Comments Add Comment

माधवनारायणको पशुपति दर्शन (फोटो फिचर)

२१ माघ, काठमाडौं । स्वस्थानी र माधवनारायणका व्रतालुहरुले आज काठमाडौंको पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । साँखुस्थित शालीनदीबाट खालि खुट्टा हिँड्दै पशुपतिनाथ मन्दिर आएकाहरुले सोमबार बिहानै पशुपतिनाथको दर्शन गरे । उनीहरु आजै साँझ फर्पिङ जान्छन् । फर्पिङमा बास बसेर भोलिपल्ट फेरि शालीनदी नै फर्किन्छन् । त्यसको केही दिनपछि उनीहरु चाँगुनारायणको दर्शन गर्न आउँछन् ।

‘माधवनारायण भगवान विष्णुको अवतार हुन् र उनलाई बिभिन्न क्षेत्रको भ्रमण गराउने क्रममा कहिले पशुपतिनाथ, कहिले फर्पिङ र कहिले चाँगुनारायण पुर्‍याइन्छ,’ नेपाली भाषा र संस्कृतिका जानकार डा. बासुदेवकृष्ण शास्त्री भन्छन्, ‘यो लिच्छविकालदेखि नै चल्दै आएको परम्परा हो । यही परम्पराअनुसार आज माधवनारायणको मूर्तिलाई पशुपतिको दर्शन गराइएको छ ।’

माधव नारायणलाई बिभिन्न स्थानको दर्शन गराउने काम तिथिअनुसार हुन्छ । यसलाई माधव नारायणको ‘परदेश यात्रा’ भनिन्छ । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि ‘परदेश यात्रा’ शुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

त्यसअघि पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा परदेश यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाउने प्रचलनसमेत छ ।

स्वस्थानीका व्रतालु महिलाहरुले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ । व्रतालुले एक महिनाभर नुन बार्छन् । साथै दूध, घिउ, चाकु, रातो मुला सुन्तलाजस्ता खानेकुरा मात्र खाने गर्दछन् । व्रतालुले मन्त्रोच्चारण गरी शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने र जुत्ता लगाउन नहुने परम्परा छ । माधवनारायणका व्रतालुहरु खालि खुट्टा हिँड्ने र घस्रिँदै मन्दिरसम्म पुग्ने परम्परा छ ।

स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment