान्दो संघ, पर्साको आयोजना वीरगञ्जमा आयोजित प्रथम वीरगञ्ज इन्डो नेपाल तेक्वान्दो च्याम्पीयनसिप २०७५ को उद्घाटन गर्दै उनले नेपाललाई विश्वमा चिनाउन सक्ने खेल जगत ओझेलमा पर्नु दुःखद भएको बताए ।

‘खेल क्षेत्र र खेलाडी माथि लगानी गरेर खेल क्षेत्रलाई स्थापित गर्न सकिन्छ, यथोचित लगानी गर्न सके खेलाडीहरुले विश्व सामु आफ्नो पहिचान बनाउन सक्छन्’ उनले भने ‘अहिले प्रदेश सरकारमा छुट्टै खेलकुद मन्त्रालय त छैन तरपनि जो ट्यालेन्ट छ, चाहे त्यो तेक्वान्दो, क्रिकेट वा फुटबल खेलाडी नै किन नहोस त्यसमा लगानी गर्न प्रदेश सरकार तयार छ ।’

नारायणी रंगशालाको स्तरोन्नतीका लागि प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको बताउँदै उनले अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउन पहल गर्ने बताए ।

प्रदेश सरकारले अहिले तत्काल खासै केही गर्न नसक्ने बताउँदै उनले तर सकेको गर्ने दावी गरे । ‘विगतमा राज्यको दृष्टिकोण सघन किसिमले जान सकेको छैन, अब संघ प्रदेश र स्थानीय गरी तीन तहको सरकार भएको छ । सरकार शिशु अवस्थामा छ । अहिले न कर्मचारी छ, न बजेट छ तर आशा छ यस क्षेत्रको विकासका लागि केही गर्न सकिन्छ’ मन्त्री सोनलले भने ।

प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, ६ वटै प्रदेशबाट एक/एक टिम, आयोजक वीरगञ्ज र भारतका बिहार, कालिम्पोङ लगायत नेपाल भारतका १३ वटा टीम भाग लिएका छन् । १२ वेट क्याटेगोरीमा महिला र पुरुष खेलाडीबीच प्रतिस्पर्धा गराइएको आयोजक तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment