Comments Add Comment

राजवंशीले दुवै म्याचमा बलिङ गर्न पाएनन्, ब्याटिङमा अविजित !

Photo Credit : रमन शिवाकोटी

१३ माघ, काठमाडौं । यूएईविरुद्धको एकदिवसीय सिरिजका दुई म्याचमा नेपालले ५०–५० नतिजा निकाल्यो । दुवै म्याचमा नेपालको बलिङ उत्कृष्ट थियो ।

पहिलो एक दिवसीयमा एक सय १४ रनको झिनो लक्ष्य भेट्टाउन पनि यूएईका ब्याट्सम्यानले संघर्ष गरेका थिए । दोस्रोमा उनीहरु १९ ओभरमै सोत्तर भए । यसरी नेपालको बलिङ चम्किँदा नेपालका एक विशेषज्ञ बलरले भने दुवै म्याचमा बल छुन पाएनन् । उनी हुन् स्पिनर ललितनारायण राजवंशी ।

शक्ति गौचनको सन्न्याससँग नेपाली राष्ट्रिय टिममा राजवंशीले स्थान बनाएका हुन् । तर, टिममा उनीभन्दा सिनियर दुई स्पिनर सन्दीप लामिछाने र बसन्त रेग्मी पनि छन् । दोस्रो म्याचमा कप्तान पारस खड्काले सिनियर बसन्तलाई ड्रप गरेर ललितलाई स्थान दिएका थिए । तर, दुवै म्याच खेलाए पनि पारसले उनलाई एक ओभर पनि प्रयोग गरेका छैनन् । रोचक के भने उनले दुवै म्याचमा ब्याटिङ गर्न पाए र अविजित रहे ।

यसरी पनि हेरौं

पहिलो म्याचको कुरा गरौं । टस हारेर ब्याटिङमा उत्रेको नेपालको अवस्था निकै नाजुक थियो । ३० ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा १०६ रन हुँदा राजवंशी ११ औं नम्बरमा ब्याटिङ गर्न आए । उनी दुई रनमा अविजित रहे ।

बलिङमा पारसले फास्ट बलरहरु करण, सोमपाललाई सुरुमा उतारे । त्यसपछि मिडियम पेसरका रुपमा उनी आफैं आए । अनि सन्दीपलाई ल्याइयो । बसन्तले पनि अन्त्यतिर मात्रै बलिङ गर्न पाए । ललितले बल पाएनन् । तुलनात्मकरुपमा कम अनुभवी भएकोले हुन सक्छ कप्तान पारसले ललितलाई बल नदिएका ।

दोस्रो म्याचमा बसन्तलाई बेन्चमा राख्दै ब्याट्सम्याान रोहितकुमार पौडेललाई खेलाइयो । रोहितलाई समावेश गर्दा नेपालको ब्याटिङ लाइनअप केही बलियो देखियो । उनले अर्धशतकको कीर्तिमानी पारी खेलेर नेपालको धर्मर्राएको इनिङ उकासे । नेपालले २४२ रन बनाउन सफल भयो । यो म्याचमा पनि ११ नम्बरमा आएका ललितले अविजित ३ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको युएईको इनिङ्स सोमपाल कामी र सन्दीप लामिछानेले ध्वस्त पारे । सोमपालले सुरुवाती चार ब्याट्सम्यान अश्फाक अहमद, चिराग सुरी, घुलाम शब्बेर र साइमन अन्वारलाई उनले आउट गराए । बाँकी मध्यम क्रमका ब्याट्सम्यान आउट गर्ने जिम्मा सन्दीप लामिछानेले लिए र चार विकेट लिन सफल भए ।

१५ औं ओभरमा सन्दीपले तीन विकेट लिएर यूएईलाई घुँडा टेकाइदिएका थिए । योसँगै नेपालको जित सुनिश्चित जस्तै भएको थियो । किनभने यसबेलासम्म युएईले १५ ओभरको समाप्तिमा सात विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो भने अब उसलाई जितको लागि १८६ रन चाहिएको थियो ।

यो बेला भने कप्तान पारस खड्काले ललितलाई प्रयोग गर्न सक्थे । तर, गरेनन् । सायद उनी यूएईलाई कमभन्दा कम स्कोरमा खुम्च्याउन चाहन्थे । त्यसैले उनले बढिभन्दा बढि सोमपाल–सन्दीपलाई प्रयोग गरे । यूएई झिनो स्कोरमा समेटियो र नेपालले ठूलो जित हात पार्‍यो ।

सन्दीपको छायाँमा ललित

यो पटकको टिम छनोट पोखरा प्रिमियर लिग (पीपीएल) र एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा गरिएको थियो । यो दुबै प्रतियोगितामा ललितले उत्कृष्ट बलिङ गरेका थिए । उनी सन्दीपभन्दा कुनै अर्थमा कम थिएनन् ।

पोखरा पल्टनलाई उपाधि दिलाउन मुख्य भूमिका खेलेका ललित यो पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको चौथो नम्बरमा रहे । उनले आफ्नो टिमबाट सर्वाधिक विकेट लिएका थिए । पीपीएलमा सन्दीप र ललितनारायणले समान १०–१० विकेट लिएका थिए ।

अझ पीपीएलमा सन्दीपले भन्दा पनि ललितनारायणले राम्रो बलिङ गरेका थिए । ललितको इकोनोमी ६ खेलबाट ५.७९ रहेको छ भने सन्दीपको पाँच खेलबाट ६.४५ रहेको छ ।

उनले ईपीएलमा पनि सशक्त बलिङ गरेका थिए । ७ खेलमा ७ विकेट लिएका उनले कुल २७ ओभर बलिङ गर्दा ५.७० इकोनोमी थियो । उनले ईपीएलमा सन्दीप, करण, बसन्तलाई पनि बलिङमा पछि पारेका थिए । तर यो खेलमा सन्दीपले भने दुई खेल मात्रै खेलेका थिए ।

सन्दीपले आफूलाई अन्तर्राष्ट्रियस्तरमै प्रमाणित गरिसकेकाले घरेलु प्रतियोगितामा उनको प्रदर्शनको मूल्यांकन गरिरहनु खासै आवश्यक देखिँदैन । ललितको हकमा भने घरेलु प्रतियोगिता नै हो मूल्यांकनको आधार ।

यस आधारबाट हेर्दा उनी पनि कमजोर बलर होइनन् । लगातार दुई म्याचमा बल नपाएका ललितले फाइनल म्याचमा स्थान गुमाउलान् कि नगुमाउलान् ? यदि फाइनल म्याचमा स्थान दिइएन भने उनीमाथि अन्याय हुने छ किनकी उनको बलिङ परिक्षण नै हुन पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment