Comments Add Comment

चीनमा कृषि पढ्न जाने नेपाली विद्यार्थीको कोटा बढाउन मन्त्री खनालको आग्रह

१७ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले छात्रवृत्तिमा चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदुत होउ यानकीसँग शिष्टाचार भेटमा मन्त्री खनालले अहिले निकै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरे ।

आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको संख्या घट्ने र त्यसले नेपालको कृषिलाई नै टेवा पुर्‍याउने मन्त्री खनालको विश्वास छ ।

नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजारहरु चीनमै बनेका हुने भएकाले त्यसको अध्ययनका लागि पनि पढाई र तालिम फलदायी हुने उनले बताए ।

भेटमा मन्त्री खनालले नेपालका कृषकका लागि आधुनिक कृषि तालिमको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी यसअघि माघ ४ गते सहमति भइसकेको छ ।  उक्त परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारी गरी ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम उपलब्ध गराउने सहमति भएको थियो ।

जवाफमा राजदुत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताइन् ।  उनले नेपाल र चीनबीच पुरानो मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाईमा पुर्‍याउने प्रतिवद्धता जनाइन् ।

चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको सुनाउँदै राजदुत होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment