Comments Add Comment

यी हुन् नेपाली बक्स अफिसका टप ५ फिल्म

साउन महिनादेखि काठमाण्डौका हलमा बक्स अफिस लागू भएको छ । काठमाण्डौमा बक्स अफिस लागू भएपनि चलचित्रको वास्तविक व्यापार सार्वजनिक हुन नसकेको बताइन्छ । बक्स अफिस लागू भएपनि निर्माताले हिसाबको वास्तविक आँकडा सार्वजनिक गर्न सकेका छैनन् । कतिपय निर्माताले आफूहरुले प्राप्त गरेको आँकडा र बक्स अफिसले दिएको आँकडा फरक रहेको भन्दै विवाद पनि झिक्ने गरेका छन् । अधिकांश निर्माताले त चलचित्रको व्यापारमा मनलाग्दी आँकडा पनि सार्वजनिक गरिरहेका छन् । २ देखि ३ दिनमै धेरै चलचित्रले एक करोड ग्रस कलेक्शन गरेको आँकडा पनि सार्वजनिक हुने गरेको छ । यसैले पनि कुन चलचित्रले कस्तो व्यापार गर्यो भन्ने एकिन तथ्यांक दर्शकसम्म आएको छैन ।

तर, साउनदेखि पौषको अन्तिम सातासम्म रिलिज भएका नेपाली र हिन्दी चलचित्रमा सर्वाधिक कमाई गर्ने चलचित्रको सूची अनलाइनखबरलाई प्राप्त भएको छ । जसमा कतिपय अपेक्षित चलचित्र नै छन् भने कतिपय सर्वाधिक कमाई गरिएको भनेर निर्माताले प्रचार गरेका चलचित्र समावेश छैनन् ।

यो बर्ष रिलिज भएका अधिकांश चलचित्र बक्स अफिसमा असफल छन् । बक्स अफिसमा निर्माताले आफ्नो चलचित्र हिट भएको दाबी गरेपनि व्यापार दयनिय छ । साउनबाट पौषको अन्तिम सम्ममा रिलिज भएका चलचित्रमा सर्वाधिक कमाई गर्ने चलचित्रमा ‘छक्का पन्जा ३’ छ । यो चलचित्रले काठमाण्डौबाट राम्रो रकम कलेक्शन गरेको वुझिएको छ । यस्तै, बक्स अफिसमा कमाई गर्ने चलचित्रको दोश्रो नम्बरमा चलचित्र ‘नाई नभन्नु ल ५’ छ । यो चलचित्रले पनि बक्स अफिसमा सुखद व्यापार गरेको छ ।

तेश्रो नम्बरमा चलचित्र ‘जय भोले’ छ । फूलपातिमा रिलिज भएको चलचित्रको व्यापार पनि काठमाण्डौमा राम्रो रहेको वुझिएको छ । काठमाण्डौका मल्टिप्लेक्समा राम्रो कमाई गर्ने चलचित्रमा पर्छ ‘प्रसाद’ । यो चलचित्रले काठमाण्डौको बक्स अफिसमा सुखद कमाई गरेको देखिएको छ । बक्स अफिस सूचीमा यो चलचित्र चौथो नम्बरमा छ ।

यस्तै, पाँचौ नम्बरमा भने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छ । राम्रो कमाई गरेको भनेर प्रचार गरिएको यो चलचित्र बक्स अफिसमा कमाई गर्ने चलचित्रको पाँचौ नम्बरमा देखिएको छ । केही चलचित्रलाई छाड्ने हो भने काठमाण्डौ बाहिर भन्दा काठमाण्डौमा चलचित्रको व्यापार माथि हुने गरेको छ । यसैले पनि कुनै चलचित्रको मोटामोटी हिसाब निकाल्न गाह्रो पर्दैन ।

श्रोतका अनुसार चलचित्र ‘छक्का पन्जा ३’को कमाइ काठमाण्डौमा साढे ७ करोड भन्दा माथि छ । यस्तै, सर्वाधिक कमाई गर्ने दशौ चलचित्रको व्यापार डेढ करोडको हारहारीमा छ । यसबाट पनि दोश्रो नम्बरदेखि नवौ नम्बरसम्म पर्ने चलचित्रको व्यापार निकाल्न सजिलो पर्छ । सर्वाधिक कमाई गर्ने चलचित्रको टप १० मा डेढ करोड भन्दा माथि कमाई गर्ने चलचित्र रहेको वुझिएको छ ।

हिन्दीको नजिता पनि अनेपेक्षित
साउनदेखि पौषसम्म रिलिज भएका हिन्दी चलचित्रको पाँचौ नम्बरमा ‘धडक’ छ । यो चलचित्रले काठमाण्डौमा करिब १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको वुझिएको छ । यो सूचीको पहिलो नम्बरमा चलचित्र ‘२.०’ छ । दोश्रो स्थानमा ‘सिम्बा’, तेश्रो स्थानमा ‘ठग्स अफ हिन्दुस्तान’, चौथो नम्बरमा ‘जिरो’ छ ।

काठमाण्डौ बाहिर चैत्रदेखि बक्स अफिस लागू हुने दाबी चलचित्र विकास बोर्डले गर्दै आएको छ । काठमाण्डौ बाहिर बक्स अफिस लागू भएपछि चलचित्रको वास्तविक व्यापार अझै राम्रोसँग खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment