Comments Add Comment

बेलायत पुगेर अर्थमन्त्रीले भने- विमानस्थलमा हुने जाँचपासलाई ठूलो मुद्दा बनाइयो

Photo Credit : फाइल फाेटाे

९ फागुन, काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले विमानस्थल भन्सारमा भइरहेको जाँचको विषयमा भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले विमानस्थल भन्सारमा हुने जाँचको विषयलाई ठूलो मुद्दा बनाइएको भन्दै सामान्यरुपमा लिन आग्रह गरेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउनेहरुले ल्याउने सामग्रीको जाँचपासमा कडाइ गरिएको छ ।

राजस्व बढाउन भन्दै भन्सारमा कडाई गरिएपछि प्रवासी नेपालीहरुले असन्तुष्टि जनाइरहेका छन् । यस्ता विषयलाई अनावश्यक रुपमा उचालिएको भन्दै अर्थ मन्त्री खतिवडाले त्रिभुवन विमानस्थलबाट हुने जाँचपास सहज रहेको दाबी गरे ।

यो पनि पढ्नुहोस ‘विमानस्थलमा सामान जफत गर्ने क्रम जारी छ’

लगानी सम्मेलनको तयारीका लागि बेलायतको लण्डनमा रहेका अर्थ मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघको कार्यक्रममा भने, ‘ठूला मुलुकमा चेकजाँच हुदाँ सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठूलो  मुद्दा बनाइयो ।’

अर्थ मन्त्री खतिवडाले नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गरे ।

यो पनि पढ्नुहोस विदेशबाट फर्किँदै हुनुहुन्छ ? तपाईंले ल्याएको सामान विमानस्थलमा जफत हुनसक्छ यो पनि पढ्नुहोस विमानस्थलमा यात्रुबाट जफत आईफोनदेखि क्रिकेट ब्यागसम्म लिलामीमा यो पनि पढ्नुहोस विमानस्थल भन्सारमा कडाइप्रति प्रवासी नेपाली असन्तुष्ट

‘लगानी गर्न आउनुस्’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरे ।

गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै उनले सामूहिक लगानी कोष मार्फत लगानी गर्न गरेका हुन् ।

आफू एनआरएनएहरुका समस्या र सम्भावनाबारे छलफल गर्न लण्डन आएको उनले बताए । विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै उनले सबै देशले पनि पँूजी खाता नियमन गर्ने व्यवस्था भएको स्मरण गराए ।

करका दरहरु बढेका नभई सुधार गरिएको उनको भनाइ छ । इतिहासमै पहिलो पटक यति धेरै आर्थिकवृद्धि हुने भन्दै उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिकवृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको दाबी गरे ।

मुल्यवृद्धि चार प्रतिशतको वरिपरि रहेको उनले बताए । वैदेशिक व्यापारको समस्या अहिले सृजना नभएको भन्दै उनले यो विगतको संरचनागत समस्या कारण भएको बताए ।

विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाको भनाइ छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए ।

२९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार बेलायत गएका हुन् ।

सम्मेलनमा अर्थ मन्त्री डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पुर्‍याउने उद्देश्य छ ।

अर्थमन्त्री खतिवडाले बेलायतस्थित नेपाली राजदुतावासले भोलि शुक्रबार आयोजना गर्ने ‘नेपाल विकास सम्मेलन’मा प्रमुख वक्ताको रुपमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment