Comments Add Comment

प्रदेशसभामा विपक्षीको प्रश्न : सरकारले के गर्‍यो चमत्कार ?

२१ माघ, पोखरा । गण्डकी प्रदेशसभामा सरकारको काम र बजेट खर्चबारे सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ ।

प्रतिपक्षका सांसदले सरकारको प्रवृत्ति र कामबारे ब्यंग्य गर्दै असन्तुष्टि पोख्दा सत्तापक्षका सांसद सरकारको बचाउ गर्दै उल्लेख्य काम गरेको दावी गरे ।

प्रतिपक्षका सांसदले सरकारले महंगी, बलात्कार र भ्रष्टाचारमा चमत्कार गरेको भन्दै ब्यंग्य गरे भने सत्ता पक्षका सांसदले प्रतिपक्षले आन्दोलनका नाममा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए ।

कास्कीका सांसद कृष्णबहादुर थापाले सरकारले एक वर्षमा उल्लेख्य काम गरेको भन्दै प्रतिपक्षीले आन्दोलनका नाममा अस्थिरता निम्त्याउन खोजिएको बताए ।

कांग्रेस सांसद विन्दुकुमार थापाले दुई तिहाइ बहुमतको सरकारको पालामा एक वर्षमै भ्रष्टाचार मौलाएको उनको भन्दै ब्यंग्य गरे । प्रदेश र स्थानीय सरकारले करको भारी बोकाएको भन्दै सांसद थापाले अहिले महानगरको सम्पत्ति घर तिर्न एउटा घडेरी बच्नुपर्ने अवस्था आएको बताए ।

नेकपा सांसद इन्द्रलाल सापकोटाले थापाको प्रतिवाद गर्दै सरकारी गाडी जलाउनेलाई खुलेआम रिहा गर भन्नु हाँस्यास्पद भएको बताए । ‘सरकारी गाडी जलाउने विषय कानुनी विषय हो,’ सापकोटाले भने, ‘म सांसदबाट कानुनी कारबाहीको माग गर्दछु ।’

सांसद दोबाटे विकले सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाए । ‘पोके बजेट होइन, अब धोके बजेट भएको छ । मन्त्रालयबाट मनपरी पैसा बाँड्ने काम भएको छ,’ विकले भने, ‘मन्त्रालयबाट बाँडिएका बजेट कसरी बाँडिउका हुन्, जानकारी दिनुहोला ।’
गण्डकी मेडिकल कलेजले विद्यार्थीको पैसा फिर्ता गरोस्

प्रदेश सभा बैठकमा बोल्दै सांसद इन्द्रलाल सापकोटाले गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट बिना बिल बढी शुल्क लिएको बताउँदै शुल्क फिर्ता आग्रह गरेका छन् । कलेजले सरकारले तोकेभन्दा २ देखि ७ लाख रुपैयाँसम्म बढी पैसा लिएको र विद्यार्थीको मागप्रति सुनुवाइ नै नगरेको उनको भनाइ थियो ।

‘गण्डकी मेडिकल कलेजमा एक सातादेखि ताला लागेको छ तर कलेज प्रशासन विद्यार्थीको माग सुन्दैन्, बार्ता गर्ने तदारुकता देखाउँदैन,’ सापकोटाले भने, ‘कलेजले कानुनमाथि नै धाबा बोलेको छ ।’

ब्याजदर घटाउन राष्ट्रबैंकलाई आग्रह

सांसद राजीव पहारीले बैंकहरुको ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । विकास खर्च हुन नसक्दा बजारमा पुँजी प्रवाह नभएको बताउँदै पहारीले तरलताको अभाव भएको बताए ।

निक्षेप र कर्जाको ब्याज अन्तर (स्प्रेड दर) ५ प्रतिशतभन्दा कम गर्नुपर्ने राष्ट्र बैंकले गरेको व्यवस्थाले व्यापारी व्यवसायी चर्को मारमा परेको पहारीको भनाइ थियो ।

बैंकहरुले १७ प्रतिशतसम्म ब्याज लिने गर्दा व्यवसायी अप्ठेरोमा परेको पहारीले बताए ।

सूर्तिजन्य विधेयक विधायन समितिमा

बुधबार बसेको संसद बैठकले ‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रस्तुत गरेको विधेयक संसदमा सामान्य छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो ।

त्यस्तै बुधबारको प्रदेशसभा बैठकले अर्थ तथा विकास समिति सदस्य पियारीलाई अब विधायन समिति सदस्य रहने गरी जिम्मेवारी हेरफेर गरिएको छ । विधायन समिति सदस्य रहेका जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन भएर पद रिक्तपछि थापाको जिम्मेवारी फेरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment