Comments Add Comment

राहत शिक्षकका माग तत्काल सम्बोधन गर्न सांसदहरुको माग

Photo Credit : अनलाइनखबर फाइल

२२ फागुन, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यामिक शिक्षा परीक्षा सञ्चालन हुनुअघि नै राहत शिक्षकहरुको माग सम्बोधन गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।

उनले राहत शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले पनि ४० हजारको संख्यामा रहेका राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।

राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गरी सामुदायिक विद्यालयको पठनपाठन सुरु नगराए त्यसले भयावह स्थिति निम्त्याउने भन्दै उनले राहत शिक्षकहरुको माग सम्बोधन हुने गरी संघीय शिक्षा ऐन ल्याउनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद महेन्द्रराय यादवले राहत शिक्षकहरुको आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेकोमा आपत्ति जनाए । उनले पनि राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गरी सामुदायिक विद्यालयहरुको पठनपाठन सुरु गराउन सरकारलाई सचेत गराए ।

सांसद यादवले प्रहरी हस्तक्षेपबाट घाइते भएका राहत शिक्षकहरुलाई तत्काल औषधि उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

राहत शिक्षकहरुले आफूहरुलाई स्वतःस्थायी गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै विद्यालयको पठनपाठननै ठप्प पारेर काठमाडौंमा बिरोध प्रर्दशन गर्दै आएका छन् । सोही क्रममा गत फागुन २० गते सोमबार नयाँ बानेश्वरमा प्रहरीले धरपक्कड गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment