Comments Add Comment

संस्मरण : दुई जातिको तीतो इतिहास

मैले त्यो कार्यालयमा काम शुरु गर्दा फ्रेडीले अवकाश पाउन एक वर्ष बाँकी थियो । मेरालागी  अमेरिकाको सडकविभागको काम नौलो हुनु तर फ्रेडी बिदाईको योजना बनाउन थाल्नु एकै पटक जसो भयो । खै कसरी हो, थोरै समयमै  हामी एकअर्कासँग नजिकियौँ । उसले अवकास पाएपछि उसको स्थानमा मैले काम गर्नुपर्ने भएकाले पनि उसँग धेरै कुराहरु सिक्नु थियो । त्योभन्दा अर्को पक्ष के थियो भने उसको काम गर्ने टेबल र मेरो टेबल आमने-सामने थिए ।त्यसैले कामका बीचमा मात्र होइन, फुर्सदमा पनि हामी गफिन थालेका थियौं ।

आफ्नो निजी दिनचर्यामा त्यति खुल्न नचाहने अमेरिकी आदत बाट फ्रेडी अलग थियो । उसका धेरैजसो गफहरु सामाजिक र राष्ट्रिय विषयमा घुमिरहन्थेँ । आफ्ना जहान परिवार, चाडपर्व, धर्म, संस्कृति र समाजको बारेमा ऊ निकै चाखलाग्दा कुरा बताउँथ्यो । निख्खर कालो वर्णको, निधारमा बुढ्यौलीका बाक्ला रेखाहरु अनि सेतै फुलेको कपाल । तर, फ्रेडीको फुलेको सेतो विरलै देख्न पाइन्थ्यो । रौँ पलाउन नपाउँदै ऊ टाउको मुडुलो बनाइहाल्थ्यो । अनि त्यो मुडुलो टाउकोमा बास्नादार तेल मग्मगाएको महुसुस गरिरहन्थेँ ।

मान्छेसँग जति नजिकियो, उति व्यक्तिगत कुरा गर्न आँट आउँछ । सायद हाम्रो घुलमिल बढेकै कारण होला, मैले एकपटक फ्रेडीलाई सोधेँ -‘फ्रेडी तिमी किन सधैँ टाउको मुडुलो पार्छौ ? प्रत्येक दिन खौरिन झन्झट लाग्दैन ?’

यसले मेरो प्रश्नलाई प्रश्नकै शैलीमा सहज उत्तर दियो, ‘यही कालो छाला र घुम्रिएको कपालले हाम्रा पूर्खाहरु दासदासी बन्न बाध्य भए । हामीहरु दासदासीका सन्तान बन्न पुग्यौँ । यही कारण मलाई मेरो घुम्रिएको कपालसँग साह्रै रीस उठ्छ ।”

नगेन्द्र न्यौपाने

मैले मनमनै सोचें -‘बाहिरबाट हेर्दा फ्रेडी जतिसुकै हल्काफुल्का देखिए पनि भित्रभित्र कति औडाह रहेछ हगि । उसले कहाँको प्रसंग कहाँ लगेर टुङ्ग्यायो ।’ तर, म केही बोलिनँ ।

मैले केही नबोलेपछि उसलाई लाग्यो होला, त्यो विषयमा मेरो चाख बढ्यो । त्यसकारण आफनो कुरालाई निरन्तरता दिदैँ बोल्न थाल्यो । ‘हेर नगेन्द्र मलाई मेरो कालो छालाभन्दा पनि मेरो कपालसँग साह्रै दिक्क लाग्छ । तिम्रो कपाल बढ्दै गयो भने तल-तल लत्रन्छ । तिमी त्यसलाई काइँयो लगाएर सम्याउँछौ । हाम्रोचाँहि एकै ठाउँमा गुटमुटिन थालेपछि पृथ्वीजस्तो बाटुलो कपाललाई मुडुलो पार्नुबाहेक अर्को उपाय छैन ।’

तर, यसपटक भने उसले थालनी गरेका शारीरिक बनोटभन्दा इतिहासतिर मेरो चाख बढ्न थाल्यो । तर, सामान्य तथा यस्तो प्रश्नहरु कुनै पनि काला जातिका लागि स्वीकार्य हुदैँनन् । उनीहरु तीतो इतिहास सार्वजनिक स्थानमा सुन्न चाहदैँनन् । अपवादमा मैले ठूलो आँट गरेर सोधेँ -“तिमीलाई आफू दासदासीको सन्तान भएकोमा निकै पछुतो छ हगि ।”

मैले अन्कनाई अन्कनाई प्रश्न गरे पनि उसले निर्धक्कसँग जवाफ दियो-“दासदासीको सन्तान हुनुसँग मलाई पछुतो छैन । बरु त्यतिबेलाको अफ्रिकी मुलुकमा भएको गरिबी र अशान्तिको फाइदा अमेरिकाले लियो । तर, काला जातिलाई गोराहरुले गरेको दुव्र्यवहारसँग मलाई साह्रै औडाह हुन्छ । गोराहरुप्रति कहिल्यै मेरो भावना सफा हुन सकेन । उनीहरुले हाम्रा पूर्वजलाई पशुलाई भन्दा पनि तल्लो स्तरको व्यवहार गरे । म क्षमताहीन भएर मात्र हो । नत्र…’

फ्रेडीको कुराले मलाई साह्रै डर लाग्यो । पल्याकपुलुक यताउति हेरेँ । कसैले सुनेको त छैन ? तर, कसैले सुनेको रहेनछ ।

हुन त नेपालमा पनि दासदासी कमारा कमारी प्रथा कहाँ नभएको हो र ? दर्दनाक इतिहास कहाँ थिएन र ? मेरी आमा मलाई भन्ने गर्नुहुन्थ्यो -‘उजेली घर्तिनीकी आमालाई मेरी आमाको दाइजोमा ल्याइएको हो । उजेली घर्तिनी हाम्रो घरमा जन्मेकी हो । सानोमा हामीसँगै खेल्थ्यौँ ।’

नेपालमा यस्ता घटना तथा कथाहरु थुप्रै छन् । त्यतिबेला कमारा कमारीको बेचबिखन र दाईजो दिने चलन थियो । कमारा कमारीहरु एउटाबाट अर्को घरमा साटफेरसमेत हुन्थे । राणा प्रधानमन्त्री चन्द्रशमशेर वि.सं. १९८३ मा कानुनीरुपमा नै बन्देज लागेपछि मात्र यो प्रथा पुरै रुपमा बन्द भयो । त्यतिबेला चन्द्रशमशेरले यसका लागि ठूलै धनराशी खर्चिन पर्‍यो । तर, चतुर चन्द्रशमशेरले पशुपतिबाट उठेको दक्षिणा हात पार्न सफल भए ।

त्यही दक्षिणाले कमारा कमारीको लागेको ऋण तिरिदिएपछि मात्र नेपाल कमारा कमारीमुक्त राष्ट्र बन्न पुग्यो । त्यतिबेला करिब ५१ हजार कमारा कमारीलाई मुक्त गराउन ६० लाख रुपियाँ खर्चन परेको कुरा इतिहासमा पाइन्छ । मैले त्यहीँ कुरा फ्रेडीलाई दोहोर्‍याएँ ।

‘हेर ! दासदासी, कमारा कमारीहरु कहाँ थिएनन् ? हाम्रो देशमा अझ बिकराल थियो । त्यतिबेलाको अशिक्षित र गँवार समाजमा टाठाबाठाले निकै फाइदा लिए । नेपालमा पनि पशुकोजस्तै मान्छेको खरीद-बिक्री हुन्थ्यो । दासप्रथा थियो । सय वर्ष अगाडिको कुरालाई लिएर मन दुखाएर हुन्छ ?”

दासदासीलाई स्वतन्त्र छोड्नु भनेको कम्युनिष्टलाई भित्र्याउनु हो भन्ने गोराहरुको तर्क थियो । काला र गोरा कहिल्यै समान हुन सक्दैनन् भन्ने धारणा गोराहरुमा गहिरो रुपमा बसेको अनुभव आज पनि गर्न सकिन्छ

तर, फ्रेडीले मेरो कुरामा सहमत जनाएन । अझ आफ्नो तीतो अभिव्यक्ति दिदैँ बोल्यो ।

“त्यो तिम्रो दासप्रथा देशभित्रको प्रथा थियो । तिमीहरु आफैँ कमारा आफैँ मालिक । तिमीहरुको त्यो परम्पराजस्तो थियो । तर, हामीहरु अफ्रिकाबाट गोराहरुको कमारा कमारी बनाउनै ल्याएका हुन् । हाम्रो कालो छाला र ठूलो ओठ देखेर उनीहरुले हामीलाई गवाँर ठाने । हामीलाई पशुसरहको व्यवहार गरे ।’

मेरो कुरामा फ्रेडीले समर्थन जनाउने देखिनँ । ऊ विगतको इतिहाससँग निकै रिसाएको भान हुन्थ्यो । मैले अझ प्रश्न गर्ने आँट गरिनँ । वास्तवमा फ्रेडीले भनेको जस्तै अमेरिकाको दासदासी प्रथा निकै दर्दनाक थियो । अमेरिका र नेपालका कमारा कमारी प्रथामा निकै भिन्नता छ । निकै फरक छ ।

अमेरिकामा दासत्वको सुरुवात सत्रौँ शताव्दीबाट भएको हो । सबैभन्दा पहिलो खेप ईश्वी १६१९ मा २१ जना दासहरुबाट भएको थियो । ती २१ जनाबाट शुरु भएको दासहरुको यात्रा उन्नाईसौँ शताब्दीको वीचतिर करिव १ करोड अमेरिका भित्रिएका थिए ।

अफ्रिका महादेशबाट नयाँ संसारमा भित्रिएका काला जातिका दासदासीको मुख्य काम सुर्ती, धान र कपास खेतीमा मालिकलाई सहयोग गर्नु थियो । त्यतिबेला अमेरीकाको मेरील्याण्ड, भर्जिनिया, जर्जिया जस्ता घनावस्तीमा दासदासीको निकै खाँचो हुन्थ्यो । उनीहरु पशुसरह बजारमा बिक्री गर्न राखिएका हुन्थेँ ।

सन् १८६२ मा राष्ट्रपति अब्राहम लिङ्कनले दासप्रथालाई कानुनीरुपमा अवैधानिक घोषित गरेपछि अमेरिकाबाट सदाका लागि दासहरु स्वतन्त्र भएर आफ्नो जीवन चलाउन थाले । त्यसकारण अमेरिकाको इतिहासमा फेब्रुअरी महिनालाई कालाजातिको ऐतिहासिक महिनाका रुपमा मनाउने गरिन्छ ।

अब्राहम लिंकनको जन्म महिना फेब्रुअरी पारेर यो दिवस मनाउन थालिएको हो । त्यतिबेला दासदासीलाई मुक्त गरिएकामा विरोध गर्ने गोरा जाति पनि कम थिएनन् । दासदासीलाई स्वतन्त्र छोड्नु भनेको कम्युनिष्टलाई भित्र्याउनु हो भन्ने गोराहरुको तर्क थियो । काला र गोरा कहिल्यै समान हुन सक्दैनन् भन्ने धारणा गोराहरुमा गहिरो रुपमा बसेको अनुभव आज पनि गर्न सकिन्छ ।

तर, यतिमा मात्र अमेरिकाको तीतो इतिहास सीमित छैन । काला जातिले आफ्नो अतीत भुल्न सक्दैनन् । किनकि गोराहरु काला जाति खोज्दै प्रशान्त महासागर तरेर अफ्रिका महादेश पुग्थे । अनि अमानवीय तरिकाबाट उठाएर उनीहरुलाई पानीजहाजमा कोच्थे । आफ्नो गाउँमा गोराहरु हिडेँको देख्नासाथ कालाहरुको सातो जान्थ्यो । उनीहरुको भागाभाग चल्न थाली हाल्थ्यो । कोही लुक्न थाल्थे ।

तर, गाउँबाट भाग्दैमा र लुक्दैमा कालाहरु फुत्किन पाउँदैनथे । कुकुर लगाएर हुन्छ, वा चारैतिरबाट लाठी, ढुङ्गा हानेर भए पनि समातिहाल्थे र डोरीले बाँधेर पानीजहाजमा धकेलिहाल्थे । यतिले पनि पानीजहाज भरिएन भने गाउँम्ाा आगो लगाएर पनि कालाहरुलाई समात्ने गर्थे ।

तर, यो दानवीय कार्यशैलीको व्यापकरुपमा विरोध हुन थाल्यो । साथै गोराहरुलाई कालाको शिकारमा पनि धौ धौ पर्न थालेपछि गोराहरुले अर्को उपाय लगाए । स्थानीय कुनै काला व्यक्तिलाई नै पैसा दिएर नाइके नियुक्त गरे र त्यो नाइकेको मुख्य काम कालाहरुलाई समातेर राख्ने अनि गोराको जिम्मा लगाउने । पछि हाटबजार नै हुन थाल्यो । मोलमोलाई शुरु हुन थाल्यो । बलिया, बाङ्गा बढी मुल्यमा बिक्री हुन थाले । सोझासाझा, लुला, रोगीहरुको मूल्य कम गरियो । यसरी अफ्रिकाका विभिन्न भागमा बिक्रीकक्षहरु खुल्न थाले । अमेरिकाबाट पनि जहाजको ताती लाग्न थाल्यो ।

काला जातिको दर्दनाक व्यथा यतिले मात्र सकिँदैन । उनीहरु पानीजहाजमा पस्नासाथ सजिलैसँग अमेरिका उत्रन पाउँदैनथे । हप्तौँसम्मको पानीजहाजको खुल्ला यात्रा यतिसम्म कष्टकर हुन्थ्यो कि मुसलधारे पानी वषर्ा होस् वा टन्टलापुर घाम उनीहरुले सहनै पथ्र्यो । एकातिर पानी जहाजको कोचाकोच, अर्कोतिर दिसा पिसाव अनि कुहिएको सडेगलेको खानेकुरा  । धेरैजसो अर्धमुर्छित हुन्थे भने कोही कोहीको जीवनलीला नै समाप्त हुन्थ्यो । मरेकालाई पानीजहाजबाट समुद्रमा फालिदिनुबाहेक अर्को उपाय थिएन । तर, अर्धमुर्छित र बिरामीलाई पनि पानीमा हुत्याइदिन्थे । उनीहरु औषधी उपचारको झन्झट लिदैँनथे ।

यो पीडादायी र नमीठो कहानी न गोराहरु भन्न चाहन्थे न कालाहरु सम्झन । उनीहरुको दिनचर्या गुपचुपमा नै चलेको थियो । अञ्दाजको भरमा नै महसुस गरेका हुन्छन् । अझ सार्वजनिक ठाउँमा वर्ण, जात, धर्मका बारेमा छलफल गर्नु अमेरिकी कानुनको विरुद्ध नै हो । तर, यो कानुनलाई फ्रेडी र मैले धेरैपटक नै मिचेका छौं । हामीले यसको बहस गरेका छांै ।

त्यसताका (सन् २०१२) नेपालबाट मेरो साथीको एकजना आफन्त व्यक्ति अमेरिका आउनुभएको थियो । त्यति टाढाबाट आएपछि साथीको आफन्त पनि मेरै आफन्त । फुर्सद हुनासाथ उहाँ मेरो कोठामा आउनुहुन्थ्यो । हामीहरु निकैबेर गफ गर्थ्यौं। नेपालमा सरकारी जागिर भएका ती व्यक्तिको बिहान-बिहान मर्निङवाक गर्ने बानी रहेछ । एक दिन बाहिर निस्कनुभयो । र, आफ्नो हिँडाइ सकेपछि सरासर मेरै कोठामा आउनुभयो र केही अनौठो मान्दै सोध्नुभयो ।

“यी कालाहरु कहाँका होलान् ? कालाहरु त यहाँ  पनि देखिँदा रहेछन् । यिनीहरुसँग बोल्दा डर हुँदैन ?” उनको सोचाइले मलाई नरमाइलो लाग्यो । नेपालको सरकारी कर्मचारी त्यसमा केही सुझबुझ भएको व्यक्तिको मानसिकता त यस्तो छ भने अरुको कस्तो होला ? उनले यो प्रश्न मलाई सोध्नै नहुने ।

“किन र ?” मैले सोधेँ ।

“आज बाटोमा एउटा काले भेट भएको थियो । मसँग बोलौँ बोलौँ गरेर नजिकै आयो । तर, म डराएर भागें । बोलिनँ । घरतिर आएँ ।”

“काला व्यक्ति मान्छे होइन र ? मान्छेसँग बोल्न किन डराउनुपर्‍यो र ? अमेरिकामा काला, गोरा सबै सराबरी छन् । कोहीसँग पनि डराउनुपर्दैन ।”

उनले मेरो कुरा सुने । तर, केही बोलेनन् ।

कालो वर्णको व्यक्तिलाई नेपालीमा वा हिन्दीमा होच्याएर भन्नुपर्दा हामी ‘हब्सी’ प्रयोग गर्छौं । अफ्रिकी मूलको कालो व्यक्तिलाई यो शव्दले सम्बोधन गर्नु विभेदको पराकाष्टा हो । ऊ रिसाउँछ । तर यो शब्द आफैँमा नराम्रो होइन । यो शव्द अवसिनियाबाट आएको हो । अवसिनिया भनेको इथियोपियाको पुरानो नाम हो । अवसिनियाबाट अपभ्रंश भएर हब्सी या हप्सी भएको हो । त्यस्तै अफ्रिकन मुलको कालो ब्यक्तिलाई अंग्रेजीमा भन्नुपर्दा नेग्रो भनिन्छ । नेग्रो शव्द आफैँ पनि नराम्रो होइन । विशेषतः अफ्रिकाको नाइजर नदी (नाइजेरिया) वरिपरि बस्ने वासिन्दालाई नेग्रो भन्ने गरिन्थ्यो । त्यहाँका वासिन्दा कालो वर्णको हुनु र स्पेनिस भाषामा कालोलाई नेग्रो भनिनुले पनि यो शब्द प्रयोग हुन आएको हो । जहाँ जुन अर्थ लागे पनि अमेरिकामा यो शव्दलाई उचित मानिदैँन, कालो व्यक्तिलाई खसालेर सम्बोधन गरेको अर्थ लाग्छ ।

नेपालबाट आएका ती व्यक्तिको तीतो शब्द सुनेपछि मेरो धेरै दिनसम्म दिमाग तातिरह्यो । “के साँच्चै नेग्रो शब्दले कालाहरु रिसाउँछन् त ? उनीहरुलाई मन पर्छ कि पर्दैन ।” एकदिन फ्रेडीलाई सोधेँ ।

“फ्रेडी तिमीलाई मैले निग्रो भनेर सम्बोधन गरें भने तिमी रिसाउँछौ कि रिसाउँदैनौँ ?”

फ्रेडी बोल्दै गयो । गाउँघर, टोलछिमेकमा त हामी ठगियौँ, ठगियौँ । हामी संसारभरि नै ठगियौँ । तिमीले मलाई तिम्रो देशमा उच्च जातमा राखे पनि मेरो कालो छालालाई तिम्रो समाजले आजसम्म पनि निग्रो नै देख्छ ।’

मैले डराई डराई उसलाई सोधेँ । उसले कत्ति नरिसाई उत्तर दियो ।

“मलाई नेग्रो भनेको पटक्कै मन पर्दैन । यो शब्दले मलाई सम्बोधन गरे भने म अपमान सम्झन्छु । म मात्र होइन, कुनै पनि कालो व्यक्तिले स्वीकार गर्दैनन् । तर, म नेग्रो जातिकै हुँ । सम्भवतः पूर्खाहरु पश्चिमी अफ्रिकी मुलुकबाट आएका हुन् ।”

त्यो बेलादेखि मैले थाहा पाए कि फ्रेडीलाई नेग्रो शव्द मन पर्दो रहेनछ ।

“के तिमीले आफ्नो पूर्खाको बारेमा खोजीनिति गरेका छौ ? उनीहरुअफ्रिकाको पश्चिम मुलुकबाट नै ल्याइएका थिए ?” मैले सोधेँ ।

“अहिलेसम्म गरेको छैन । तर, अर्को वर्ष अफ्रिका जान्छु र यसबारेमा खोजतलास गर्छु ।”

तर, मसँग फ्रेडीको चिनजान हुनासाथ फ्रेडीले नेपाल र नेपाली समाजबारे अध्ययन गरिसकेको रहेछ । बेलाबेलामा निकै घतलाग्दो प्रश्नहरु गरिरहन्थ्यो । अनौठो अनौठो जिज्ञासा राखिरहन्थ्यो । म सकिनसकी जवाफ दिइरहेको हुन्थेँ । एकदिन उसले मलाई सोध्यो ।

“नगेन्द्र तिम्रो देशमा विभिन्न जातजाति र वर्ण रहेछन् । तिमी कुन वर्णका हौँ ?”

“म ब्राह्मण वर्णको हुँ ।” मैले सामान्य अर्थमा उत्तर दिएँ ।

“यदि म नेेपाल गएँ भने म कुन जातमा पर्छु ?” फेरि उसले सोध्यो ।

तर, मैले उसको यो प्रश्नको उत्तर तत्काल दिन सकिनँ । धेरैबेर घोरिएँ । के भनेर भनिदिऊँ । उसको चित्त त बुझाउनैपर्‍यो ।

“नेपालका लागि तिमी पाहुना हौ । नेपालमा पाहुनालाई देउतासरह मानिन्छ । तिमी सबैभन्दा माथिल्लो जातमा पर्छौ ।”

उसको आँखा घुमाइ र अनुहारले प्रष्ट देखाइहालेको थियो । उसले यो कुरालाई सजिलैसँग स्वीकार गरेन ।

‘नपत्याएको ?’ मैले सोधेँ ।

उसले केही भावुक हुदैँ अर्को विषय वस्तुतिर लाग्यो ।

तिम्रो देशमा छुन हुने र छुन नहुने जात पनि छन् अरे । मैले पढिसकेँ । कस्ता हुन्छन् छुन नहुने जात ? तिनीहरुलाई कसरी चिन्ने ? के फोहोरी भएर छुन नभएको हो ?

म साह्रै संकटमा परें । उसलाई कसरी उत्तर दिऊँ ? कसरी चित्त बुझाऊँ ? म धेरैबेर रोकिएँ । र, अन्कनाउँदै छोटो उत्तर दिएँ । थर अनुसार । तर, अचेल त्यसको पनि असर छैन ।

तर, संकट त मलाईभन्दा बढी उसलाई पो परेको रहेछ । ऊ निकै भावुक हुँदै बोल्न थाल्यो – ‘मैले थाहा पाइसकें । नेपालमा व्यक्तिको थर अनुसार छुत र अछुत पहिचान हुने रहेछ । यदि उसले आफ्नो थर नै बदल्न सक्यो भने ऊ उपल्लो दर्जामा जान सक्छ । तर, हामी हाम्रो छालाको रङ अनुसार कहिल्यै छुटकारा पाउँदैनौँ । विभेदको सामना गर्न नसकेर नै  माइकल ज्याक्सनले छाला नै फेर्न बाध्य भए ।

फ्रेडी बोल्दै गयो । गाउँघर, टोलछिमेकमा त हामी ठगियौँ, ठगियौँ । हामी संसारभरि नै ठगियौँ । तिमीले मलाई तिम्रो देशमा उच्च जातमा राखे पनि मेरो कालो छालालाई तिम्रो समाजले आजसम्म पनि निग्रो नै देख्छ ।’

(पेशाले इन्जिनियर नगेन्द्र न्यौपानेको ‘दरबार बाहिरकी महारानी’ उपन्यासबाट चर्चामा आएका हुन् । उनका दुई नियात्रा सङ्ग्रह पनि प्रकाशित छन् । हाल उनी अमेरिकामा बसोबास गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment