Comments Add Comment

केसीको पक्षमा चिकित्सक संघद्वारा रिले अनसन घोषणा

Photo Credit : फाइल तस्वीर

१३ माघ, काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनसन सुरु गर्ने भएको छ ।

आइतबार नेपाल चिकित्सक संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले केसीको जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनसन गर्ने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौं उपत्यकाबाहिरका डाक्टरहरुले आफू कार्यरत अस्पतालमा वा संघको शाखा कार्यालयमा रिले अनसन बस्नेछन्’ उनले भने । यसअघि चिकित्सक संघले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

संघले दिएको अल्टिमेटमका सम्बन्धमा सरकारले कुनै पनि कदम अगाडि नबढाएको भन्दै चिकित्सक संघले आइतबार त्रिवि शिक्षण अस्पतालमा काठमाडौं उपत्यकाभित्रका अस्पतालका चिकित्सकको वृहत भेला आयोजना गरेको थियो । उक्त भेलाले दिएको म्याण्डेट अनुसार संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले देशभर आन्दोलनका कार्यक्रम चलाउने निर्णय गरेको  संघले जनाएको छ ।

चिकित्सक संघले सरकारलाई अबिलम्ब डा. केसीको जीवन रक्षाका लागि तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउन माग गर्दै अन्यथा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

‘नेपाल चिकित्सक संघ नेपाल सरकारलाई अबिलम्ब डा. केसीको जीवन रक्षाका लागि तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउन तथा संघले आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने वातावरण ननिम्त्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ’ संघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment