Comments Add Comment

प्रधानमन्त्री ओलीको घोषणा- एउटै जंगलमा दुईवटा शेर देखायौं, अर्को चुनावमा पनि दुई तिहाई !

८ फागुन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै जंगलमा दुईवटा शेर अट्न सक्दैनन् भन्नेहरुलाई दुईवटा शेरहरु अटाएर देखाइदिएको बताएका छन् । साथै, सरकारले गरेको कामलाई हेरेर आगामी निर्वाचनमा पनि नेकपाले दुई तिहाई बहुमत ल्याउने प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको विशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा एकतावद्ध भएर अघि बढिरहेको बताए । अर्का पार्टी अध्यक्ष प्रचण्डसँगै कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले नेकपा कार्यकर्तालाई भने, ‘धेरैले भन्छन् एउटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् । तर, हामीले देखाइदियौं एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन् ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालतर्फ संकेत गर्दै भने, ‘नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्वप्रधानमन्त्री भएको पार्टी हो । अरु धेरै क्षमतावान नेता भएको पार्टी हो । यसले नै देशलाई सही दिशामा अघि बढाउँछ ।’

नेकपाका अध्यक्षसमेत रहेका प्ा्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकीकरणमा केही ढिलाइ भएको भए पनि यो अवस्था अब नलम्बिने दाबी गरे । उनले अगाडि भने, ‘पार्टी एकीकरणमा केही ढिलाइ भयो, तर अब त्यो अवस्था रहँदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिँदैछ ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राम्रो काम गरिरहेको हुँदा आगामी निर्वाच्ानमा पनि नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने दाबीसमेत गरे । ‘वर्तमान सरकारका काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाच्ानमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ ।’

प्रधानमन्त्री ओलीले अघिल्ल्ाो बर्ष देशको ढिकुटी रित्तिएकाले ज्येष्ठ नागरिकको भत्ता वृद्धि गर्न नसकेको तर आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताए ।

नेकपाभित्र केपी ओली पक्षले पार्टी एकता प्रक्रियामा ढिलाइ गरिरहेको माधव नेपाल र प्रचण्ड समूहले गुनासो गरिहेका बेला प्रधानमन्त्री ओलीले पार्टी एकता चाँडो पूरा गरिने आश्वासन दिएका हुन् ।

यसैवीच पार्टी एकताबारे छलफल गर्न विहीबार काठमाडौंमा सचिवाय र कार्यदलको संयुक्त बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment