Comments Add Comment

न्यायमा ढिलाइ हुँदा निर्मला पन्तको परिवारमा विग्रह

२६ पुस, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिनासम्म दोषी पत्ता नलाग्दा परिवारमा आन्तरिक विग्रह सुरु भएको छ ।

निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबको बैधानिकता जाँच्न आमा दुर्गादेवीले बुधबार डीएनए टेष्टका लागि रगतको नमूना दिएकी थिइन् । तर, उनको यो निर्णयमा श्रीमान यज्ञराज पन्तले आपत्ति जनाएका छन् ।

‘निर्मलाको डीएनए साँचो हो कि होइन, जाँच्नुपर्ने हाम्रै माग थियो, त्यसका लागि रगत दिन मैले श्रीमानलाई धेरैपटक भनेँ तर, उहाँले मान्नुभएन’ दुर्गादेवीले अनलाइनखरसँग भनिन्,’ ‘बुधबार मैले एक्लै भए पनि गएर रगत दिएँ ।’

निर्मला पन्तको भनिएको भजाइनल स्वाव निर्मलाकै हो कि नक्कली हो भन्ने पत्ता लगाउँदा पीडित परिवारलाई नै फाइदा पुग्ने देखिन्छ । यसका लागि निर्मलाकी आमा वा बुबाको रगत परीक्षण गरेर म्याच गर्दा निर्मलाको भनिएको भजाइनल स्वावको बैधानिकता थाहा हुन सक्छ ।

अहिले घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरु पनि डीएनए नमिलेपछि छुट्दै आएका छन् । त्यसैले, अनुसन्धानकर्ताहरुले निर्मलाका आमा बुबाको रगत जाँच गर्ने प्रयास गरेका हुन् ।

तर, अनुसन्धानको यो प्रक्रियामा निर्मलाकी आमा कन्भिन्स भए पनि बुबा यज्ञराज कन्भिन्स हुन नसक्दा परिवारमा विवाद आएको हो ।

दूर्गादेवीका अनुसार रगतको नमुना दिँदा आफूलाई फसाउने डर यज्ञराजमा देखिएको छ । उनले भनिन्, ‘आज बिहानै आएर तैंले किन रगत दिइस् भन्नुभयो । मलाई फसाउन खोजेकी होस् भन्नुभयो ।’

गत साउन १० मा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । अनुसन्धानमा लापरवाही गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्टसमेत बर्खास्त भएका छन् । तर, अझैसम्म हत्यामा संलग्नहरु पत्ता लागेको छैन ।

यसैवीच, पछिल्लोपटक पीडित परिवारले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अनिश्चितकालीन धर्ना थालेको छ । यसअघि धर्नाकै क्रममा यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । हाल यज्ञराज पनि कञ्चनपुरमै छन् ।

सरकारी राहतमा पनि विवाद

सरकारले निर्मला पन्तको परिवारलाई दिने भनेको १० लाख रुपैयाँको सरकारी राहत बुझ्ने कि नबुझ्ने भन्नेमा समेत दुर्गादेवी र यज्ञराजको मत बाझिएको छ ।

‘मेरा दुई छोरी छन् । उनीहरुलाई पनि हुनुपर्छ । आफू सधंै धर्नामा बस्न नसकेपछि अरुलाई मात्र बस भनेर कसरी भन्नु ?’ दुर्गादेवीले अनलाइनखबरसँग भनिन्, ‘त्यसैले राहत बुझ्नुपर्छ कि भन्ने लागेको हो । तर, उहाँले किन राहत बुझिस् भन्नुभएको छ ।’

श्रीमानले ‘कि तँलाई मार्छु, नभए तेरो घरको दैलोमा झुण्डिएर मर्छु भनेको सुनाउँदै दुर्गादेवीले गहभरि आँसु पारेर भनिन्, ‘एउटी छोरी गुमाएँ । अब श्रीमानको यो अवस्थामा हेर्न चाहन्नँ । म घरपरिवारबाटै पीडित हुने अवस्था आयो ।’

श्रीमानले दोस्रो बिहे गरेपछि निर्मला पन्तकी आमा दूर्गादेवी आफ्ना तीन छोरीहरुका साथ अलग्गै बस्दै आएकी थिइन् । पति यज्ञराज भने कान्छी श्रीमतीका साथमा बेग्लै बस्दै आएका थिए । अहिले दूर्गादेवी आफ्ना जेठी र कान्छी छोरीसँग बस्छिन् । हत्या गरिएकी निर्मला माइली छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment