Comments Add Comment

भोजपुरका किसानको ७ लाख ठगेर कर्णाली एग्रीकल्चरका सञ्चालक फरार

२० फागुन, भोजपुर । भोजपुरका किसानहरुबाट ७ लाख बढी रकम उठाएर कर्णाली एग्रीकल्चर डेभलपमेन्टका सञ्चालक फरार भएका छन् ।

फलफूल तथा अन्य जातका विरुवा दिने भन्दै संस्थाले २५ सय बढी कृषकहरुबाट ३ सयका दरले रकम उठाएको थियो । संस्थाले गत भदौ ५ गते नियुक्ति गरेका कर्मचारीले तलब नपाएपछि किसानहरु ठगिएको खुलेको हो ।

कर्मचारीहरुले गाउँगाउँमा गएर विभिन्न जातका फलफूल तथा रुखका बिरुवा दिने प्रलोभन देखाएर रकम संकलन गरेका थिए । आफूहरुले रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी उत्तराज खड्काले बताए ।

संस्थाका अध्यक्ष लालकर्ण देवकोटा, प्रदेश नम्बर १ का संयोजक भनिएका एकम शर्मा र भोजपुरकी शाखा प्रवन्धक पार्वती मल्ललाई कारबाहीका लागि कर्मचारीहरुले जिल्ला समन्वय समितिमा निवेदन दिएका छन् ।

भोजपुर नगरपालिका-७ सातधारा नजिकै सो संस्थाले कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना गरेपछि कर्मचारी भर्ना खुलाएर रकम संकलन गरेको थियो । कर्मचारीले तलव नपाएपछि संस्था अहिले बन्द छ ।

अर्गानिक खेती, वन संरक्षण सम्बन्धी जनचेतनामुलक कार्यक्रम, वन विकास सम्बन्धी धारणा विकास, उन्नत जातका बीऊबिजनहरु उत्पादन, बजार व्यवस्थापन सम्बन्धी सहजिकरण कार्यक्रमहरु गर्ने बताउँदै आफूहरुलाई काममा पठाएको पीडित कर्मचारीहरुले बताएका छन् ।

स्थानीय कर्मचारीहरु गंगाकुमार प्रधान, सन्तोस बस्नेत, मनिराज तामाङ्ग, प्रेमकुमारी खड्का र उत्तराज खड्काले सञ्चालकहरुलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

निवेदनमा ७ महिनाको तलबमध्ये २ महिनाको मात्र तलब दिएको उल्लेख छ । माघ दोस्रो सातादेखि संस्थाको कार्यालय बन्द छ । घरधनी कोपिला खड्काले सञ्चालकहरु सम्पर्कबिहीन भएको बताएकी छन् ।

निवेदन परेपछि जिल्ला समन्वय समितिले आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको छ ।

जिल्लामा एसोसिएशन अफ एग्रीकल्चर नेपाल प्रा.लि. को शाखा कार्यलयको त्यस्तै प्रकृतिको काम देखिएकोले उक्त संस्थामाथि पनि छानबिनको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment