Comments Add Comment

२० लाख पर्यटक भित्र्याएर केक काट्ने सपना अधुरै !

१६ फागुन, काठमाडौं । पद सम्हालेकै दिनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो निर्णय थियो, ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने ।’ पछि उनले १५ लाखको लक्ष्यमा चित्त बुझाएनन्, यसलाई संशोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति सार्वजनिक गरे ।

सन् २०१५ मै सन् २०१८ लाई पर्यटन वर्ष मनाउने र १५ लाख पर्यटक भित्र्याउने निर्णय भएको थियो, तर संक्रमणकालीन सरकारका पर्यटनमन्त्रीले यसमा चासो दिएनन् । तर, मन्त्री पद सम्हालेकै दिनमा मन्त्री अधिकारीले सन् २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय लिएका थिए ।

सन् २०१८ को ११ महिनामै १० लाख पर्यटक भित्रिएपछि मन्त्री अधिकारीले उत्सवकै रुपमा ‘१० लाखको केक’ काटे । त्यसैबेला उनले भनेका थिए, ‘२०२० मा जसरी पनि २० लाख पर्यटक भित्र्याइ छाडिनेछ ।’

तर, यसका लागि नेतृत्व गर्दागर्दै उनले ताप्लेजुङमा बिहीबार भएको हेलिकोप्टर दुर्घटनामा दुखःद मृत्युवरण गर्नुपर्‍यो । आगामी २ वर्षमा नै २० लाख पर्यटक भित्र्याएर अर्को ‘२० लाखको केक’ काट्ने अधिकारीको सपना अधुरै रह्यो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी मन्त्री अधिकारीको यो सपनालाई पूरा गर्न चुनौती थपिएको बताउँछन् । तर, बोर्डले मिसन नै बनाएर यो लक्ष्यलाई पूरा गरी छाड्ने उनले बताए ।

‘मन्त्रीज्युले २० लाख पर्यटक भित्र्याउन निकै सानो-सानो व्यवस्थापनको पाटोमा आफैं चासो दिनुहुन्थ्यो, प्रगतिबारे अपडेट मागेको माग्यै हुनुहुन्थ्यो,’ जोशीले भने, ‘अब हामीले उहाँको त्यो सपना पूरा गर्न सक्यौं भने मात्रै उहाँप्रति श्रद्धाञ्जली हुनेछ ।’

सन् २०१० र २०११ मा ७३ हजार बढी विदेशी पर्यटक भित्रिएका थिए । अबको दुई वर्षभित्र यो संख्या झण्डै दोब्बर पार्न हाल पर्यटन बोर्डलाई असल मार्गदर्शक र अभिभावकको अभाव खडि्कएको सीईओ जोशीले बताए । जोशीका अनुसार मन्त्री अधिकारीले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न बुद्धिष्ट राष्ट्रहरुबाट धार्मिक पर्यटकको आगमनमा ठूलो वृद्धि हुने बताउँदै आएका थिए ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम पनि चैतबाटै सुरु गरेर छिट्टै सक्ने र पर्यटक आगमन बढाउने ‘ग्राउण्ड’ तयार गर्ने उनको योजना थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी विदेशमा प्रवर्द्धनात्मक कार्यक्रम र विज्ञापनहरु गर्न पनि उनले बोर्डलाई लगातार झकझकाइरहेका थिए ।

मन्त्री अधिकारीले सार्वजनिक कार्यक्रममै नेपाल वायुसेवा निगमले किनेका नयाँ वाइडबडी जहाजहरुले नयाँ गन्तब्यमा सेवा थालेपछि त्यसमार्फत पनि पर्यटकको आगमन उकास्न सकिने बताउँदै आएका थिए ।

भैरहवा एयरपोर्ट सञ्चालनमा आएपछि मात्रै थप अढाईदेखि ३ लाख विदेशी पर्यटक सिधै उत्रने अधिकारीको दावी हुन्थ्यो । वाइडबडीमार्फत थप त्यति नै पर्यटक भित्रिँदा २० लाखभन्दा बढी पर्यटक त्यसै वर्ष आउने अपेक्षा उनको थियो । मन्त्री अधिकारीले पूर्वाधार लगायतका विषयमा आफू गम्भीर रहेकाले समस्या नहुने भन्दै बोर्डका अधिकारीहरुलाई आफ्नो काम भने ध्यानपूर्वाक गर्न भन्दै आएका थिए ।

विभिन्न पर्यटकीय क्षेत्रमा हवाई पूर्वाधारहरुको संख्या बढाउँदै दुई वर्षमा थप ८ लाख पर्यटक भित्र्याउन सकिनेमा मन्त्री अधिकारी विश्वस्त नै थिए ।

‘प्रशंसाका लागि बोलेको होइन, मैले १८ वर्षको पर्यटन बोर्डको इतिहासमा यस्तो प्रतिवद्ध पर्यटनमन्त्री कहिल्यै भेटेको थिइन्,’ जोशीले भने, ‘भेट्नासाथै उहाँ अरु कुरा गर्नु हुँदैन थियो, सिधै कामको कुरा, समृद्धि र लक्ष्य प्राप्तिको मात्रै कुरा हुन्थ्यो ।’

जोशीले मन्त्री अधिकारीले दिएको प्रोत्साहनकै बलमा अबको कामहरु अघि बढाइने बताए । उनले मन्त्री अधिकारीको अवसानले चुनौती बढेपनि त्यसको सामना गर्ने र २० लाख पर्यटकको लक्ष्य प्राप्त गर्ने अठोट बोर्डले लिएको बताए ।

‘मन्त्रीज्युले हामीलाई एउटा मोमेन्टम दिनुभएको छ, हामी थोरै पनि बिचलित नभएर यो शोकलाई शक्तिमा बदल्न चाहन्छौं, उहाँले दिनुभएको गतिलाई हामी कायमै राखेर काम गर्नेर्छौं,’ जोशीले भने ।

मन्त्री अधिकारीले पछिल्लो समयमा पर्यटनमा स्याटेलाइट एकाउन्टिङ सिस्टम लागू गर्न पनि जोड दिएका थिए । पर्यटन बोर्डले जडान गर्न लागेको यो सिस्टमले पर्यटन क्षेत्रको वस्तुपरक तथ्यांक संकलन गर्ने अधिकारीको अपेक्षा थियो ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानको हिस्साको तथ्यांकलाई वस्तुनिष्ठ र यथार्थपरक रुपमा देखाउन भन्दै यो सिस्टम लागू गर्न लागिएको हो । यो सिस्टममा पर्यटनसम्बद्ध सबै तथ्यांकहरु एकीकृत रुपमा रहन्छन् ।

यो सिस्टम लागू भएपछि स्थलमार्गबाट प्रवेश गर्ने विदेशी पर्यटक (भारतीयसहित)को तथ्यांक एकीन र तथ्यपरक रुपमा संकलन हुन्छ ।

‘जीप लिएर बिहारबाट पोखरा र मुस्ताङ पुगेका पर्यटकको तथ्यांक खोई ? ती हाम्रा पर्यटक होइनन् ? त्यसैले यो सिस्टम जतिसक्दो छिटो लागू गर्न काम गर्नुस्’, मन्त्री अधिकारीले आफ्नो मन्त्रालयको वर्षदिनको समीक्षामा पर्यटन बोर्डका अधिकारीलाई भनेका थिए । एकाउन्टिङ सिस्टमले सीमा कटेर नेपालमा रात बिताउने भारतीयको पनि अब पर्यटकको रुपमा गणना हुनेछ ।

हाल कुल ग्राहस्र्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत छ । सन् २०२० मा त्यसलाई १० प्रतिशत पुर्‍याउने लक्ष्य भेट्टाउने सपना मन्त्री अधिकारीको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment