Comments Add Comment

सांसदको घरमा सादा पोशाकका प्रहरीको खानतलासी !

२२ फागुन, काठमाडौं । प्रदेश ५ का सांसद भूवनेश्वर थारुको बर्दियास्थित घरमा सादा पोशाकका प्रहरीले खानतलासी गरेका छन् । बुधबार राति १०ः२५ बजे सादा पोशाकमा आएका ५ जनाले बढैयाताल-६ मैनापोखरस्थित घरमा जबर्जस्ती खानतलासी गरेका हुन् ।

‘श्रीमतीले माननीय मिटिङका लागि बुटवल जानुभएको छ भन्दा पनि मानेनन्, जबरजस्ती ढोका खोल्न लगाएका रहेछन्’ सांसद भुवनेश्वरले भने, ‘घरमा एक्लो महिला भएको बेला प्रहरीले जबरजस्ती ढोका खोल्न लगाएर खानतलासी गरेको हुन् ।’

उनका अनुसार खानतलासी गर्ने प्रहरीले भोला नाम गरेको व्यक्तिको खोजीमा आएको बताएका थिए ।

प्रहरी टोली फर्किएपछि श्रीमतीले रुँदै फोन गरेको प्रदेशसभा सदस्य थारुले अनलाइनखबरलाई बताए । लगतै आफूले इलाका प्रहरी कार्यालय मैनापोखरमा फोन गर्दा प्रहरी इन्स्पेक्टरले खानतलासीका लागि टोली गएको हुनसक्ने बताएको उनले बताए ।

प्रदेशसभा सदस्य थारु भन्छन्, ‘म सामुदायिक प्रहरी सेवा केन्द्रको संयोजक पनि हुँ । मलाई एक कल फोन गरेको भए सहयोग गर्थे, गर्दै आएको पनि थिएँ । तर घरमा एक्लो महिला भएको बेला जसरी खानतलासी गरियो, जुन व्यवहार भयो, ठीक भएन ।’

घटना बाहिर आएपछि बुधबार विहान प्रमुख जिल्ला अधिकारीले प्रशासकीय अधिकृतसहित टोली पठाएर बुझ्न लगाएका छन् । त्यसक्रममा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको र चालक खोज्ने क्रममा प्रहरी टोली सांसदको घरमा पुगेको पाइएको छ ।

सांसदको घरमा मध्यरातमा प्रहरीले बलपूर्वक खानतलासी गरेको विषयमा नेपाली कांग्रेस सांसदहरुले बुधबार प्रतिनिधिसभा र प्रदेश ५ को प्रदेशसभामा पनि उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद सञ्जय गाैतमले सांसदको घरमा विना पूर्वसूचना खानतलासी गर्नुले कोही सुरक्षित नभएको देखाएको बताए । ‘राज्य यसैगरी चल्छ सभामुख महोदय ? आज सासद सुरक्षित छैन, ब्यापारी छैन । शिक्षक छैन, नेता छैन’ सांसद गाैतमले भने, ‘सुरक्षाका जिम्मा लिएका निकाय कहाँ छ सरकार गम्भीर भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment