Comments Add Comment

भ्याली कोल्डस्टोर : जसले बनायो सफा मासुको ‘बेन्चमार्क’

१२ फागुन, काठमाडौं । नेपालमा साझेदारीको व्यवसाय सफल हुन्छ भन्नेमा अझै पनि धेरैलाई विश्वास छैन । हुन पनि साझेदारीका धेरै उद्योग-साझेदारहरुबीच हुने मतभेदले धराशायी भएका थुप्रै उदाहरण छन् ।

तर, कुखुराको मासुको व्यवसायमा छुट्टै पहिचान बनाएको भ्याली कोल्ड स्टोर भने साझेदारीमै फस्टाइरहेको छ । फरक-फरक साझेदार मिसिएर यो उद्योग भ्याली ग्रुप अफ इन्डस्ट्रिजमा परिणत भइसकेको छ ।

श्रीकृष्ण घिमिरे, सानुबाबु विन्दुकार र हरिकृष्ण रावलले २०३८ सालमा एकसाथ बसेर आधुनिक मासु व्यवसायको परिकल्पना गरेका थिए । उनीहरु तीनै जना फरक-फरक जात र पारिवारिक पृष्ठभूमिका थिए । त्यतिबेला खड्गी समुदायलाई मात्र मासुको कारोबारी मानिने भएकाले बाहुन-क्षेत्री यसमा आउनु आश्चर्य मात्रै थिएन, समाजका लागि लगभग अस्वीकार्य थियो ।

तर, तीनै जनाले समाजको सोचलाई परिवर्तन गर्ने गरी मासु व्यवसायमा नयाँ किसिमबाट काम थाले र त्यसलाई निरन्तरता दिए । जबकी त्यतिबेला बाहुनले कुखुराको मासु खानु हुँदैन भन्ने मान्यता थियो । तर, तीन जना साझेदारले आपसी समझदारी र दृढ अठोटमार्फत आफ्नो उद्योगलाई नेपालकै अग्रणी बनाउन सफल भएका छन् । साझेदारबीच सामञ्जस्यता र हरहिसावमा पारदर्शीताको सुत्रमै यो कम्पनी पृथकमा गनिएको सञ्चालकहरु बताउँछन् ।

भ्याली कोल्ड स्टोरले नेपालमा अन्तर्राष्ट्रिय चेन रेष्टुरेन्ट केएफसीलाई पनि मासु उपलब्ध गराउँछ । यो व्यवसाय अहिले संस्थापक साझेदारले आफ्ना छोरा पुस्तालाई हस्तान्तरण गरेका छन् । हरिकृष्ण रावलका छोरा बाबुराजा रावल कम्पनीको प्रवन्ध निर्देशक छन् भने घिमिरेका छोरा सक्षम घिमिरे, विन्दकारका पुत्रद्वय राज विन्दुकार र प्रकाश विन्दुकार पनि कम्पनीमा आवद्ध छन् । उनीहरु सबै मिलेर ग्रुपलाई अघि बढाएका छन् ।

३८ सालमा काम थालिए पनि यो कम्पनी २०४१ सालमा विधिवत दर्ता भएको थियो । तीन जनाबाट साझेदारीमा सुरु भएको यो बिजनेस हाउसमा अहिले अन्य साझेदार थपिएका छन् । यो समूह अझै पनि मिलेरै गर्ने सोचमा नयाँ साझेदारलाई भित्र्याउँदैछ ।

आफूलाई कुखुरा कृषकको सारथि मान्ने भ्याली हाल प्रारम्भिकस्तरको चल्लाको माउ उत्पादन गर्नेदेखि खानका लागि तयार भएको मासु बेच्नेसम्मका काममा संलग्न छ ।


सुरुमा यो व्यवसाय थाल्दा नेपालमा मासुलाई सफा तवरबाट बिक्री गर्ने फ्रेस हाउसको अवधारणासम्म आएको थिएन । स-साना पसल नै मासु बेच्ने काममा संलग्न थिए । छरिएर रहेका मासु पसल अस्तव्यस्त थिए ।

त्यतिबेलै भ्यालीले नै सफा मासु बेच्ने व्यवस्थित पसलको ‘बेन्चमार्क’ खडा गर्‍यो । मासुमा पनि कुखुरामै केन्द्रीत भयो, यसको खास कारण के थियो भने तीनै जना साझेदारहरुसँग पहिले सानो फार्ममा कुखुरा पालेको अनुभव थियो ।

त्यतिबेला कुखुरा पाल्नेलाई बजारको समस्या हुन्थ्यो । खसी र राँगाकै मासु बेच्नेहरुलाई कुखुरा काट्न र बेच्न दिन लगाउनुपर्ने हुन्थ्यो कृषकले । यही बजारको समस्यालाई चिर्न पनि आफूहरुले भ्याली कोल्ड स्टोरको परिकल्पना गरेको बताउँछन्, हरिकृष्ण रावल ।

पहिलो दुई वर्षमा जनस्तरमा कम्पनी चिनाउन ठूलो संघर्ष गरे उनीहरुले । त्यसपछि कम्पनीले कहिल्यै पछाडि फर्किएर हेर्नु नपरेको सञ्चालकहरु बताउँछन् ।

भ्याली कोल्ड स्टोर अहिले नेपालमा आफैं स्थापित भएर कहलिएको फरक ब्रान्डमध्ये एक हो । कम्पनीको दाबी के छ भने गुणस्तरीय मासुलाई उत्कृष्ट सेवासहित पस्किएका कारण सफलता सम्भव बनेको हो ।

स्रोत अर्थात् कृषकको फार्मदेखि नै गुणस्तर कायम गर्नुपर्छ भन्ने मान्यतासहित हाल कम्पनीले कुखुराको दाना उद्योग पनि खोलेको छ । चल्ला उत्पादन गर्नेको पनि माउ (ग्रान्ट प्यारेन्ट चल्ला) सम्ममा भ्यालीको लगानी छ, यसमार्फत माउ चल्ला ह्याचरीहरुलाई बेचिन्छ ।

कम्पनीबाट ८ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कम्पनीको नेटवर्कमा ४ देखि ५ हजार भन्दा बढी कृषकले लाभ उठाएको बताउँछन् प्रवन्ध निर्देशक रावल । कम्पनीसँग हाल प्रतिघण्टा १८ सयदेखि २ हजारवटा कुखुरा तयार गर्ने क्षमताको आधुनिक बधशाला छ । कम्पनीले दिनमा ५ घण्न्टा ‘स्लटर हाउस’ चलाउँछ ।

अबको योजना उपत्यका बाहिर

अब कम्पनी नयाँ स्टर हाउसमा जाने तयारीमा छ । धादिङमा आधुनिक बधशाला खोल्न जग्गा लिएर वातावरणीय अवस्थाको परीक्षण (आईईई) गरिससकेको छ । प्रतिघण्टा ४ हजार कुखुरा बध गर्न मिल्ने गरी प्लान्ट राख्न लागिएको हो । भविष्यमा यसलाई विस्तार गरेर ६ हजार प्रतिघण्टामा लैजाने दाबी कम्पनीको छ ।

यहाँ अझै आधुनिक प्रविधि प्रयोग गर्ने र गुणस्तरमा थप वृद्धि गर्ने योजना रहेको रावल बताउँछन् । यो स्लटर हाउस खुलेपछि मासुका नयाँ आउटलेट उपत्यका बाहिर पनि लैजाने कम्पनीको योजना छ ।

कम्पनीले सुरुमा बालाजुमा दाना उद्योग खोलेको थियो । हाल भने हेटौंडामा २० टन प्रतिघन्टा क्षमताको पेलेट दाना उद्योग हेटौंडा औद्योगिक क्षेत्रमा चलाइरहेको  छ ।

झापामा पनि भ्यालीको प्रतिघण्टा १० टन पेलेट दाना उत्पादन गर्ने  उद्योग निर्माणधीन छ । अबको दुई महिनामा यो उद्योग पनि सञ्चालनमा आउँदैछ ।

‘रेडी टु इट’ सम्म


यो कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ २२०००ः २००५ प्राप्त गरेको छ । यो ‘हलाल सर्टिफाइड’ कम्पनी पनि हो । तीन वर्षदेखि यसको मासु केएफसीले पनि लिइरहेको छ ।

कुखुराको मासुको व्यवसाय अरुभन्दा संवेदनशील रहेको सञ्चालकहरुको अनुभव छ । विशेषगरी कुखुरालाई एउटा निश्चित समयमा बजारमा पठाइसक्नुपर्छ । भूकम्प र नाकाबन्दी लगायतका समयमा कम्पनीले निकै ठूलो चुनौती बेहोर्‍यो । कम्पनीले केही वर्षदेखि फास्टफुड चिकेन रेस्टुरेन्ट पनि चलाइरहेको छ, चेनका रुपमा ।

‘रेडी टु इट’ मासु उपलब्ध गराउने गरी भ्याली एक्सप्रेसका ब्रान्डमा चितवन, बसन्तपुर, महाराजगञ्ज र बालाजुमा चिकेनको स्वाद पस्किने रेस्टुरेन्टहरु खुलेका छन् जहाँ उच्च गुणस्तरका ‘रेडी टु इट’ परिकार पस्किने गरिएको दाबी कम्पनीको छ । अब तत्कालै त्रिभुवन विमानस्थलमा पनि रेस्टुरेन्ट खोल्न लागिएको रावल बताउँछन् ।

विस्तारको योजना

पोल्ट्रीमा यतिको सफलता पाएपछि अब खसी, राँगालगायतका ‘रेड मिट’को मार्केटमा नजाने ?

‘हामी अहिले नयाँ क्षेत्रमा जानेबारे सोचेका छैनौं । हामी पोल्ट्री क्षेत्रमा भइरहेका कामलाई कसरी अझ व्यवस्थित गर्ने भन्नेमा नै केन्द्रीत छौं,’ रावल भन्छन्, ‘सेवालाई कसरी अझै चुस्त र गुणस्तरीय बनाउने भन्नेमा हामी केन्द्रीत छौं ।’


स्वास्थ्यका हिसाबले रातो मासुभन्दा सेतो मासु राम्रो मानिन्छ । पछिल्लो समयममा सेतो मासुको प्रयोग बढ्दै गर्दा कम्पनीले यसलाई अवसरका रुपमा उपयोग गर्न खोजेको देखिन्छ ।

सस्तो मूल्यमा धेरै प्रोटिन प्राप्त गर्ने स्रोतका रुपमा पनि कुखुराको मासु रहेकाले अरु मासुतर्फ ध्यान नदिइएको रावल बताउँछन् ।

‘नेपालमा मासुका लागि भैंसी  पालिँदैन, एकपटक स्वास्थ्यबारे सोचेर मात्रै मासु खाने प्रचलन बढ्दै गर्दा पनि कुखुराको मासुको बजार फैलिँदै गरेको देखेका छौं,’ रावल भन्छन् ।

बदलिएको संस्कार

ग्राहकमा मासु खाने संस्कार बदलिएकाले त्यसैअनुरुप सेवालाई परिमार्जन गर्दै लगेको छ भ्यालीले । कुनै समयमा ज्युँदो कुखुरा आफ्नै अघि काटेको देखेपछि मात्रै मासु लैजाने ग्राहक अहिले तयार गरेर राखिएको मासु सजिलै स्वीकार्छन् । अहिले ज्युँदो कुखुरा किन्ने ग्राहक ५ देखि १० प्रतिशत मात्रै छन् ।

अहिले पिस छानेर लाने, छुट्याएर लैजाने, बोनलेस खाने, कुनै निश्चित भागको मासु मात्रै खाने लगायतका फरक-फरक प्रवृत्ति मौलाएका छन् । ‘अब बिस्तारै ‘रेडी टु इट’ मासु  खानेहरु बढ्दै छन्, त्यसैले हामी चेन रेस्टुरेन्ट विस्तार गर्दैछौैं,’ रावल भन्छन्, ‘ग्राहकहरुले हामीलाई नयाँ किसिमका सेवामा डोहोर्‍याइरहनुभएको छ । हामी उहाँहरुको अपेक्षालाई पूरा गर्न प्रयास गरिरहेका छौं ।’


कृषकलाई तालिम पनि

मासुको गुणस्तरलाई वृद्धि गर्न कृषकहरुलाई पनि सचेत गर्न आवश्यक रहेको भ्यालीको निश्कर्ष छ ।

त्यसैकारण उसले अहिले देशका विभिन्न भागमा कृषकलाई लक्षित गरेर तालिम चलाउने गरेको छ । यसबाट मासुको उत्पादनकै क्रममा गुणस्तर कायम हुने र त्यसले अन्ततः ग्राहक र कृषकसहित कम्पनीलाई पनि लाभ मिल्ने प्रवन्ध निर्देशक रावल बताउँछन् । यसैवर्ष भ्यालीले २ हजार कृषकलाई तालिम दिएको छ ।

‘हामी उत्पादनमा मात्र हैन, पुरै प्रक्रियामा गुणस्तर खोज्छौं, त्यसका लागि इमान्दार प्रयास गर्छौं,’ रावलको दाबी छ, ‘अझ गर्नुपर्ने काम धेरै छन् ।’

भ्यालीमा अहिले बधशाला खोल्न जग्गाको समस्या रहेको बताइन्छ । अहिले बस्तीभन्दा पर रहने गरी बधशाला खोल्दा पनि पछि बस्तीकै बीचमा पर्न सक्ने भएकाले सरकारले भाडामा जग्गा उपलब्ध गराउनुपर्ने रावल बताउँछन् । त्यसका लागि सरकारले छुट्टै नीति ल्याउनुपर्ने उनको कथन छ ।

अपेक्षा

आधुनिक स्लटर हाउस खोलेर सुपथ मूल्यमा उपलब्ध गराउँदा साना मासु पसलले पनि बिहानैदेखि कुखुरा तयार गर्नुपर्ने समस्याबाट मुक्त हुने रावलको तर्क छ ।

यसबाट फोहोर व्वस्थापन लगायतका समस्या पनि नहुने कम्पनी बताउँछ । ‘सरकारले चारदेखि ५ ठाउँमा यस्ता व्यवस्थित बधशालाहरु निर्माणका लागि ठाउँ छुट्याएर बाटो, विजुली, पानी लगायतको पूर्वाधार तयार गरोस्,’ उनी भन्छन्, ‘मेसिन खरिदमा अनुदान वा सहुलियत ब्याजदरको ऋण दिइयो भने पनि यो व्यवसायले राज्यलाई धेरै थोक दिन सक्छ ।’

हाल नेपालमा वर्षमा एक व्यक्तिले औसतमा ३ देखि सवा ३ केजी मासु मात्र खान्छन् । कतिपय देशमा यस्तो उपभोग दर ६० केजीभन्दा बढीसम्म छ ।

त्यसैका कारण पनि पोल्ट्रीको व्यवसायमा अझै पनि प्रशस्तै अवसर रहेको भ्यालीको निश्कर्ष छ । नेपाल आत्मनिर्भर रहेको थोरै उत्पादनमध्ये पोल्ट्री पनि एक भएकाले यसलाई टिकाइ राख्न पनि लगानी थप्दै जाने योजनामा कम्पनी छ ।

‘भारतमा दानाको कच्चा पदार्थ सजिलै उपलब्ध रहेकाले कुखुराको उत्पादन लागत निकै कम छ,’ रावलले भन्छन्, ‘सरकारले नै भटमास जस्ता दानाका कच्चा पदार्थ दशेभित्रै उत्पादन बढाउने गरी कार्यक्रम ल्याए पोल्ट्री क्षेत्र थप विकास हुन्थ्यो, अहिले दानाका लागि भारत वा चीनकै भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment