Comments Add Comment

चोटैचोटले डुबाएको मेरो क्रिकेट

एकदिवसीय खेल्न मेहनत गर्दैछु

जब जब नेपाली टिम कुनै प्रतियोगिता खेलिरहेको हुन्छ, म आफूलाई त्यो ठाउँमा राखेर हेर्न मन पराउँछु । अहिले नेपाली टिम एकदिवसीय र टी–२० सिरिजका लागि युएईमा छ । एकदिवसीय सिरिज जित्यौं, अब टी–२० खेल्दैछौं ।

खेलाडीको रुपमा कुनै प्रतियोगिता जित्दा कस्तो अनुभव हुन्छ मैले राम्ररी बुझेको छु । सिरिज जित्दा उनीहरुको मनमा के आइरहेको होला सहजै अनुमान लगाउन सक्छु । देशलाई जिताउँदाको उत्साह र सन्तुष्टि मैले पनि अनुभव गरेको छु नि त ! त्यस्तै उत्साह र सन्तुष्टि मैदानमै पाउन प्रयास गर्दैछु, मेहनत गर्दैछु । छिट्टै टिममा फर्कने सपना बुन्न थालेको छु ।

कहिले काँही त लाग्छ, किन मलाई नै पटकपटक चोटले सताउनु परेको होला ? मेरो दुर्भाग्य भन्ने कि नियति भन्ने । जे हुनु भयो र त्यसलाई स्वीकार नगरी अगाडि बढ्नुको विकल्प छैन । विगतको घाउ कोट्याएर बस्नुभन्दा अगाडिको बाटो हेरेको छु । किनभने अझै कमब्याक गर्ने अवसर छ । घरेलु प्रतियोगिताहरुमा राम्रो गर्न सकेँ भने म राष्ट्रिय टममा फर्कन्छु भन्ने विश्वास छ र अवसर पाउँदा प्रमाणित गरेरे देखाउँछु पनि ।

****

नेपालले युएईमा खेलिरहेको सिरिजबाटै कुरा सुरु गरौं । एकदिवसीय सिरिज २–१ ले जितेको नेपालले पहिलो टी–२० म्याच बिहीबार खेल्दैछ । नेपाली टिमलाई हेर्दा अहिले निकै मिलेको देखिन्छ । खेल्ने शैली पनि निकै आकर्षक छ ।

पहिलो खेलमा कमजोर देखिए पनि बाँकी दुई वटा एकदिवसीयमा नेपालले निकै राम्रो खेल्यो । ऐतिहासिक सिरिज जित्दा अरुलाई जस्तै मलाई पनि खुशी लाग्यो । युएईलाई उसकै घरेलु मैदानमा हराउनु ठूलो कुरा हो ।

अहिले यो खेललाई किन सम्झिरहेको छु भने हामीले खेल्ने बेला नेपाली क्रिकेट के होला, कस्तो होला, कुन ठाउँमा पुग्ला भन्ने केही सोचेका थिएनौं । माहौल पनि त्यति बनिसकेको थिएन, उमेरमा पनि सानै थियौं, त्यसबेलाको उमेर नेपालको क्रिकेट यो उचाइमा पुग्ला भन्ने अनुमान लगाउन गाह्रै थियो ।

क्रिकेटमा भिज्न थालेपछि भने पनि एकदिवसीय खेल्ने र विश्वकपसम्म पुग्ने सपना देखेको थिएँ । अहिले त्यही सपना पूरा भइरहेको छ । म भने मैदानबाहिर बसेर त्यसको अनुभव गर्न बाध्य छु । तर, नेपाली क्रिकेटलाई यो स्थानमा पुर्‍याउन आफूले पनि योगदान गर्न पाएकाले खुशी लाग्छ ।

****

२०१२ मा मलेसियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोर र २०१३ मा बर्मुडामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री जित्दा म पनि राष्ट्रिय टिममा थिएँ । त्यसले नेपाली क्रिकेटलाई अगाडि लैजाने बाटो देखाएको हो । त्यसबेला राम्रो गर्न नसकेको भए अहिले पनि हामी डिभिजन लिगहरुमा खेल्दै हुन्थ्यौं होला ।

हुन त डिभिजन फाइभदेखि अहिलेसम्म हेर्ने हो भने हामी हरेक तहमा दुई पटक खेल्दै यहाँसम्म आइपुगेका छौं । २००८ मा जर्सीमा डिभिजन फाइभ खेलेको नेपालले २०१० मा काठमाडौंमा भएको डिभिजन फाइभ जितेको थियो । त्यही वर्ष इटालीमा डिभिजन फोर खेल्यौं । २०१२ मा मलेसियामा डिभिजन फोर जित्यौं । २०१३ मा बर्मुडामा डिभिजन थ्री जित्यौं । अर्को वर्ष विश्वकप छनोट खेल्यौं तर, राम्रो प्रदर्शन गर्न सकेनौं । त्यही कारण मलेसियामा डिभिजन थ्री खेल्नुपर्‍यो तर, नेपालले उपाधि जित्यो ।

एसीसी टी ट्वान्टी कप २०११ मा कीर्तिपुर मैदानमा । तस्वीर : एसीसी

२०१५ मा नामिबियामा भएको डिभिजन टुमा तेस्रो भयौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–२०१७ मा हामीले सोचेजस्तो गर्न सकेनौं । २०१८ मा नामिबियामा फेरि डिभिजन टु खेल्यौं । त्यहाँको हाम्रो उपलब्धी सबैको मनमा ताजै छ । कसरी हामी विश्वकप छनोटसम्म पुगेका थियौं र कसरी एकदिवसीय मान्यता पायौं भन्ने कुरा सबैको सम्झनामै छ ।

उमेर समूहमा कप्तानको भूमिका निभाएको मैले २०१० मा राष्ट्रिय टिममा डेब्यू गरेको थिएँ । चोटका कारण केही प्रतियोगिता छुटे पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म राष्ट्रिय टिमबाट खेलेँ । चोट बोकेका दिन सम्झँदा दुःख लाग्छ, खेलाडीलाई चोटले सताउने पीडा ठूलो हुने रहेछ ।

****

म गल्लीमा टेनिस बल खेलेर हुर्किएको हुँ । मेरो क्रिकेट मोह देखेर कक्षा ७ मा हुँदा ममीले बालुवाटार क्रिकेट एकेडेमीमा लगिदिनुभयो । एकेडेमीमा गएर सिक्न थालेपछि त क्रिकेट अलि राम्रो हुँदै गयो । त्यहाँ सामसङ, अरुण, रिकेश गुरुहरुसँग सिक्न पाएँ । त्यसबेला एकेडेमीमै गएर सिक्न पाउनु पनि ठूलो कुरा थियो । आफ्नो खेलमा के कस्तो परिवर्तन गर्नुपर्छ, कसरी खेल्दा के हुन्छ भन्ने सबै कुरा एकेडेमीमा बुझ्ने मौका पाए ।

त्यही कारण २००६ मा यू–१५ राष्ट्रिय टिममा छानिएँ । मलेसियामा भएको टु डे टुर्नामेन्ट खेल्न गएको थिएँ । हामीले जित्यौँ पनि । त्यसपछि यू– १७, यू–१९ बाट खेलेँ । २०१० मा एसियन गेम्स क्रिकेटमा राष्ट्रिय टिममा डेब्यू गरेँ । त्यतिबेला १७ वर्षको थिएँ । प्रतियोगितामा माल्दिभ्सविरुद्ध एक खेल खेल्न पाएँ त्यो २० ओभरकै प्रतियोगिता थियो ।

मलाई सम्झना छ, मैले १० बलमा ९ रन बनाएको थिएँ भने बलिङतर्फ ७ रन दिएर दुई विकेट लिएको थिएँ । १३० रनको लक्ष्य दिएको हामीले ७५ रनले खेल जित्यौं । आफ्नो डेब्यू खेलमै जित्न पाउँदा धेरै खुशी लागेको थियो ।

उमेर समूह खेलेर राष्ट्रिय टिममा आएका कारण सबै वातावरण बुझ्ने मौका पाएको थिएँ । त्यो बेलाको माहोलमा धेरै खुशी पनि लागेको थियो । रोय डायस सर प्रशिक्षक हुनुहुन्थ्यो । युवा खेलाडी भएकाले पनि मैले आफूमा धेरै परिवर्तन ल्याएको थिएँ । नयाँनयाँ कुराहरुको अनुभव पनि गर्न पाएँ ।

****

२०१२ को यू–१९ विश्वकपको बेला म नेपालको कप्तान थिएँ । एसीसी छनोट र आईसीसी छनोट दुबैमा दोस्रो भएर हामी विश्वकपसम्म पुगेका थियौं ।

त्योभन्दा अघि २०१० को विश्वकपमा लागि भएको २००९ को छनोटमा हामीले राम्रो गर्न सकेका थिएनौं । त्यसैले पनि २०१२ को लागि हामीले राम्रो गर्नु पर्ने थियो । छनोटमा सोचेजस्तो खेल्यौं र विश्वकपमा पुगेका थियौं ।

सन् २०१२ को यु-१९ विश्वकप खेल्दै बास्कोटा । तस्वीर : आईसीसी

तर, अस्ट्रेलियामा सोचजस्तो भएन । घुलमिल हुन सकौँ भनेर एक हप्ता अगाडि गएका पनि हौं । तर एसियाको अवस्था र त्यहाँको अवस्था त भिन्नै थियो । ‘स्लो ट्रयाक’मा खेलिरहेका हामी फास्ट ‘ट्रयाक’ मा फास्ट बलरका सामू निरिह जस्तो भयौं । नेपालले राम्रो प्रदर्शन गर्न सकेन । अस्ट्रेलिया र इंग्ल्याण्डसँग ठूलो हार व्यहोर्‍यौं । आयरल्याण्डसँग जित्न सकिने खेल पनि हार्‍यौं ।

हामीले फास्ट बलिङमा अभ्यास गर्ने अवस्था थिएनौं । फास्ट बलर नै थिएनन् भन्दा हुन्थ्यो । प्लास्टिक बलले नजिकैबाट बलिङ गरेर अभ्यास गरेका थियौं । अस्टे«लिया पुगेपछि अभ्यासमा ध्यान दिएका त हौं तर, सोचेजस्तो भएन ।

हुन त फास्ट बलिङ भनेर उनीहरु पनि १४५ को स्पिडमा बल फाल्ने खाले त होइनन् । मिडियम प्रेसर नै हो तर, हामीले अवस्था बुझेर खेल्न सकेनौं ।

भिन्नता के रहेछ भने ‘स्लो ट्रयाक’मा खेल्ने हाम्रो शरीरको अवस्था थोरै भएपनि सुस्त नै हुनेरहेछ । छोटो समयमा त्यो सबै बुझ्नै सकेनौं । तर, त्यस्तै अवस्थामा खेल्न जानअघि त्यस्तै तयारी हुनुपर्छ भन्ने पाठ भने सिकायो ।

हामीले कति सिक्यौं त्यो अलग हो ।

जे होस् त्यो विश्वकप क्रिकेट यात्रा हाम्रा लागि धेरै कुरा सिक्ने अवसर पनि थियो । त्यो टिमबाट राष्ट्रिय टिममा धेरै खेलाडी पुगे, कति अहिले पनि छन् । त्यसबेला राष्ट्रिय टिममा पुग्ने बाटो यू–१९ प्रतियोगितामा गर्ने प्रदर्शन नै थियो । अहिले त यू–१५, यू–१७ लाई एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नै हटाएको छ र यू–१९ को महत्व अझ बढेको छ ।

****

उमेर समूहमा राष्ट्रिय टिमको कप्तान बनेर देशलाई जिताउन पाउँदा छुट्टै सन्तुष्टि मिल्थ्यो । त्यही उपलब्धीहरुले राष्ट्रिय टिममा पनि खेल्न पाएको हो जस्तो लाग्छ । राष्ट्रिय टिमका उपलब्धी पनि सामान्य भने होइनन् ।

पछिल्ला वर्षहरुमा चोटका कारण मैले व्यहोर्नुको परेको समस्याहरु भने बग्लै छ । हुन त खेलाडी भएपछि चोटलाई स्वीकार गरेर अघि बढ्न सक्नु पनि पर्छ । तर चोट पनि एकपटक मात्रै होइन, पटक पटक हुँदा धेरै समस्या भयो । घुँडाकै चोट बल्झयो, औँला भाँच्चियो, अप्रेसन पनि सोचेजस्तो हुन सकेन । यसले मलाई लामो समयसम्म क्रिकेटबाट टाढा बनायो । र त आज लगातारको प्रयासका बाबजुद राष्ट्रिय टिममा फर्कन गाह्रो भइरहेको छ ।

हुन त घरेलु लिगहरुमा अवसरहरु पाइरहेको छु तर, त्यसमा राम्ररी बढ्न सकिरहेको छैन । इमान्दार भएर भन्नुपर्दा मैले पछिल्लो समय पाएको अवसरलाई उपलब्धीमा बदल्न सकेको छैन । अब त प्रतिस्पर्धा पनि बढिहरेको छ । नयाँ खेलाडीहरु आएका छन्, जुन नेपाली क्रिकेटका लागि राम्रो हो ।

****

सम्झिएर बस्ने मन त छैन तर, आफ्ना कुरा भनिरहँदा चोटले गलाएका दिनहरु सम्झना आएका छन् ।

सन् २०१४ को टी–२० विश्वकप छनोटका लागि २०१३ मा भएको क्लोज क्याम्पमा घाइते भएपछि मेरो क्रिकेटमा ब्रेक लाग्दै गयो । क्याम्प सुरु भएको पहिलो दिन नै घाइते भएको थिएँ । हामी वामअप गरिरहेका थियौं, त्यसका लागि विस्तारै फुटबल खेलिरहेका थियौं । खुट्टा फर्किएर म ढलेँ ।

खुट्टा विस्तारै सुन्निदै गयो । एक्सरे गरेर हेरेँ । लिगामेन्ट च्यातिएको आशंका लागेपछि एमआरआई गरियो । नभन्दै लिगामेन्ट च्यातिएको रहेछ । दुई महिना लगाएर उपचार गरेँ । घुँडाको सुरक्षाको लागि ब्रेस लगाएर पनि खेलेँ ।

एकदिवसीय विश्वकप–२०१५ का लागि २०१४ मा भएको छनोटका लागि खेल्न राष्ट्रिय टिममा फर्किएँ । छनोटका खेलहरु न्युजिल्याण्डमा भएको थियो । तर, हामीले राम्रो खेल्न सकेनौं र हामी फेरि डिभिजन थ्रीमा झर्‍यौं ।

त्यहीँ प्लेअफको अन्तिम खेलमा युगान्डासँग खेल्दा शरद भेषावकर दाइसँग ठोक्किएर फेरि घाइते भएँ । त्यसपछि घुँडाको अप्रेसन गर्नुपर्‍यो । त्यो खेलमा हामीले १६० रनले युगान्डालाई हराएका थियौं । मैले घाइते भएर रिटायड हर्ट हुनुअघि ५१ बलमा ९ चौका र १ छक्कासहित ५९ रन बनाएको थिएँ । पूरा खेल नखेले पनि त्यसमा म म्यान अफ दि म्याच भएको थिएँ ।

तर, म घाइते भएँ । ठोक्किएको बेला नै अब मैले खेल्न सक्दिनँ होला भन्ने लागेको थियो । नभन्दै त्यही चोटले विश्वकप खेल्ने मेरो सपना खोस्यो । नेपालले २०१४ को टी–२० विश्वकप खेल्दा म टिम बाहिर बस्नु पर्ने भयो । यो सबै सम्झिँदा मन अमिलो भएर आउँछ । किन त्यही बेला घाइते हुनुपरेको होला जस्तो लाग्छ । तर, खेलाडी भएपछि चोटलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । म १५ महिना जति मैदान बाहिर भएँ ।

इंग्ल्याण्डमा केन्ट क्रिकेट लिग खेल्न गएर फेरि क्रिकेटमा फर्किएँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्डसँग खेलमा राष्ट्रिय टिममा आएँ । त्यसपछि पपुवा न्यूगिनीविरुद्ध खेल्न गएँ । त्यही बेला औंलामा चोट लाग्यो । त्यसले धेरै समय मैदान बाहिर बनायो ।

अपरेसन राम्ररी नहुँदा धेरै दुःख पाएँ । सुरमा अपरेसन गर्ने कि नगर्ने भन्ने अन्यौल थियो । कसैले अपरेसन गर्नुपर्छ भन्थे, कसैले पर्दैन भन्थे । लामो अलमलपछि अपरेसन गर्ने निर्णयमा पुग्यौं तर, अपरेसन बिगारिदिए । त्यसले गर्दा समय त गयो, औंला बाँगो भयो । दुख्ने या ब्याट समाउन गाह्रो हुने चाहीँ भएन । राम्ररी खेल्न सक्छु । घुँडाको चोट पनि ठीक भएको छ ।

****

कहिले काँही लाग्छ, मलाई चोटले सताउन नै लेखिएको थियो कि ! दुर्भाग्य भन्ने कि यस्तै हो भन्ने । जे हुनु भयो तर, त्यही चोटले टिममा फर्कन गाह्रो भयो ।

हुन त अझै कमब्याक गर्ने अवसर छ । घरेलु प्रतियोगिताहरुमा राम्रो गर्न सकेँ भने कमब्याक हुन्छु । अब आफूलाई प्रमाणित गर्ने अवसर पाउँदा राम्रो गर्नैपर्छ ।

राम्रोसँग खेलिरहेको बेला घाइते भएर लामो समय मैदान बाहिर हुनुपर्दा जो कोही खेलाडीलाई अप्ठ्यारो भइहाल्छ । घाइते भएको खेलाडीलाई कसरी छिटो ठीक गर्न सकिन्छ भन्नेतर्फ कुनै काम भएको छैन जस्तो लाग्छ । आफैंले गर्न पनि राम्रो उपचारहरु सम्भव भएन, त्यसले गर्दा समय बढेको हो ।

अहिले मिलेसम्म प्रतियोगिताहरु खेलिरहेको छु । नियमित अभ्यास पनि गरिरहेको छु तर, अझैसम्म सोचेको जस्तो भइरहेको छैन । इपीएल, पीपीएल, डीपीएलमा पनि राम्रो गर्दै जान सकेँ भने कमब्याकको बाटो बन्छ भन्ने लाग्छ ।

पछिल्लो समय चोटका कारण मैदान बाहिर रहँदा अरु केही गर्ने कि भनेर पनि सोचेँ । टिममा नभएपछि आम्दानीको बाटो त बनाउनु पर्‍यो । बाहिरको जस्तो सुविधा छैन हामी कहाँ । त्यसैले व्यवसाय गर्न थालेको छु ।

तर, म क्रिकेटबाट टाढा भएको छैन । नियमित अभ्यास गरिरहेको छु, क्रिकेट खेलिरहेको छु । पहिले अरु प्रतियोगिता हुँदैनथ्यो । राष्ट्रिय टिमको खेल हुँदा मात्र अभ्यास हुन्थ्यो । अहिले टी–२० फ्रेन्चाइज लिगहरु भइरहेका छन् । राष्ट्रिय टिममा पर्नेले मात्रै होइन, घरेलु लिग खेल्नेले पनि नियमित खेल्न पाएका छन् । एउटा खेलाडीका लागि यो ठूलो कुरा हो ।

तर, क्रिकेट समर्थकलाई मात्रै होइन, हामी खेलाडीलाई पनि दुःख लाग्ने कुरा क्रिकेट संरचनाहरु नै हो ।

मूलपानीमा क्रिकेट रंगशाला बन्छ भनेर मैले खेल्ने थाल्ने बेला २००६ देखि नै सुनिएको हो । तर सुनेर मात्रै समय बित्यो । अहिले बनेको पनि अन्तर्राष्ट्रिय स्तरको छ जस्तो लाग्दैन । गएर हेर्दा पनि खुशी हुने जस्तो केही देखिँदैन । खाली एउटा खेल्ने मैदान मात्र छ । क्रिकेटबाट यत्तिका उपलब्धी पाइराख्दा पनि हुन सक्ने जति ध्यान नभएको देख्दा दुःख नै लाग्छ ।

विश्वकप खेलिसक्यौं, एकदिवसीय मान्यता पाइसक्यौं तर, पनि एउटा राम्रो क्रिकेट रंगशाला छैन । कीर्तिपुर मैदानकै पनि रेखदेख जुन रुपमा हुनुपर्ने हो भएको छैन । हिजो भर्खर चितवनमा रंगशाला बनाउने भनेर धुर्मुस सुन्तली फाउण्डेसनले घोषणा गरेका छन् । अब विस्तारै केही हुँदै जाला कि जस्तो पनि लाग्छ ।

पोखरामा पनि राम्रो मैदान बनाउन सक्ने ठाउँ छ । हामीले पीपीएलमा खेलेको मैदान नै पनि एकदमै क्षमता भएको मैदान हो । हामीले त्यहाँ राम्रो मैदान बनाउन सक्ने हो भने धेरै कुरा हुन्छ । सही ठाउँमा सही निर्णय लिन सक्नै पर्छ ।

****

अब एकदिवसीय क्रिकेट खेल्ने मन छ । मेरो मात्र होइन, क्रिकेटमा लागेका सबैको चाहना हुन्छ । अझ राष्ट्रिय टिममा खेलिरहँदा घाइते भएर बाहिर बस्नुपरेको मलाई त्यो चाहना धेरै छ । त्यसैले देशका लागि खेल्न मेहनत गरिरहेको छु । गरिरहेको पनि छु । ब्याटिङमा नै फोकस गरिरहेको छु ।

हेर्नुहोस् भिडियो

त्यसका लागि आफ्नो खेल थाहा हुनुपर्छ । टिमलाई के चाहिन्छ भन्दा पनि आफ्नो खेललाई विकास गर्दै लैजाँदा राम्रो हुन्छ । सबै कुराका लागि तयार हुनैपर्छ ।

अहिले युएईसँगको प्रतियोगितामा पनि हामीले पछिल्लो दुई खेलमा निकै राम्रो गरेका हौं । नेपालले पहिला ब्याटिङ गरेर लक्ष्य दिन सक्दैन भन्ने कुरालाई पनि फेर्न सक्यौं । यही हिसाबले नेपाली क्रिकेट राम्ररी नै अगाडि बढ्दै नै जान्छ ।

हारेको बेला सबैभन्दा धेरै दुःख लाग्ने पनि खेलाडीलाई नै हो । हामीले एउटा साझेदारी मात्रै बढाउन सकेको भए…. एउटा विकेट लिएको भए …. जित्थ्यौं जस्तो हुन्छ ।

अब टी–ट्वान्टीमा हामीले तीन खेल नै जितौं भन्ने लागेको छ । त्यसका लागि टिम तयार पनि छ । हुन त युएईको घरेलु मैदान पनि हो । उनीहरुले नियमित खेलिरहेका पनि छन् । जे होस् यो हाम्रो समय हो, हामीले जित्छौं ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : शंकर गिरी

अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २१ औँ श्रृङ्खलामा यो हप्ता क्रिकेट खेलाडी पृथु बास्कोटाको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment