Comments Add Comment

नटुटोस् टुटल, नपठाऔं पठाओलाई

माघ लाग्दा नलाग्दै काठमाडाैंको माहोल तात्यो । ट्राफिक प्रहरी सदाझै कानून कार्यान्वयनमा ताते । युवाहरु र तिनलाई साथ दिंदै देश विदेशबाट अरु पनि सामाजिक सञ्जालमा ताते । अनि यातायात व्यवसायीहरु विरोधमा ताते । पत्रकारहरु अनलाईन, पेपर र स्क्रिनमा ताते । यसमध्ये कति जानेर ताते, कति नजानेर । जो जहाँ जसरी ताते पनि तताउने कारक उही थिए मोटरसाईकल ट्याक्सी टुटल र पठाओ । यहाँ यिनै टुटल र पठाओबारे केही व्यक्तिगत विचारहरु, जानकारी र सुझावहरुको छोटो टिप्पणी गर्न खोजिएको छ ।

मोटरसाइकल ट्याक्सी मूलतः यात्रु बोक्ने मोटरसाईकल हो जुन विश्वका थुप्रै देशमा प्रचलनमा छ । देशभरी भन्दा पनि केही देशका केही सहरमा बढी । जस्तैः थाइल्याण्डको बैंकक, फिलिपिन्सको मनिला, बंगलादेशको ढाका र फ्रान्सको पेरिसमा । केही देशमा कानूनी मान्यता पाएको छ, कतिपयमा मनपरी रुपमा चलाइएको ।

नेपाल हालसम्म दोस्रो ‘क्याटगोरी’ मा छ । ब्राजिलको साओ पाउलोमा सन् १९९४ मा मोटरसाईकल ट्याक्सी शुरु भई आज सबैजसो सहरमा फैलिएको छ । सन् २००९ मा त्यहाँ सरकारले यस्तो ट्याक्सीका चालकले लाइसेन्स लिएको कम्तीमा दुई वर्ष भएको र २१ वर्ष पुरा गरेको, तालिम लिएको हुनुपर्ने जस्ता मापदण्ड बनाई लागू गर्‍यो । जसले तिनको व्यवस्थापनमा राम्रै सहयोग पुर्‍यायो ।

‘मोटोडोप्स’का नामले कम्बोडियामा मोटरसाईकल ट्याक्सी चर्चित छ । जहाँ कुनै मापदण्ड छैन । जो कसैले, जुनसुकै ठाउँमा गन्तव्यसम्म पुर्‍याई दिन प्रस्ताव गर्न सक्छ । दुवैको सहमतिमा चल्ने हो । भारतको गोवामा पहेंलो र कालो रङ्का मोटरसाईकल ट्याक्सीको रुपमा प्रयोग हुन्छन् । चालकले हेल्मेट लगाउनुपर्ने, यात्रुले पनि निश्चित मात्रामा सामान बोक्न पाउने जस्ता नियम लागु गरिएका छन् ।

इन्डोनेसियामा ओ-जेक नामले परिचित मोटरसाईकल ट्याक्सी ‘क्राउडेड’ सहरदेखि चारचक्के गाडी नपुगेका ‘रिमोट’ गाउँसम्म सेवा दिइरहेका छन् । उता नाइजेरियामा ३० लाखभन्दा बढी मोटरसाईकल ट्याक्सी (ओकाडस्) छन् जसमा गर्भवती महिला र केटाकेटीलाई बाहेक अरुलाई बोक्न पाइन्छ । त्यहाँ सरकारले मोटरसाईकल ट्याक्सीलाई नियन्त्रण गर्न खोजिरहेको छ । अनि नेपालमा पनि व्यवस्थित गर्न खोजिँदैछ ।

थाइल्याण्डमा पनि लोकपि्रय छ मोटरसाईकल ट्याक्सी । निश्चित ठाउँमा तिनका लागि ‘क्यु जङ्सन’ छुट्याइएका छन् । ड्रेस कोड तोकिएको छ । प्रमाणपत्र जारी गरिएको छ । भियतनाममा पनि मोटरसाईकल ट्याक्सीले न्यूनतम शुल्कमा यात्रुको मन जितेको छ ।

मूलतः एशियाली सहरहरुमा मोटरसाईकल ट्याक्सी लोकपि्रय भई बढी सञ्चालनमा आएको भएपनि केही अपि|mकी मुलुक, केही युरोपियन सहर र अमेरिकामा समेत मोटरसाईकल ट्याक्सी भिन्न भिन्न स्वरुपमा सञ्चालनमा छन् । थाइल्याण्डमा गो-बाइक, भारतमा ओला, पूर्वी अपि|mकामा सेफ बोडा, पेरिसमा सिटी वर्ड यस्तै यस्तै ।

अध्ययन भन्छ “विश्वमा १ सयभन्दा बढी देशमा २ करोड मोटरसाईकल ट्याक्सी छन् र आगामी ५ वर्षमा यो उद्योग ५० प्रतिशतले बिस्तार हुनेछ ।”

आज ट्राफिक जामका कारण सहरका लाखौं मान्छेको दैनिक घण्टौं खेर गईरहेको छ । जसले व्यक्ति व्यक्तिलाई असर गरे पनि समग्रमा त्यो कुल गार्हस्थ उत्पादनमा परेको असर हो । आम्स्टर्डमको कम्पनी ‘टमटम’ले गरेको ‘ग्लोबल स्टडी’ अनुसार विश्वमा सन् २००८ देखि सन् २०१७ सम्म ट्राफिकमा २३ प्रतिशत बढोत्तरी भएको छ । यस्तो अवस्थामा उड्ने ड्रोन ट्याक्सीदेखि गल्ली गल्ली छिर्ने मोटरसाइकल ट्याक्सीलाई वैकल्पिक सवारीको रुपमा प्रयोग गर्नु अन्यथा पनि होईन ।

थाइल्याण्ड र युगाण्डा जस्ता केही मुलुकमा मोटरसाइकल ट्याक्सी चालकले सरकारी शिक्षकभन्दा राम्रो आम्दानी गर्छन् रे ! नेपालमा पनि सजिलै २०-२५ हजार मासिक आम्दानी गरेको सुनिदैछ । सडक सुरक्षाको पाटोमा हेर्दा अफ्रिकामा औसतमा ५७ प्रतिशत सामान्य बाइक चालकले र १०० प्रतिशत मोटरसाइकल ट्याक्सी चालकले हेल्मेट पहिरिन्छन् । त्यसैगरी सामान्य यात्रु २ प्रतिशत र मोटरसाइकल ट्याक्सीका ५७ प्रतिशत यात्रुले अतिरिक्त हेल्मेट प्रयोग गर्दा सडक सुरक्षामा सुधार भएको छ ।

नेपालमा टुटल र पठाओ

सञ्चालनमा त छन् तर कानुनी आधार छैन । यातायात क्षेत्रको नियमन र सञ्चालन गर्ने वि.सं. २०४९ को सवारी तथा यातायात व्यवस्था ऐनले मिल्दैन भन्छ । अर्कोतर्फ युवाको समर्थन उच्च छ । ठूलाठूला नेता, कलाकारले पनि समर्थन जनाएकै छन् । कानून ठूलो कि समर्थन भनिरहनु पर्दैन यद्यपि यही समर्थनले कानुन निर्माणको जगको काम गर्ला तरपनि कानुन नबनुन्जेल वैधानिकता दिन सकिदैन ।

सुरक्षा खतरा र दुव्र्यवहारको चिन्ता गर्नैपर्छ । टुटलका प्रमुख कार्यकारी मध्येका एकले कतै अन्तर्वार्तामा भनेका छन् “दुव्र्यवहार गर्ने दुई जनालाई प्रहरी खोरमै पुर्‍याइयो ।” सुरक्षा खतरा रहेको स्वीकारोक्ति पनि हो यो । दुव्र्यवहार गर्ने कति बाहिरै आएनन् होला, कति थाहै भएन होला । यो जिम्मेवारी कसको भन्ने प्रश्न तेर्सिएको छ । त्यस्तो नहोस् तरपनि ती सवारी साधन आपराधिक कार्यमा प्रयोग हुन गए त्यसको जवाफदेही को हुने ?

करको विषय अर्को गम्भीर पक्ष हो । चर्चा छ, दशौं हजार ‘राइडर’ भइसके नेपालमा । हरेकले दैनिक १ हजारभन्दा बढी वा भनौं निश्चित रकम कमाउँछन् । निश्चित हिस्सा कम्पनीको हुन्छ त्यस्तो मुनाफा वापत कम्पनीले तिरेको कर रकम कति छ ? अर्को पाटोमा सार्वजनिक यातायातको कर निजी गाडीको भन्दा बढी हुन्छ यसमा प्रयोग हुने मोटरसाईकले पक्कै कर बढी तिर्नुपर्ला नै त्यस्ता सवारी साधनको आयुसमेत तोकिनुपर्छ । निकै पुराना मोटरसाइकल पनि प्रयोग भएका छन्, कण्डिसनका साधन राखिनुपर्छ ।

मोटरसाईकल अत्यधिक संख्यामा ट्याक्सीको रुपमा प्रयोग भए तिनले ट्राफिक व्यवस्थापनलाई झनै अस्तव्यस्त बनाउने छन् । सबै मोटरसाईकल एकसाथ सडकमा ओर्लिए झन् जोखिम बढ्नेछ । राइडरको स्वास्थ्यमा समस्या अर्को गम्भीर पाटो हुन सक्छ किनकि दिनभर धुवाँधुलो, चिसो मौसम, प्रदूषित हावा आदिका कारण छाला, श्वासप्रश्वास, आँखासम्बन्धी समस्यामा गुणात्मक बढोत्तरी हुन सक्नेछ ।

किन आए टुटल र पठाओ ?

लोकतन्त्रमा विकल्पको खोजी हुन्छ । अस्तव्यस्त ट्राफिक, असहज सार्वजनिक यातायात र मोलमोलाई गर्ने अनि चक्रपथ बाहिर सितिमिति ज्ाानै नमान्ने अटेरी प्रवृत्तिका ट्याक्सीको विकल्पको रुपमा टुटल र पठाओलाई प्रश्रय मिल्यो । चले, मन पराइए । सार्वजनिक यातायात व्यवसायीलाई लाग्छ तिनको व्यापार र ग्राहक खोसिए तर सर्वसाधारणलाई लाग्छ कसैले खोसेका होइनन् आफैले बुझाएका हुन् ।

प्रविधिमा आएको परिवर्तनसँगै नयाँ ‘बिजनेस’ भित्रियो यद्यपि बजारमा हल्ला भएजस्तो यो नवप्रवर्तन (इनोभेसन) होइन, अरु देशमा वर्षौ पहिलेदेखि शुरु भएको हो । प्रविधिको प्रयोगका कारण सजिलो छ भनिएको छ र ‘अन डिमान्ड’ सेवा पाएको अनुभूति सीमित सेवाग्राहीले गरेका छन् । थुप्रै युवा बेरोजगार थिए, छन् । केहीले रोजगारीको राम्रो अवसर टुटल वा पठाओका मोटरसाइकल ट्याक्सीमा देखे, त्यसमै रमाए । ‘पार्ट टाइम’ वा ‘फुल टाइम’ गरेरै पकेट खर्चदेखि घर खर्चसम्म निकालेका पनि छन् ।

प्रयोग गर्नेहरु भन्छन् समय निकै बचत भएको छ । लामो समय सार्वजनिक बस आउने बाटो ढुक्नुपर्ने वा बसभित्र कसरी झुण्डिने भनेर बिहान बेलुकै तनाव लिनुपर्ने अवस्थाबाट धेरैलाई राहत हुँदै गइरहेको छ । उनीहरु भन्छन् महंगो ट्याक्सी भाडा अब तिर्नुपर्दैन, खर्च घटेको छ । ट्याक्सी भएकै ठाउँमा गएर मोलमोलाई वा किचकिच गर्नुपर्दैन । ‘क्लिक’को भरमा ‘अन डिमान्ड’ सेवा पाएका छन् । दृष्टिविहीन र श्रवण शक्ति कमजोर भएका वर्गले पनि सहज रुपमा ‘राइड सेयर’ गर्न पाएका छन् ।

अन्त्यमा

काठमाडौंको घना बस्ती साँघुरा सडकमा अब नयाँ गाडी भित्रिन नियन्त्रण गरिनुपर्छ । त्यसलाई केही हदसम्म नियन्त्रण गर्ने माध्यम मोटरसाईकल ट्याक्सीलाई स्वीकृति दिँदा हुन सक्छ । ‘राइड सेयरिङ्’का राम्रा पक्षहरुमध्ये एउटा सामाजिकीकरण पनि हो । यसैका आधारमा ‘युथ’हरु बाँधिएका छन् उनीहरुको ‘कमन स्प्रिट’ भएको छ ।

सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्सपोर्ट’लाई बढावा दिएको छ । त्यसैको नतिजास्वरुप उपत्यकामा धेरै ठूला बसहरु भित्रिएका छन् र हालैमात्र सरकारले ३ सय ठूला विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको समयमा मोटरसाईकल ट्याक्सीलाई जथाभावी सञ्चालन गर्न दिँदा नीति र निर्णयले मेल नखान सक्छ ।

यसका बाबजुद् पनि मोटरसाईकल ट्याक्सी नेपालमा नयाँ सम्भावनाको क्षेत्रको रुपमा देखिएको छ । तर दिगोपनाको विषयमा विशेष ध्यान दिनुपर्छ । कानुनी दायरामा ल्याउनुपर्छ, नियमन हुनुपर्छ । आखिर ‘राइड सेयरिङ्’ विगतदेखि नै थियो, नाकाबन्दीको बेला धेरैले अपनाएकै थिए ।

अहिले पनि बसपार्क, एयरपोर्टका ट्याक्सीले एउटै गन्तव्यतिर जाने यात्रुलाई ‘सेयरिङ्’मा लिने गरेकै छन् । त्यसैले सरकारले निश्चित मापदण्ड चाँडै बनाई लागू गर्नुपर्दछ ताकि टुटल पनि नटुटोस् र नटुटोस् कानुनी राज्यको मर्म । यसरी दूरदर्शी र योजनाबद्ध भई काम गरौं कि पठाओलाई पनि बंगलादेश फिर्ता पठाउनु नपरोस् । “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने एउटा थप उपाय यो पनि सावित हुन सकोस् ।

(उपाध्याय यातायात व्यवस्था विभागका निर्देशक हुन्, यी उनका निजी विचार हुन् ।)

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment