Comments Add Comment

मालपोतमा पाइलैपिच्छे घुस ! कर्मचारी ३२, लेखन्दास २५०

८ माघ, बिराटनगर । दृष्टिबन्धक फुकाउन सोमबार विहानै मालपोत कार्यालय बिराटनगर पुगेका ग्रामथान १ लखन्तरीका भैरब माझी सबै काम सकेर कम्प्युटर इन्ट्री गराउन मालपोत कार्यालयको दोस्रो तल्लामा पुगे । दलालविना नै आफ्नो काम गरेका माझी इन्ट्री गराउन लाइनमा ३ घण्टा पालो पर्खिएर बसे । तर, उनलाई बोलाइएन । उनी लाइनमै बसिरहँदा दलालहरु आउँथे र सहजै काम गरेर र्फकन्थे ।

कम्प्युटरमा इन्ट्री गराउन दलाललाई पनि सहजचाहिँ थिएन । जग्गाधनी पूर्जासँगै पाँचसयको नोट नराखे उनीहरुको काम पनि अल्भिmन्थ्यो । रातो फाइल किताबसँगै ५०० पोके पारेर कर्मचारीलाई दिएलगत्तै उनीहरुको पालो आउँथ्यो ।

बिराटनगर मालपोतको कम्प्युटर शाखामा तीनजना कर्मचारी छन् । आधुनिक प्रणालीमा गएको मालपोत कार्यालयमा कम्प्युटरमा रजिस्टेशन इन्ट्री गराउँदा थप पैसा लाग्दैन । तर, कार्यालयका कर्मचारीहरु पैसा बिना कसैको काम गर्दैनन् । पैसा नतिर्ने सेवाग्राहीको काम दुई दिनसम्म लम्बिन्छ । सर्बसाधारणको बढी चाप हुने मालपोतमा पाइलैपिच्छे घुस नदिए कामै बन्दैन ।

‘अघिदेखि हेरिरहेको छु, पैसा दिनेहरु पालो मिचेर आउँदा पनि काम भयो, मेरो भएन’ माझीले अनलाइनखबरसँग भने ‘म आफैं लेखापढी गर्न सक्छु, तर, पैसा नदिँदा कर्मचारीले मेरो काम गर्न मानेनन् ।’

कम्प्युटर शाखाका कर्मचारी प्रतिनिधि पात्र मात्रै हुन् । मालपोतमा दर्ता चलानी बाहेक सबै शाखामा कमिसन नबुझाए कामै बन्दैन ।

जहदा गाउँपालिका-६ का रामनारायण र सूर्यनारायण मण्डलको जग्गा हालसाविक पनि कर्मचारीलाई घुस नखुवाई भएन । उनीहरुले १२ हजार कर बाहेक ३ हजार रुपैयाँ लेखनदास मार्फत कर्मचारीलाई दिनुपर्‍यो ।
यो पनि पढ्नुहोस सुबिसुको तारमा अल्झेको ओली सरकार !

मालपोतमा कर्मचारी र सेवाग्राहीवीच कमिसनका लागि विचौलियाहरुले पुलको काम गर्दै आएका छन् । तिनै विचौलियामार्फत् जहदाकै मेनकादेवी ऋसिदेवले पनि हालसाविक गर्दा कमिसन दिइन् ।

मालपोत कार्यालयमा कर्मचारीले १ सय रुपैयाँदेखि २ हजारसम्म घुस लिने गरेका छन् । ‘मोठ कायम गर्ने कर्मचारीले १ सयदेखि माथि घुस लिने गरेका छन् । सेवाग्राहीको सहज पहुँचमा नभएको कार्यालयमा कमिसन नदिई सर्वसाधरणको कुनै काम बन्दैन ।  ‘फाँटमा पूर्जा बनाउँदा १ सयदेखि ५ सयसम्म लिन्छन्,’ एक लेखापढी व्यवसायी अनलाइनखबरसँग भन्छन् ‘पैसा नदिएसम्म हाम्रो पनि काम बन्दैन ।’

लेखापढी व्यवसायीका अनुसार अनलाइन इन्ट्रीमा ५ सयदेखि २ हजार रुपैयाँसम्म कर्मचारीहरुले अतिरिक्त शुल्क लिने गरेका छन् । त्यसबाहेक तामेली फुकुवा र नक्कल बापत ५ सय रुपैयाँसम्म घुस लिने गरेको लेखन्दासहरुको भनाइ छ ।

अधिकृत भन्छन्- प्रमाणसहित ल्याउनुहोस्, कारवाही हुन्छ

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत देवीप्रसाद भट्टराई काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घुस नलिएको दाबी गर्छन् । ‘सेवा शुल्कबाहेक अतिरिक्त शुल्क लिन पाइन्न’ उनी भन्छन् ‘त्यस्तो देखिए प्रमाणसहित आउनुहोस्, हामी कारवाही गर्छौं ।’

मालपोत कार्यालय अनलाइन माध्ययममा गएका कारण प्राविधिक कारणले बेलाबेला काम गर्न असहज हुने बताउँदै उनले कर्मचारीले कमिसन नलिएको दाबी गरे । मालपोतको सेवा सहज भएको बताउँदै उनले लेखपढी कानुन व्यवसायीविना सर्वसाधारणले सिधै काम गर्न पनि सक्ने बताए ।

कर्मचारी ३२, लेखन्दास २५० !

बिराटनगर महानगरपालिकासहित धनपालथान, बुढीगंगा र ग्रामथान कार्यक्षेत्र रहेको मालपोत कार्यालय बिराटनगरमा ३२ कर्मचारीको दरबन्दी छ । सेवाग्राहीको भीड हुने कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छैन । सीसी क्यामेरा नहुँदा कर्मचारीहरुलाई कार्यस्थलमै घुस लिन सजिलो भएको छ ।

बिराटनगर मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट छ । मालपोतका रजिस्ट्रेशन, मुद्दा, दाखालगायत फाँटमा काम गर्न आउने सेवाग्राहीलाई बाटोबाटै लेखापढी गर्नेले छेक्छन् । बिचौलियाका कारण मालपोतमा घुस नदिई कामै नहुने सेवाग्राही बताउँछन् ।

लेखापढी कानुन व्यवसायी संघ बिराटनगर अध्यक्ष उमेश श्रेष्ठ लेखापढी गर्नेलाई सबैतिर छुट नभएको बताउँछन् । कार्यालयले सबैतिर प्रवेशमा रोक लगाएको बताउँदै उनले काम गर्न असहज भएका बेला भने प्रवेश गर्ने गरेको बताए । उनका अनुसार मालपोतमा काम गर्ने २५० लेखापढी कानुन व्यवसायीहरु छन् । जब कि त्यहाँ सरकारी कर्मचारीको संख्या भने ३२ मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment