Comments Add Comment

बिराटनगरमा जीवितै छ भरतमोहनको ल फर्म !

अधिकारीका वकिल साथी भन्छन्- न्यायाधीशसँग उहाँको विवाद भइरहन्थ्यो

२० फागुन, बिराटनगर । ०२८ सालमा भरतमोहन अधिकारीले स्थापना गरेको कोशी ल फर्म बिराटनगरमा अझै छ । करिब २ दशक बिराटनगरमा रहेर वकालत पेसा गरेका अधिकारी ०५१ सालको मध्यावधि निर्वाचनमा बिजयी भएपछि पूर्णकालीन राजनीतिमा लागे । भरतमोहनले स्थापना गरेको कोशी ल फर्ममा कमल कोइराला, सुमन प्याकुरेल र उमेशचन्द्र न्यौपानेले साझेदार थिए ।

भरतमोहन हिँडेपछि कमल र सुमनले पनि ल फर्म छाडे । तीनजनाले छाडेपछि ल फर्मको सम्पूर्ण जिम्मेवारी बरिष्ठ अधिवक्ता उमेशचन्द्र न्यौपाने पाए । अधिकारीले हुर्काएर दिएको नासो न्यौपानेले अझै सम्हालिरहेका छन् । ‘उहाँले जिल्मा लगाउनुभएका मुद्दाहरु ०६२ सालबाट सकिए,’ न्यौपाने भन्छन् ‘करिब १२ बर्ष भरतमोहनसँगै काम गर्न पाएँ ।’

कानुनको पढाइ पूरागरेपछि न्यौपाने ०३९ सालदेखि भरतमोहन अधिकारीको ल फर्ममा जोडिएका हुन् । एक दशक भन्दा बढी अधिकारीसँगै काम गरेका न्यौपाने न्याय क्षेत्रमा अधिकारीले बसाएको थिति बिराटनगरमा अझै कायम रहेको दाबी गर्छन् । ‘गरिब र पछाडि पारिएको समुदायको काम निःशुल्क गर्नुपर्छ भन्नुहुन्थ्यो,’ न्यौपाने भन्छन् ‘उहाँले धेरै मुद्दा निःशुल्क लड्नुभयो ।’

पञ्चायतकालदेखि वाम आन्दोलनमा सकृय रहेका अधिकारी बेला-बेला पञ्च र प्रशासकहरुको तारो बनिरहन्थे । पञ्चबाट जोगिन अधिकारी दिउँसो वकालत गर्थे भने साँझ कार्यकर्तालाई भेला गरेर प्रशिक्षण दिन्थे ।

अधिकारी बिराटनगरबाट धनकुटा हुँदै संखुवासभासम्म वकालत गर्न आफ्नो टिम लिएर जान्थे । ‘धरानभन्दा माथि गाडी जाँदैनथ्यो,’ न्यौपाने सम्झन्छन् ‘वकालत गर्न पहाड जाँदा धरानबाट हिँड्दै जान्थ्यौं, जहाँ साँझ पथ्र्याे, त्यहाँ गाउँभरिका मान्छे बोलाएर उहाँ प्रशिक्षण दिनुहुन्थो ।’

मानहानी लागेन, जनताले तिरे ९ हजार

वरिष्ठ अधिवक्ता न्यौपानेका अनुसार अधिकारीको प्रायः न्यायाधीशहरुसँग विवाद भइरहन्थ्यो । न्यायाधीशले अधिकारीलाई मानहानी मुद्दा दायर गर्ने चेतावनी दिन्थे । तर मुद्दा भने कसैले दायर गरेनन् ।

भरतमोहन, दाजु मनमोहन र कांग्रेस नेतृ नोना कोइराला विरुद्ध एकैसाथ राजसंस्थाको विरोध गरेको आरोपमा राजकाज मुद्दा लाग्यो । घटना ०४५-०४६ सालतिरको हो । कोशी अञ्चल अदालतमा राजकाज मुद्दाको थुनछेक बहसपछि तीनजनालाई जनही ९/९ हजार धरौटी माग गरियो । तर, अधिकारी दाजुभाइ र कोइराला धरौटी बुझाउन तयार भएनन् । अदालतले कारागार पठाउने तयारी गरेपछि उपस्थित भएका सर्मथकले पैसा उठाएर धरौटी बुझाए ।

नेपाल बार एसोशिएसन बिराटनगर एकाई शाखामा रहेर बहुदल ल्याउनुपर्छ भन्दै अभियान चलाउँदा अधिकारी तीन महिना थुनामा परे । बहुदलको पक्षमा बिराटनगरमा भएको आन्दोलनको नेतृत्व गर्दा अधिकारीलाई सुनसरी तरहरामा रहेको कृषि फर्ममा तीन महिना बन्धक बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment