Comments Add Comment

भ्यालेन्टाइन्स डे, पुस्तकप्रेमीहरूका लागि पनि !

१४ फेब्रुअरी भन्नेवित्तिकै हाम्रो दिमागमा ‘भ्यालेन्टाइन्स डे’ घुमीहाल्छ । ‘भ्यालेन्टाइन्स डे’ ले ओझेलमा पारेको अर्को एउटा पर्व पनि पर्छ यही दिनमा । अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस ।

पुस्तक उपहार दिवस पुस्तक प्रेमीहरूले विभिन्न तरिकाले मनाउने एउटा अभियान हो । यो दिनमा आफ्ना साथीभाइ, आफन्त, प्रियजनका साथसाथै पुस्तकबाट बञ्चित बालबालिकालाई पुस्तक उपहार दिने गरिन्छ ।

यो दिनसँग सम्बन्धित अर्को एउटा रमाइलो प्रसंग पनि छ । दिलदार व्यक्तिहरूले सार्वजनिक स्थान, जस्तै– बस बिसौनी, विमानस्थल, बस तथा रेलका सिटहरूमा सद्भावले पुस्तक उपहार छोड्ने गर्छन्, ता कि कोही अपरिचित व्यक्तिले त्यो पुस्तक पढेर लाभ लिन सकुन् ।

पुस्तक आदान–प्रदान गर्ने तथा पठन संस्कार विकास गर्ने यस्ता अभियानको नेपालजस्तो मुलुकमा झन् धेरै खाँचो छ । बालबालिकालाई त खाँचो छँदैछ, प्रौढलाई पनि उक्तिकै आवश्यक छ ।

अन्तरराष्ट्रिय पुस्तक उपहार दिवस नेपालमा पनि मनाउन सुरु भइसकेको छ । सन् २०१५ देखि १४ फेब्रुअरीमा ‘परिवर्तनका लागि पहल नेपाल’ नामक सामाजिक संस्थाले यो दिवस मनाउँदै आएको छ

हाम्रो समाजमा पुस्तक पठनप्रतिको साँघुरो सोच विद्यमान छ । अझै पनि पढ्नु भनेको केवल पाठ्यपुस्तक पढ्नुलाई मात्रै बुुझ्ने गरिन्छ । क्याम्पस तथा विश्वविद्यालय पार गरिसकेपछि पढ्ने काम सकियो भन्ने सोच पनि कायमै छ । साथै, जान्नेबुझ्ने अभिभावकले नै आफ्ना छोराछोरीलाई थप पुस्तक पढ्न निरुत्साहित गरी केवल पाठ्यपुस्तकमा मात्रै जोड दिएको पाइन्छ । एकाधलाई छोडेर, विद्यालयले पनि यो भ्रम चिर्नलाई उचित भूमिका खेल्न सकेका छैनन् ।

हाम्रो शिक्षाले तोकिएको पाठ्यपुस्तकबाट बाहिर निस्केर थप पुस्तक र सान्दर्भिक विषयवस्तु अध्ययन गर्ने बानीको विकास गर्न सकेको छैन । यो विषयमा शिक्षक, अभिभावकलगायतका हामी सबैको ध्यान पुग्नुपर्छ ।

पछिल्लो समयमा पुस्तक पढ्ने संस्कार विकासका लागि केही राम्रा गतिविधि पनि भएका छन् । जस्तै– विभिन्नखालका पुस्तक प्रदर्शनी तथा मेलाहरू हुनु, साहित्यिक महोत्सव हुनु, बालसाहित्य महोत्सव तथा पुस्तक प्रर्दशनी हुनु, पठन संस्कार सम्बन्धी अन्तरक्रिया तथा छलफल आदि ।

साथै सरकारले विद्यालय पुस्तकालयमा अनुदान दिनु, विभिन्न गैह्रसरकारी संस्थाले पनि पुस्तक प्रकाशन, वितरण तथा पुस्तकालय स्थापना गर्न सघाउनु निकै सकारात्मक पक्ष हुन् । तर, यस्ता कार्यक्रम शहरबजारमा मात्रै केन्द्रित हुनाले जहाँ बढी आवश्यक छ, त्यहाँको समुदायलाई जगाउन सकिएको छैन ।

त्यस्तै, विद्यालय तथा अन्य सार्वजनिक पुस्तकालय प्रभावकारीरुपमा सञ्चालन गर्न नसक्नु अर्काे चुनौती छ । पुस्तक उपहार दिवसकै कार्यक्रममा एकजना सार्वजनिक पुस्तकालय सञ्चालकले भन्नुभयो, ‘बडो मेनहन र दुख गरेर एकलाख भन्दा बढी किताबहरू त जम्मा गरियो, तर पाठक छैनन् । अझै पनि पुस्तकालय गएर पढ्ने संस्कार विकास हुन सकेन ।’ यो राम्रो समाजको एउटा प्रतिनिधि तथ्य हो ।

अधिकांश विद्यालय पुस्तकालयको हालत यस्तै छ । दराजमा किताब त छन् । न शिक्षकलाई पढ्ने फुर्सद छ, न बालबालिकालाई पढ्न सिकाइएको छ । यस्ता पुस्तकालयको प्रयोग बढाउन सर्वप्रथम त बालबालिकाको स्तर र रुचि अनुसारका उचित पुस्तक छनौट गर्नुपर्छ । साथै पुस्तकालय प्रयोगलाई नियमित गराउन कम्तिमा पनि साप्ताहिक रुपमा हरेक कक्षालाई पुस्तकालय घण्टीको व्यवस्था गर्नुपर्छ ।

पुस्तक मानव जगतका लागि एक महत्वपूर्ण वस्तु हो भन्नेमा दुईमत छैन । पुस्तकबिना हामी एउटा सभ्य र विकसित समाजको कल्पना गर्नै सक्दैनौँ ।

भारतीयमूलका लेखक संगीत शर्मा भन्छन्, ‘पुस्तक एउटा व्यक्तित्व हो । मानव जगतले सोचेका, भोगेका र हासिल गरेका कुराहरू जादुमयी रुपमा पुस्तकका पानाहरूमा सुरक्षित हुन्छन् ।’

यसबाट के स्पष्ट हुन्छ भने पुस्तक एक निर्र्जीव वस्तुमात्रै नभएर एउटा व्यक्तित्व हो, जहाँ लेखकको मस्तिष्क लुकेको हुन्छ । घटना, विचार, ज्ञान र कलाले भरिएका पुस्तकहरू पढेर नै हामीले यो संसार बुझ्न र व्यक्तित्व विकास गर्न सकेका छौं । असीमित महत्वले युक्त पुस्तकको उचाइलाई यस्ता दिवसले अझै चुल्याउन सहयोग पुर्‍याउँछ ।

पुस्तक दिवस मनाउनु भनेको पुस्तकलाई माया र श्रद्धा गर्नु हो । यो पर्वले आम मानिसलाई पुस्तकप्रति सम्मान र यसको महत्वप्रति सचेत गराउँछ । अझ यो दिन भ्यालेन्टाइन डे पनि पर्ने भएकाले आपूmले माया गर्ने मान्छेलाई पनि पुस्तक उपहार दिएर मायाप्रेम र पुस्तक प्रेमलाई एउटै डुंगामा सयर गराउन सकिन्छ ।

अर्कोतर्फ, नयाँ पिढीँलाई पुस्तकप्रति मोह जगाउन र पठन संस्कार विकास गराउन पनि यो दिवस सहयोगी सिद्ध हुन सक्छ ।

समय बिताउन नयाँ पुस्तासँग अहिले धेरै विकल्प छन् । उनीहरू मोबाइल, कम्प्युटर, टेलिभिजन लगायतका विद्युतीय साधनहरूमा यति धेरै मग्न हुन्छन् कि, खान र सुत्नै बिर्सिन्छन् । अनि यस्ता विद्युतीय सामग्रीमा रस र लत बसेको पुस्तालाई पुस्तकप्रति आकर्षित गराउन निकै गाह्रो हुन्छ । अंग्रेजीमा एउटा भनाइ छ, ‘राम्रा पुस्तकमा कम रुचि हुनाले अन्तत्वोगत्वा बौद्धिक कुपोषण निम्त्याउँछ ।’

साँच्चै नै पुस्तकले दिमागलाई पोषण प्रदान गर्छ । अनि बालबालिकालाई पुस्तकप्रति रुचि जगाउन नसक्नु भनेको कुपोषित जनशक्ति उत्पादन गर्नु हो । अतः हामीले सानैदेखि उनीहरूमा पुस्तकप्रति रुचि बढाउन जरुरी छ । उनीहरूलाई मनपर्ने पुस्तक उपहार ल्याएर, उनीहरूसँगै बसेर पुस्तक पढिदिएर । साथै पुस्तकका बारेमा सकारात्मक कुराहरू गरेर पुस्तकप्रति मोह, झुकाव र सकरात्मक लत बसाउन सकिन्छ । यसका लागि पुस्तक उपहार दिवसले पनि सघाउन सक्छ । यस्ता दिवसमा पठन संस्कार बढाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल र विचार विमर्श हुन पनि उत्तिकै जरुरी छ ।

यो दिवसको अर्को महत्वपूर्ण पाटो भनेको पुस्तकबाट बञ्चित बालबालिकालाई पुस्तक उपलब्ध गराउनु पनि हो । उत्सुकता, जाँगर र चाहनाले भरिएका तर अभावले थिचिएका बालबालिकालाई पुस्तक जुटाउने अभियान पनि यो दिवसमा सञ्चालन गर्न सकिन्छ ।

पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय तथा पुस्तकबाट बञ्चित उनीहरूलाई तपाईं हामीसँग भएका नयाँ पुराना पुस्तक उपलब्ध गराउने र टोलटोलमा सामुदायिक तथा घुम्ती पुस्तकालय सञ्चालन गर्ने अभियान पनि चलाउन सकिन्छ । उता विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्र्थीमा पनि यो कुरा महशुस गराई पुस्तक र पुस्तकालय आवश्यक परेको ठाउँमा आफूले सकेको सहयोग गर्ने र बाँडीचुँडी पुस्तक पढ्ने संस्कार विकास गराउन आवश्यक छ ।

परोपकारका बारेमा कक्षा कोठामा व्याख्या मात्रै गर्नुभन्दा विद्यार्थी स्वयमलाई अरुलाई सहयोग गर्ने वातावरण सिर्जना गरी परोपकारलाई आफैंले बुझ्ने र अनुभव गर्ने मौका दिन सके कति राम्रो हुन्थ्यो । यो दिवसलाई एउटा नेपालीले अर्को नेपालीलाई ज्ञानले भरिएको पुस्तक दिएर सहयोग गर्ने पुनित् अवसरको रुपमा पनि विकास गर्न सकिन्छ ।

पुस्तकको महत्व बढाउने, पठन संस्कार विकास गर्ने र पुस्तकबाट बञ्चित बालबालिकालाई पुस्तक उपलब्ध गराउने अवसरको रुपमा सदुपयोग गर्न सकिने अन्तरराष्ट्रिय पुस्तक उपहार दिवस नेपालमा पनि मनाउन सुरु भइसकेको छ । सन् २०१५ देखि १४ फेब्रुअरीमा ‘परिवर्तनका लागि पहल नेपाल’ नामक सामाजिक संस्थाले विद्यालय, क्याम्पस, प्रकाशन गृह, मिडिया तथा पुस्तकप्रेमीहरूसँग मिलेर यो दिवस मनाउँदै आएको छ ।

नेपालमा यो दिवसलाई अझै व्यापक बनाउन एउटा राष्ट्रिय दिवस घोषणा गरी राष्ट्रिय पर्वकै रुपमा मनाउने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment