+
+
Shares

विद्यालय नै नटेक्ने जनसंख्या ८.१ प्रतिशत, दलित धेरै

दलित र गैरदलित समूहमा तुलना गर्दा झन् असमानता छ । गैरदलित जातजातिको ५ देखि २५ वर्षका कुल जनसंख्यामध्ये ७.१ प्रतिशत कहिल्यै विद्यालय नगएको देखिन्छ । यो समग्र दलिततर्फ १३.१ प्रतिशत हो ।

दिनेश गौतम दिनेश गौतम
२०८२ वैशाख ३० गते ७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको विद्यालय बाहिर अझै पनि धेरै दलितहरू रहेका छन् र उनीहरूको शिक्षामा असमानता देखिन्छ।
  • मधेश प्रदेशमा दलित महिलाहरूको साक्षरता र उच्च शिक्षामा अझ ठूलो कमी रहेको पाइन्छ । माध्यमिक शिक्षा पूरा गर्ने पहाडी दलित ५३.३ प्रतिशत र तराई दलित ४६.० प्रतिशत मात्र छन् ।
  • दलित र गैरदलित समूहहरूबीच साक्षरता, उच्च शिक्षा र अध्ययनका विषयहरूमा ठूलो फरक छ, जसले शिक्षा र साक्षरतामा व्यापक विषमता दर्शाउँछ।

३० वैशाख, काठमाडौं । विद्यालय बाहिर अझै पनि दलितको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को दलित सम्बन्धी तथ्यांकीय प्रतिवेदनमा विद्यालय बाहिर रहने दलितको संख्या अरुभन्दा बढ्ता देखाएको हो ।

५ वर्ष र सोभन्दा माथिको कुल जनसंख्यामध्ये हाल विद्यालय गइरहेको जनसाङ्ख्यिक हिस्सा ७०.६ प्रतिशत छ । विगतमा मात्र विद्यालय गएका सोही उमेरको जनसंख्या २१.२ प्रतिशत छ भने कहिल्यै पनि विद्यालय नटेक्ने जनसंख्या ८.१ प्रतिशत छ । जसमा छोरीहरू अझै पनि विद्यालय शिक्षाबाट बाहिर रहेको पाइएको छ ।

यसलाई दलित र गैरदलित समूहमा तुलना गर्दा झन् असमानता देखिन्छ । गैरदलित जातजातिको ५ देखि २५ वर्षका कुल जनसंख्यामध्ये ७.१ प्रतिशत कहिल्यै विद्यालय नगएको देखिन्छ । यो समग्र दलिततर्फ १३.१ प्रतिशत हो । दलितभित्र पनि तराईका दलित जातिका सोही उमेर समूहका कुल जनसंख्यामध्ये २७.५ प्रतिशत कहिल्यै विद्यालय नगएको प्रतिवेदनमा छ । महिलातर्फ कहिल्यै विद्यालय नगएका तराई दलितको हिस्सा ३१.६ प्रतिशत छ ।

पहाडी दलिततर्फका ५ देखि २५ वर्षसम्मका कुल महिलामध्ये ४.५ प्रतिशत मात्र कहिल्यै विद्यालय नगएको देखिन्छ  । तर गैरदलित जातजातितर्फ पहाडी दलितको भन्दा ३.८ प्रतिशतले बढी अर्थात ८.३ प्रतिशत छ ।

दलित निरक्षरको संख्या धेरै

प्रतिवेदनले दलित निरक्षरको संख्या पनि धेरै रहेको देखाएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार  ५७८ मा दलितको संख्या ३८ लाख ९८ हजार ९९० अर्थात् १३.४ प्रतिशत छ । कुल दलितमध्ये पहाडी दलित ८.६ प्रतिशत र तराई दलित ४.८ प्रतिशत छ ।

पाँच वर्ष र सोभन्दा माथिको उमेर समूहमा कुल निरक्षर जनसंख्या २४ प्रतिशत रहेको छ । देशमा करिब ७६ प्रतिशत जनसंख्या साक्षर रहेको छ । सोही उमेर समूहका पुरुष जनसंख्यामध्ये १६.४ प्रतिशत निरक्षर छन् । महिलातर्फ पुरुषको भन्दा १४.२ प्रतिशत उच्च रही ३०.६ प्रतिशत रहेको छ । दलिततर्फ निरक्षरता दर ३२.६ प्रतिशत छ । जसमा पुरुष २५.८ र महिला निरक्षरता ३८.७ प्रतिशत छ ।

दलित साक्षरतादर न्यून

प्रतिवेदनमा दलित साक्षरतादर पनि न्यून रहेको उल्लेख गरिएको छ । ‘दलितको तुलनामा गैरदलितको साक्षरतादर सबै भौगोलिक क्षेत्रमा उल्लेखनीय अंकले न्यून रहेको छ । ग्रामीण तथ सहरी क्षेत्रमा पनि दलित र गैरदलित जातजातिको साक्षरतादरमा विषमता छ । जसले दलित जातजाति साक्षरताका दृष्टिले पछाडि रहेको देखाउँछ,’ प्रतिवेदनमा भनिएको छ ।

नेपालमा ५ वर्ष र सोभन्दा माथिको साक्षरतादर ७६.२ छ । गैरदलितको साक्षरतादर ७७.६ प्रतिशत छ । दलित जातजातिको कुल साक्षरतादर ६७.४ प्रतिशत छ । तराई दलितको साक्षरतादर ५१.९ प्रतिशत छ भने पहाडी दलितको हकमा राष्ट्रिय औसतको नजिक ७५.७ प्रतिशत छ ।

नेपालमा पुरुष साक्षरतादर ८३.६ प्रतिशत हुँदा महिला साक्षरतादर ६९.४ प्रतिशत मात्र छ । दलित जातजातितर्फको पुरुष साक्षरतादर ७४.१ प्रतिशत छ जुन राष्ट्रिय औसतभन्दा ९.५ प्रतिशत बिन्दुले न्यून र गैरदलित जातजातितर्फका पुरुष साक्षरतादरको सापेक्षतामा १०.८ प्रतिशत बिन्दुले न्यून छ ।

दलित महिलाको साक्षरतादर सबैभन्दा उच्च ७२.६ प्रतिशत गण्डकी प्रदेशमा छ ।  दोस्रो ७०.५ प्रतिशत र तेस्रोमा ६७.६ प्रतिशत साक्षरतादर क्रमशः बागमती र लुम्बिनीमा छ । दलित र गैरदलित महिला तथा पुरुष सबैका साक्षरतादर सबैभन्दा न्यून मधेश प्रदेशमा छ । जहाँ दलित महिलाको साक्षरतादर ४१.४ प्रतिशत छ ।

दलित जातजातिभित्र पाँच वर्ष र सोभन्दा माथिको झन्डै ४५ प्रतिशत जनसंख्याले आधारभूत तह मात्र पूरा गरेको देखिन्छ । दलितभित्र पनि साक्षरताको सवालमा उल्लेखनीय असमानता रहेको देखिन्छ ।

गैरदलित महिलाको साक्षरतादर ६६ प्रतिशत रहेको छ । मधेश प्रदेशमा गैरदलित जातजातिका पुरुषको साक्षरतादर ८१.५ प्रतिशतभन्दा दलित जातजातिको पुरुषको साक्षरतादर २४.५ प्रतिशत न्यून अर्थात् ५७ प्रतिशत मात्र छ ।

पुरुषतर्फ दलित जातजातिको सर्वाधिक ८४.२ प्रतिशत  साक्षरतादर गण्डकी प्रदेशमा र गैरदलित जातजातिमध्ये पनि सर्वाधिक ८९.७ प्रतिशत साक्षरता गण्डकी प्रदेशमै रहेको देखिन्छ ।

‘महिला साक्षरतादर समग्र नेपाल र सबै प्रदेशमा पुरुषको भन्दा महिलाको कम रहेको छ । महिलामध्ये पनि दलित महिलाको तुलनामा गैरदलित जातजातिका महिलाको साक्षरतादर उच्च रहेको देखिन्छ,’ प्रतिवेदनमा छ ।

दलित महिलातर्फ सबैभन्दा न्यून ४१.४ प्रतिशत साक्षरतादर मधेश प्रदेशमा छ । अधिकतम ७२.६ प्रतिशत साक्षरतादर गण्डकी प्रदेशमा देखिन्छ । गैरदलिततर्फ सर्वाधिक ७५.९ महिला साक्षरतादर गण्डकीमा र सबैभन्दा कम ६६ प्रतिशत मधेश प्रदेशमै छ ।

दलित पुरुषतर्फ सबैभन्दा न्यून ५७ प्रतिशत साक्षरतादर मधेश प्रदेशमा छ । अधिकतम ८४.२ प्रतिशत साक्षरतादर गण्डकी प्रदेशमा देखिन्छ । गैरदलिततर्फ सर्वाधिक ८९.७ प्रतिशत पुरुष साक्षरतादर गण्डकीमा र सबैभन्दा कम ८१.५ प्रतिशत मधेश प्रदेशमा छ ।

उच्च शिक्षा पढ्ने ७ प्रतिशत, दलित कम

उच्च शिक्षा अध्ययन गर्नेमा पनि दलित जनसंख्या कम रहेको पाइएको छ । पाँच वर्ष र सोभन्दा माथिको कुल जनसंख्या २ करोड ४ लाख ८ हजार १२४ मध्ये ३३.१ प्रतिशतले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) पूरा गरेको देखिन्छ । माध्यमिक तह (कक्षा ९—१२) पूरा गर्ने साक्षर जनसंख्याको अनुपात ५७.६ प्रतिशत छ । स्नातक वा सोभन्दा माथिको उच्च शिक्षा पूरा गर्ने जनसंख्या ७ प्रतिशत मात्र रहेको छ ।

माध्यमिक शिक्षा पूरा गर्ने गैरदलित ५८.५ प्रतिशत छ । पाँच वर्ष र सोभन्दा माथिको उमेरका समग्र दलित जनसंख्यामध्ये माध्यमिक तह पूरा गर्नेको अनुपात ५१.३ प्रतिशत छ । जुन राष्ट्रिय औसतभन्दा ६.३ प्रतिशतले कम र गैरदलित जातजातिको तुलनामा ७.२ प्रतिशतले न्यून छ ।

गैरदलित जातजातिका पाँच वर्ष र सोभन्दा माथिका कुल १ करोड ८० लाख ३९ हजार २५५ जनसंख्यामध्ये ७.४ प्रतिशतले स्नातक वा सोभन्दा माथिको तह पूरा गरेको देखिन्छ । यो उमेर समूहका कुल २३ लाख ६८ हजार ८६९ जनसंख्यामध्ये स्नातक वा सोभन्दा माथिको तह पूरा गर्नेको अनुपात केवल १.६ प्रतिशत रहेको छ ।

दलित जातजातिभित्र पाँच वर्ष र सोभन्दा माथिको झन्डै ४५ प्रतिशत जनसंख्याले आधारभूत तह मात्र पूरा गरेको देखिन्छ । दलितभित्र पनि साक्षरताको सवालमा उल्लेखनीय असमानता रहेको देखिन्छ ।

माध्यमिक शिक्षा पूरा गर्ने पहाडी दलित ५३.३ प्रतिशत छ । तराई दलित ४६.० प्रतिशत मात्र छ । स्नातक वा सोभन्दा माथिको उच्च शिक्षा पूरा गर्ने पहाडी दलित १.७ प्रतिशत छ । तराई दलिततर्फ १.१ प्रतिशत मात्र रहेको छ । शिक्षामा विषमताभित्र पनि थप विषमता रहेको अवस्था देखिन्छ ।

पाँच वर्ष र सोभन्दा माथिका तराईका गैरदलित जनसंख्यामध्ये ४३.२ प्रतिशतले माध्यमिक शिक्षा पूरा गरेका छन् । पहाडी दलितका सोही उमेर समूहका महिलामध्ये ५४.२ प्रतिशतले माध्यमिक तहको शिक्षा पूरा गरेका छन् ।

गैरदलित जातजातिका महिलातर्फ माध्यमिक शिक्षा पूरा गर्ने ५८.५ प्रतिशत छ । पहाडी र तराई दुवै समुदायका दलित महिलाको माध्यमिक तह र उच्च तहको साक्षरतादर औसतभन्दा कम रहेको छ ।

आधारभूत तह मात्र पूरा गरेका महिलाहरूको ५४.७ प्रतिशत  तराईका दलित महिलाको छ । पहाडी दलित महिलातर्फ १४.२ प्रतिशतले न्यून अर्थात् ४०.५ प्रतिशत मात्र छ । गैरदलित जातजातिका महिलामध्ये स्नातक वा सोभन्दा माथिको तह पूरा गर्नेको अनुपात ६.६ प्रतिशत छ ।  तराईका दलित महिलामध्ये यो तह पूरा गर्नेको अंश ०.६ प्रतिशत मात्र छ ।

पहाडी दलित महिलाको अनुपात गैरदलित जातजातिका महिलाकोभन्दा ५ प्रतिशतले न्यून अर्थात् १.६ प्रतिशत छ । यहाँ पनि पहाडी दलित महिला र तराई दलित महिलाबीच उच्च शिक्षा प्राप्तिमा असमानता रहेको देखिन्छ ।

स्रोत : राष्ट्रिय तथ्यांक कार्यालय

मधेश प्रदेशमा माध्यमिक तह पूरा गरेका पहाडी दलितको ५७.९ प्रतिशत हुँदा तराई दलिततर्फ ५ वर्ष र सोभन्दा माथिका ४६.८ प्रतिशतले मात्र यो तह पूरा गरेको देखिन्छ ।

गैरदलित जातजातिमध्ये तराईमा माध्यमिक तह पूरा गर्नेको अनुपात ५६ प्रतिशत छ । मधेश प्रदेशमा गैरदलिततर्फ ५.२ प्रतिशत परिवारले स्नातक र सोभन्दा माथिको तह पूरा गरेका छन् । तर दुवै समूहका दलित गैरदलितको तुलनामा निकै तल रहेका छन् ।

पाँच वर्ष र सोभन्दा माथिका पहाडी दलितमध्ये २.४ प्रतिशतले उच्च शिक्षा पूरा गरेका छन् । तराई दलितको हिस्सा पहाडी दलितको आधा अर्थात् १.२ प्रतिशत मात्र छ ।

गण्डकी प्रदेशमा स्नातक र सोभन्दा माथिको तह पूरा गर्ने गैरदलितको हिस्सा ७.१ प्रतिशत छ । यो तह पूरा गर्ने पहाडी दलितको हिस्सा १.७ प्रतिशत मात्र छ ।

‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तराई दलितको सङ्ख्या कम रहेको र रोजगारी, अध्ययन वा व्यवसायका लागि गएका हुनसक्ने,’ प्रतिवेदनमा छ ।

कर्णाली प्रदेशमा स्नातक वा सोभन्दा माथिको अध्ययन पूरा गर्ने तराई दलितको अनुपात ३.९ प्रतिशत छ । जुन मधेश प्रदेशमा १.२ प्रतिशत मात्र छ ।

कर्णाली प्रदेशमा उच्च शिक्षा पूरा गरेका पाँच वर्ष र सोभन्दा माथिको उमेरका पहाडी दलित १.१ प्रतिशत छन् । यो प्रदेशमा ४.६ प्रतिशत गैरदलितले स्नातक र सोभन्दा माथिको तह पूरा गरेको देखिन्छ ।

‘सङ्ख्यात्मक हिसाबले हेर्ने होभने पहाडी दलितको तुलनामा तराई दलित जनसंख्या माध्यमिक तह र सोभन्दा माथिको शिक्षा प्राप्तिमा पछाडि नै परेको अवस्था छ,’ प्रतिवेदनमा औंल्याइएको छ ।

कुन विषय पढ्ने कति ?

२०७८ को जनगणनाले ३५.१ प्रतिशतले व्यवस्थापन अध्ययन गरेको देखिन्छ ।  दोस्रो २९.९ प्रतिशत र तेस्रो ११.५ प्रतिशतमा शिक्षा र मानविकी तथा समाजिकशास्त्र अध्ययन गर्नेहरू छन् । विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा चिकित्साशास्त्र र इन्जिनियरिङ अध्ययन गर्नेको हिस्सा क्रमशः ७.१, ४.४ र ३.० प्रतिशत छ ।

समग्र दलिततर्फ हेर्ने हो भने १२ कक्षा वा सोभन्दा माथिको तह उत्तीर्ण गर्नेमध्ये सर्वाधिक ४०.६ प्रतिशतले व्यवस्थापन, शिक्षा ३०.४ प्रतिशत  र मानविकी तथा सामाजिकशास्त्र ९.८ प्रतिशत रहेको छ ।

नेपालमा ७.१ प्रतिशतले विज्ञान तथा प्रविधिमा १२ कक्षा वा सोभन्दा माथिको तह उत्तीर्ण गरेका छन् । यसमा दलिततर्फ ४.६ प्रतिशतले मात्र विज्ञान र प्रविधितर्फ अध्ययन गर्न समर्थ भएको देखिन्छ । पहाडी दलित ४.१ प्रतिशतको तुलनामा तराई दलितले बढी ६.६ प्रतिशतले विज्ञान तथा प्रविधि विषयमा उच्च शिक्षा प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा चिकित्साशास्त्रमा हेर्ने हो भने पनि पहाडी दलितको मान ३.२ प्रतिशत मात्र छ । तराई दलितको मान ४.१ प्रतिशत छ ।

गैरदलिततर्फ ३५.४ प्रतिशतले व्यवस्थापन संकायमा १२ कक्षा र सोभन्दा माथिको तह उत्तीर्ण गरेका छन् ।   दोस्रोमा २९.४ प्रतिशत प्राथमिकता शिक्षा र तेस्रोमा ११.६ प्रतिशत  मानविकी तथा सामाजिकशास्त्र रहेको छ ।

इन्जिनियरिङ विषयमा १२ कक्षा वा सोभन्दा माथिको तह उत्तीर्ण गर्ने पहाडी दलितको अनुपात १.५ प्रतिशत मात्र छ ।  तराई दलिततर्फ यो मान ३.१ प्रतिशत छ ।गैरदलित जातजातिमध्ये पनि ३.१ प्रतिशतले नै इन्जिनियरिङ संकायमा उच्च शिक्षा प्राप्त गरेको देखिन्छ । यसले तराईका गैरदलित जनसंख्या पहाडी दलितको तुलनामा प्राविधिक विषयको अध्ययनतर्फ बढी आकर्षित रहेको देखिन्छ ।

स्वास्थ्य तथा चिकित्साशास्त्रमा हेर्ने हो भने पनि पहाडी दलितको मान ३.२ प्रतिशत मात्र छ । तराई दलितको मान ४.१ प्रतिशत छ । कृषि तथा वन संकायमा १२ कक्षा वा सोभन्दा माथिको तह उत्तीर्ण गर्नेमा तराई दलितले गैरदलित जातजातिलाई पनि पछाडि छोडेको छ ।

पहाडी दलित र गैरदलित जातजातिका हकमा यो अनुपात १.० प्रतिशत मात्र छ भने तराई दलितका हकमा यो मान १.४ प्रतिशत रहेको छ । नेपालमा १२ कक्षा र सोभन्दा माथिको तह पूरा गरेका ३५.३ प्रतिशत दलितले शिक्षा विषय अध्ययन गरेको देखिन्छ ।

गैरदलित पुरुषतर्फ २४.० प्रतिशत मात्र रहेको छ । गैरदलित महिला ३५.६ प्रतिशतको तुलनामा अत्यधिक ४६.५ प्रतिशत दलित महिलाले शिक्षा विषय अध्ययन गरेको देखिन्छ । व्यवस्थापन विषयतर्फ गैरदलित पुरुष तथा महिलाको अनुपात दलित महिला तथा पुरुषको तुलनामा अधिक रहेको छ ।

दलितका २७.८ प्रतिशत महिलाले व्यवस्थापनमा १२ कक्षा वा सोभन्दा माथिको तह उत्तीर्ण गरेका छन् भने ३३.३ प्रतिशत गैरदलित महिलाले यो तहमा शिक्षा पूरा गरेको देखिन्छ । २.५ प्रतिशत दलित पुरुषले इन्जियिनयरिङमा १२ कक्षा वा सोभन्दा माथिको तह उत्तीर्ण गरेका छन् ।

गैरदलित पुरुषतर्फ यो ३.३ प्रतिशत रहेको छ । दलित महिलामध्ये ०.५ प्रतिशतले मात्र कक्षा १२ र सोभन्दा माथिको तहमा इन्जिनियरिङतर्फको शिक्षा पूरा गरेका छन्  । गैरदलित महिलातर्फ यो दोब्बर अर्थात् १ प्रतिशत रहेको छ ।

दलित महिलामध्ये ४.३ प्रतिशतले मात्र स्वास्थ्य/चिकित्साशास्त्रतर्फको उच्च शिक्षा प्राप्त गरेको देखिन्छ ।  गैरदलित महिलातर्फ यो १.४ प्रतिशतले बढी अर्थात् ५.७ प्रतिशत रहेको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?