Comments Add Comment

प्रदेश ३ मा सार्वजनिक बिदाको अन्योल ! महानगरले मान्यो, केन्द्रले मानेन

गृह प्रवक्ताको प्रश्न– कसले भन्यो भोलि विदा ?

१५ माघ, काठमाडौं । सहिद दिवसका अवसरमा माघ १६ गते प्रदेश ३ मा सार्वजनिक विदा दिने भनेर प्रदेश सरकारले अघिल्लोसाता नै निर्णय गर्‍यो । तर, यस विषयमा प्रदेश र केन्द्रबीच सामञ्जस्य नहुँदा गञ्जागोल देखिएको छ ।

हामीले गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीलाई सोध्यौं, ‘भोलि प्रदेश ३ ले दिने भनेको बिदालाई केन्द्रले सरकारले लागू गर्छ कि गर्दैन ?’

सुवेदीले प्रतिप्रश्न गर्दै भने, ‘कसले भन्यो भोलि बिदा ? मलाई केही थाहा छैन ।’

‘तर, प्रदेश सरकारले गरेको निर्णय त बाहिर आइसक्यो नि ?’ भन्ने प्रश्न गर्दा सुवेदीले जवाफ दिए, ‘त्यो विषयमा प्रदेश सरकारलाई नै सोध्नुस् ।’

गृह प्रवक्ता सुवेदीले प्रदेश सरकारले भोलि बिदा दिने निर्णय गरेको विषयमा गृह मन्त्रालयलाई कुनै जानकारी नआएको बताए ।

‘कुनै कतैबाट, कुनै लिखित वा मौखिक केही पनि जानकारी आएको छैन । तपाईंले भनेको आधारमा मैले कसरी पत्याउनु ?’ साथै उनले भोलि केन्द्र मातहतका सबै सरकारी कार्यालय खुल्ने पनि बताए ।

उता प्रदेश सरकारका गृहमन्त्री शालिकराम जमरकट्टेलले भने बिदा दिने निर्णयको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई पठाइसकिएको बताए ।

‘हामीले मन्त्रिपरिषदको निर्णयबारे मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएका छौं । अब, संघ अन्तर्गतका कार्यालय बन्द हुन्छन् हुँदैनन्, त्यो म भन्न सक्दिनँ । तर, प्रदेशअन्तरगतका कार्यालय बुधबार खुल्दैनन् ।’

महानगरले विदा स्वीकार्‍यो

उता काठमाडौं महानगरले भने प्रदेशले दिएको बिदालाई स्वीकार गरेको छ । मंगलबार बसेको बैठकले भोलि महानगर अन्तरगतका कार्यालय र स्कुल–कलेजमा बिदा दिने निर्णय गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले अनलाइनखबरलाई बताए ।

त्यसो त अनलाइनखबरले सम्पर्क गर्दा डंगोल पनि सुरुमा अन्योलमै थिए । उनी भन्दै थिए, ‘खोई बिदा भन्ने सुनेको थिएँ, तर हामीले के गर्ने भन्ने टुंगो लागेको छैन । तर, केहीबेरको बुझबुझारथपछि नै उनले भने, ‘ए, महानगरबाट भोलि बिदा गर्ने निर्णय भइसकेको रहेछ ।’

प्रदेश र स्थानीय तहमा विदाको अधिकार

संविधान र कानूनले नै प्रदेश सरकार तथा स्थानीयले आफूखुशी बिदा दिन पाउने व्यवस्था गरेको छ । यसले बारम्बार केन्द्र र प्रदेशबीच असामञ्जस देखिने गर्छ ।

केहीअघि प्रदेश दुई सरकारले दिएको बिदा केन्द्र सरकार अन्तरगतको कार्यालयले पालना नगर्दा विवाद उत्पन्न भएको थियो । बिदा कार्यान्वयन गराउने क्रममा प्रदेश २ का गृहमन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको कार्यालयमा ताला लगाउन पुगेका थिए ।

केन्द्र सरकार, प्रदेश र स्थानीय निकायबीच विदामा एकरुपता नहुँदा एउटै प्रदेशमा कुनै सरकारी कार्यालय खुल्ने र कुनै नखुल्ने स्थिति आएको छ ।

यस विषयमा प्रदेश ३ का गृहमन्त्री जमरकट्टेल भन्छन्, ‘हामीले त संविधानले दिएको अधिकार उपभोग गरेका हौं । विदामा एकरुपता ल्याउने जिम्मेवारी केन्द्र सरकारको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment